काङ्ग्रेसले मेलमिलाप दिवस मनाउनुको औचित्य कति ?

86 Shares

■ विनोद नेपाल

बीपीलगायत आफ्ना नेताहरू लामो समय निर्वासनमा रही स्वदेश फर्केको दिन पुस १६ लाई नेपाली काङ्ग्रेसले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ, सोअनुसार यस वर्ष पनि ४३औँ दिवसको रूपमा मनायो । काङ्ग्रेसले यसपटक मुलुकका ७७ वटै जिल्लामा आफ्ना विभिन्न तहका नेतालाई खटाएर यो दिवस मनाएको हो ।

०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्नेक्रममा राजा महेन्द्रले प्रधानमन्त्री बीपी कोइरालालगायत नेपाली काङ्ग्रेसका नेताहरूलाई पक्राउ गरी कारागार पठाई प्रजातन्त्रको अपहरण गरी निरङ्कुश पञ्चायती व्यवस्था लादेका थिए । कैदमुक्त भएपछि ०२५ साल कात्तिकमा निर्वासनमा गएका नेताहरू ८ वर्षपछि तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि ०३३ साल पुस १६ गते स्वदेश फर्केका थिए । सो क्रममा बीपीलगायत नेतालाई तत्कालीन सरकारले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरी सुन्दरीजल बन्दीगृहमा बन्दी बनाएको थियो । बीपीसँगै भारतबाट फर्कनेमा गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का आदि थिए ।

बीपीको मेलमिलाप नीति भनेको राजा र जनताबीचको मेलमिलाप थियो । राष्ट्रियताको सुरक्षाका लागि राजा र जनताबीच मेलमिलाप हुनुपर्ने बीपीको धारणा थियो । निरङ्कुश राणाहरूको शासन अन्त्य गरी राजालाई पुनर्स्थापित गरेको काङ्ग्रेसले लामो अस्थिरतापछि निर्वाचनका माध्यमद्वारा गठन भएको सरकारलाई अपदस्थ गरी निर्दलीयता लादेपछि काङ्ग्रेस र राजाबीचको सम्बन्ध बिग्रेको थियो ।

थुप्रै मुद्दाको झमेलामा पारिएका बीपी निर्वासन त्यागेर जोखिम लिँदै स्वदेश फर्कनु चानचुने कुरा थिएन । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गरी मुलुकको स्वाधीनता संरक्षणका लागि मुलुकभित्रै रहेर शान्तिपूर्ण सङ्घर्ष गर्ने नीतिका साथ स्वदेश फर्केको यो दिन नेपाली काङ्ग्रेसको इतिहासमै एक महत्वपूर्ण दिन हो । स्मरणीय छ, राजा महेन्द्रले बीपी नेतृत्वको प्रथम जननिर्वाचित सरकारलाई अपदस्थ गरी दलहरूमाथि प्रतिबन्ध लगाएका थिए । निरन्तरको सङ्घर्षपश्चात् त्यो प्रतिबन्ध ०४६ को चैत अन्त्यमा मात्र खुलेको कुराको हामी जानकार छँदै छौँ ।

बीपीको मेलमिलाप नीति भनेको राजा र जनताबीचको मेलमिलाप थियो । राष्ट्रियताको सुरक्षाका लागि राजा र जनताबीच मेलमिलाप हुनुपर्ने बीपीको धारणा थियो ।

अहिले जेसुकै दाबी र जस्तासुकै गफ गरिए पनि मुलुकमा हालसम्म जे–जति परिवर्तन आएका छन् ती सबैको आधार यो मेलमिलाप हो भन्न सकिन्छ । मेलमिलापको नीतिअन्तर्गत नै ०४६ सालमा वाममोर्चा र काङ्ग्रेसबीच जनआन्दोलनका लागि सहमति भएको थियो, त्यसको बलमा सफल भएको आन्दोलनले मुलुकमा दलमाथिको प्रतिबन्ध खुला गर्ने, निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय प्रजातन्त्रको स्थापना गर्नेजस्ता उपलब्धि हासिल भयो । त्यसपछि नै नागरिकहरूले स्वतन्त्रता, हकअधिकार सबै पाउन सकेका र जनआकाङ्क्षा र चाहना बढ्दै जाँदा दोस्रो जनआन्दोलन हुँदै अहिले गणतन्त्रात्मक शासन व्यवस्थामा पुगिएको हो ।

मेलमिलाप दिवसको अवसरमा नेताहरूले बीपी र मेलमिलापको नीतिको बखानसँगै सरकारमाथि गलत दिशातर्फ हिँड्न खोजेको आरोप लगाउँदै आफूहरूले त्यसो गर्न नदिने पनि बताए । यसो भनेर उनीहरूले आफ्ना समर्थकहरूलाई आश्वस्त पार्ने प्रयास गरे । आफूहरू मेलमिलाप तथा सहकार्यका लागि तयार रहेको पनि उनीहरूले बताए । तर, आफैँभित्र एकता हुन नसकेको काङ्ग्रेसले राष्ट्रिय मेलमिलापको कुरा गर्नु नसुहाउँदो भएको छ ।

बीपी सधैँ राष्ट्रियता र प्रजातन्त्रका पक्षमा रहे । उनले मुलुकको समृद्धिका लागि यिनैलाई हतियारको रूपमा लिए । सबै नेपालीले दुईछाक खान, बस्न, अधिकार प्रयोग गर्न र स्वतन्त्र नागरिकको रूपमा जीवनयापन गर्न पाउनुपर्छ भन्ने उनको मान्यता थियो । दोस्रो जनआन्दोलनताका नेपाली काङ्ग्रेसले लगाउने गरेको सहमति, सहकार्य र एकता बीपीको मेलमिलाप नीतिकै अनुशरण थियो । त्यसैले गर्दा नै गणतन्त्र स्थापनासम्मको यात्रा सफल भयो ।

तर, त्यसयता मुलुकमा विभिन्न किसिमका असहजता देखापर्न थाले । अवसरवादी चरित्र र निहित स्वार्थ एवम् सत्तामुखी सोचका कारण काङ्ग्रेस कमजोर हुन थाल्यो । नेतृत्व कमजोर भई प्रतिस्पर्धी दलहरूको वास्तविक नियत बुझ्न नसक्दा र सत्ताकै लागि मरिहत्ते गर्ने, सत्तामै रमाइरहने, सङ्गठन सुदृढीकरणभन्दा गुटबन्दीमा रमाउने प्रवृत्ति हाबी हुँदै जाँदा काङ्ग्रेस कमजोर भयो । यसैको परिणाम नेपालको संविधान जारी भई सम्पन्न भएका स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनहरूमा नेपाली काङ्ग्रेसले नराम्रो पराजय व्यहोर्नुपर्यो ।

काङ्ग्रेसको यो पुस्ता अक्षम छ भन्ने पुष्टि त हुन्छ नै यो अदूरदर्शी, नीतिहीन, विचारहीन र नालायक छ भन्ने पनि ठहरिन्छ ।

दूरदर्शी तथा कुशल सङ्गठक नेता बीपीले पार्टीलाई जीवन्त राख्न गरेका प्रयास तथा देखाएको बाटो बिर्सेर विचलित हुँदा र आन्तरिक कलहको समयमै समाधान नखोजी आ–आफ्नै धुनमा हिँड्ने चरित्रले काङ्ग्रेस कमजोर भएको छ । आफूलाई लोकतन्त्रको पर्याय ठान्ने काङ्ग्रेसले अहिले आएर कम्युनिस्टहरू एक भएकाले हा¥यौँ भन्नेजस्तो लज्जास्पद अभिव्यक्ति दिनुपर्ने अवस्था आएको हो । यस्ता अभिव्यक्तिबाट काङ्ग्रेसको यो पुस्ता अक्षम छ भन्ने पुष्टि त हुन्छ नै यो अदूरदर्शी, नीतिहीन, विचारहीन र नालायक छ भन्ने पनि ठहरिन्छ । हालै सम्पन्न महासमिति बैठक अस्वाभाविक रूपमा लम्ब्याइयो । मेलजुलको कुरा गरियो । सबैले तीतो फालेको र अब काङ्ग्रेस एकढिक्का भएको धारणा पनि व्यक्त भयो । तर, बैठक सकिन नपाउँदै जेठभित्रै महाधिवेशन गर्नुपर्ने भन्नेजस्ता कुरा आइसकेकाले काङ्ग्रेसको वास्तविकता के हो ? भन्ने प्रस्ट हुन्छ ।

यसरी परस्पर अविश्वास, आशङ्का र गुटबन्दीले कुनै पनि नेता र पार्टी बलियो हुन सक्दैन न त्यो ढङ्गले पार्टीले मुलुक र जनताका पक्षमा जिम्मेवार भूमिका खेल्न नै सक्छ । सत्ताधारीहरूलाई लोकतन्त्रको आवरणमा मुलुकलाई अधिनायकवादतर्फ धकेल्न खोजिएको भन्ने आरोप पनि लगाउने अनि आफ्नै आन्तरिक कलह मिलाउन नसक्ने, एकजुट हुन नसक्ने प्रतिपक्षीले लोकतन्त्रको पक्षमा कुनै भूमिका खेल्न सक्दैन । राष्ट्रिय मेलमिलापजस्ता ऐतिहासिक दिवस मनाइरहँदा काङ्ग्रेसजनले यस्ता कुरामा हेक्का राख्न सकेको भए वेश हुने थियो ।

अन्त्यमा, ठीक नीति तथा सही दिशा र गतिले मात्र गन्तव्यमा पुग्न सकिन्छ । काङ्ग्रेस आफैँमा अलमलिएको छ । सत्ताबाट बाहिरिनुपरेको पीडामा रन्थनिएको छ । उसमा आक्रोश छ, तर त्यो आक्रोश सही ढङ्गमा व्यक्त गर्न र सत्तासीनहरूमाथि बलियो रूपमा प्रहार गर्न सक्ने सामथ्र्य उसमा छैन । एकातिर तीनै तहमा प्रतिनिधित्वको हिसाबले कमजोर उपस्थिति र अर्कोतिर सङ्गठनभित्रको गुटबन्दीले गर्दा काङ्ग्रेस आफैँमा निरीहजस्तो भएको छ । यस्तो काङ्ग्रेसलाई यस्ता दिवसले ऊर्जा प्राप्त गर्ने र नयाँ जोसका साथ सही दिशातर्फ लाग्न प्रेरणा प्रदान गर्न सकेमा मात्र यस्ता दिवस मनाउनुको सार्थकता रहनुका साथै औचित्य पनि साबित हुन्छ अन्यथा यो कर्मकाण्ड वा औपचारिकता मात्र ठहरिन्छ ।

86 Shares

प्रतिक्रिया