मध्यमवर्गको वाद के हो- पुँजीवाद, समाजवाद वा साम्यवाद ?

मध्यमवर्गको वाद के हो- पुँजीवाद, समाजवाद वा साम्यवाद ?


  • स्वयम्भूनाथ कार्की

    पुँजीवादका समर्थकले ९० को दशकदेखि निरन्तर साम्यवादलाई अव्यावहारिक र पतन्नोमुख व्यवस्था हो भन्ने कुराको समर्थन गर्ने घटनाक्रम उदाहरणको रूपमा पाउँदै गए । सोभियत सङ्घको विघटनपछि त्यहाँ उजागर भएको आर्थिक मन्दी होस् या राज्य नियन्त्रित वा समुदायमा आधारित उत्पादन प्रणालीलाई खुकुलो पारेर निजी क्षेत्रलाई पनि उत्पादन प्रणालीमा सामेल गराउने चीनको आर्थिक नीति पुँजीवादका समर्थकहरूलाई साम्यवादको क्षणभङ्गुरता औँल्याउने बलियो आधार भयो । यस्ता तर्कको खण्डनको निमित्त साम्यवादको सिद्धान्त ठीक भएको र विभिन्न बाह्य कारण अझ पुँजीवादी षड्यन्त्रको प्रतिफल भएको जिकिरबाहेक अन्य तथ्य साम्यवादका समर्थकहरूसँग नरहेकोझैँ देखियो ।

स्थिति फेरि केही फरक देखापरेको छ । पुँजीवादी व्यवस्थाको सबैभन्दा बलियो उदाहरण भएको अमेरिका र त्यहाँ देखिएको आर्थिक मन्दीले साम्यवादीहरूलाई फेरि हौस्यायो । निजी उपक्रमलाई आर्थिक मन्दीको चपेटाबाट बचाउन सरकारले मद्दत गरेको घटना उत्पादन साधनमा राज्यको स्वामित्व हुनुपर्ने साम्यवादको आधारभूत सिद्धान्तको स्वीकारोक्तिको रूपमा चित्रित गर्न प्रोत्साहन भयो । अमेरिकामा त्यसबेला देखिएको आर्थिक मन्दीले बिक्री हुन छोडेका कार्लमाक्र्सका ठेलीहरूको माग ह्वात्तै बढेको समाचार पनि सुनिएको थियो । बीचको आर्थिक नीतिको पैरवी गर्ने समाजवादीहरू पनि पुँजीवाद र साम्यवादको योे दन्तबझानमा आफ्नो अपरिहार्यता साबित भएको आकलन गरेर मख्ख परे ।

किन्तु–परन्तुले भरिभराउ नीति भएकोले समाजवाद धेरैजसो भ्रष्टाचारको उर्वरभूमि भएको तथ्य कसैले नदेखेको भन्नु र सुतुरमुर्गले आफ्नो टाउको बालुवामुनि धुसाएर अरू कसैले नदेखेको भ्रम पाल्नु एउटै कुरा हो । वर्तमान विश्वमा विद्यमान भ्रष्टाचारका किसिममध्ये धेरै किसिम समाजवादमा मात्र छ, साम्यवाद वा पुँजीवादमा यसप्रकारका भ्रष्टाचारहरूको अस्तित्व सम्भव छैन । यसको अर्थ साम्यवाद वा पुँजीवाद भ्रष्टाचार छैन भन्ने होइन । साम्यवादमा मात्र मौलाउन सक्ने र पुँजीवादको काखमा मात्र हुर्कने भ्रष्टाचार दुवै सामेल भएर थप किसिमका भ्रष्टाचार पनि समाजवादमा पाइन्छ । समाजवादको नीतिलाई टेवा दिन बनाइने नियम कानुनहरू अत्यन्तै दुरुह हुने गर्दछन् । यसको परिणामस्वरूप कुनै कार्य केही समयअघि अत्यावश्यक हुन्थ्यो भने अहिले त्यही अपराध हुन सक्छ । आफूले गरेको कुन काम कतिखेर राम्रो र कतिखेर अपराध हुन्छ यो नै जान्न मुस्किल हुन्छ । यसको फलस्वरूप समाजका टाठाबाठा या राष्ट्रसेवकहरूले जसो भन्छन् त्यसै गर्न जनता बाध्य हुन्छ ।

पुँजीपतिहरूको पुँजीको बलले एकाधिकार जमाएको उत्पादन अवसर र बजारले मध्यमवर्गलाई उनीहरूको कारखानाको पुर्जा मात्र बन्न बाध्य पार्दछ । यसै गरेर साम्यवादले तोकिएको कामलाई मात्र कर्तव्य बनाएर सम्पूर्ण सर्वसाधारणलाई एउटा पद्धतिको दास हुन बाध्य गर्दछ । आत्मनिर्भर र स्वावलम्बी नागरिक बनाउने वाद मात्र मध्यमवर्गको वाद हुन सक्छ ।

समाजवादमा प्रयोग गरिने सीमान्तकृत वर्ग, निरपेक्ष गरिबी रेखाजस्ता शव्दावलीको परिभाषा र परिधि मुलुक, क्षेत्र वा समाजअनुसार फरक पर्ने र उनीहरूको विशेषाधिकार हुने कारणले सामान्य हेरफेरबाट त्यस परिधिमा पर्न मानिसहरू प्रयत्नरत रहने गर्दछन् । अवास्तविक पारपाचुके वा अंशवण्डाको बेलाबखत चल्ने लहर यसै प्रयत्नको उपज हो । सबैजसो जनता जानी–नजानी कमसेकम एकपटक भए पनि यस्ता कार्यमा संलग्न हुन पुग्छन् जसलाई समाजवादी व्यवस्थाले अपराध भन्छ । एउटा सरल उदाहरण निकटवर्ती विदेशी बजारमा किनमेल गरेर राज्यको राजस्वमा घाटा पार्नु हो । आफ्नो अन्तरआत्माले कानुन नाघेको महसुस गर्न बाध्य बनाइएका जनता हमेसा अज्ञात डरले सताइरहेका हुन्छन् । यस्ता मनस्थितिमा भएका जनता आफ्नो साथ वा स्वार्थ साधन गरिदिने टाठाबाठाहरूको हरेक कुरामा समर्थन गर्न बाध्य हुन्छ । यो नै दास मनेवृत्ति हो ।

सामाजिक सुरक्षा, समान अवसर र नागरिक अधिकारको प्रत्याभूति गर्ने र आर्थिक उपार्जनको निमित्त आफ्नो क्षमता र कुशलता प्रयोग गर्नुपर्ने पुँजीवादी धारणा हो । तोकिएको काम गरेर दाना, नाना र छानाको चिन्ता गर्नु नपर्ने साम्यवादी धारणा हो । पुँजीवादका आलोचकहरूले लगाउने गरेको दोष यसले निमुखा र कमजोरको रक्षा गर्दैन भन्ने हो । साम्यवादका आलोचकहरूका भनाइ साम्यवादमा व्यक्तिगत स्वतन्त्रता हुँदैन भन्ने हो । यस्ता आलोचनाहरू सही नै मान्ने हो भने पनि दुवै व्यवस्थाले केही कुरा खोसेर भए पनि धेरै कुराको प्रत्याभूति गर्दछ । अन्य दुवै व्यवस्थाको दाँजोमा दुवैको विशेषता बोकेको दाबी गर्ने समाजवादले वास्तवमा दुवैको आलोचना गरिने गुणहरू अपनाएको छ । सीमान्तकृतको कल्याणको नाममा आफूलाई मन नपरेकाहरूको स्वतन्त्रता खोस्ने र बजारमुखी अर्थतन्त्रको नाममा मध्यमवर्गको उद्यम प्रयत्नलाई अवरोध गर्ने काम केवल समाजवादमा मात्र सम्भव छ ।

आत्मनिर्भर र स्वावलम्बी नागरिक बनाउने वाद मात्र मध्यमवर्गको वाद हुन सक्छ । पुँजीपतिहरूको पुँजीको बलले एकाधिकार जमाएको उत्पादन अवसर र बजारले मध्यमवर्गलाई उनीहरूको कारखानाको पुर्जा मात्र बन्न बाध्य पार्दछ । यसै गरेर साम्यवादले तोकिएको कामलाई मात्र कर्तव्य बनाएर सम्पूर्ण सर्वसाधारणलाई एउटा पद्धतिको दास हुन बाध्य गर्दछ । तर, आफ्नो अन्य सबै अधिकार छोडेर दासत्व स्वीकार गरेबापत दाना, नाना र छानाको चिन्ताबाट मुक्ति भने अवश्य पाइन्छ ।

मौलिक अधिकारको सुनिश्चितता, एकाधिकारको लेससम्म नभएको बजार र उत्पादन व्यवस्था अनि स्वतन्त्र आर्थिक क्रियाकलाप गर्न पाउने अवस्था नै मध्यमवर्गको हित गर्ने व्यवस्था हुन सक्छ । योग्यता र क्षमताअनुसार उसको अस्तित्व सम्भव हुन्छ । पेसा वा व्यवसाय बदल्न पाउने स्वतन्त्रतासहित भेदभावरहित समान अवसर पाउने अधिकार सुनिश्चित भएमा राज्यले कसैको थालको गाँस गन्न पर्दैन र हुँदैन पनि । अहिलेका कुनै पनि वादहरू मध्यमवर्गका हितका वाद होइनन् ।