साहस देखाउँदै सेनापति

साहस देखाउँदै सेनापति


सेनाभित्र हुँदै आएको अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न प्रधानसेनापति पूर्णचन्द्र थापाले चलाएको अभियानको सर्वत्र प्रशंसा भएको छ । तात्कालिक सेनापति राजेन्द्र क्षेत्रीले अवकाश पाएको दुई महिनाभित्रै डेढ सयभन्दा बढी अधिकृतलाई पत्र काटी अनुचित ढङ्गले आर्जन गरेको रकम फिर्ता गराउने प्रधानसेनापति थापाले यतिबेला दौडाहा खटाएर भ्रष्टाचारको अर्को काण्ड पर्दाफास गर्न लागेको बुझिएको छ ।

प्राप्त जानकारीअनुसार तात्कालिक सेनापति क्षेत्रीले भूकम्पबाट क्षति पुगेका संरचनाहरूको नवनिर्माण तथा मर्मतसम्भारको नाममा बजेट छुट्याउने र उक्त बजेटको चालीस प्रतिशत रकम पहिले नै आफूलाई बुझाउनुपर्ने ‘परम्परा’ बसाएका थिए । यसप्रकारको उजुरी प्रधानसेनापति थापासमक्ष पुगेपछि उनले सत्यतथ्य विवरण सङ्ग्रह गर्न ब्यारेक–ब्यारेकमा दौडाहा टोली पठाएका छन् । टोलीको प्रतिवेदन अध्ययन गरिसकेपछि आवश्यक कारबाही प्रक्रिया शुरु गरिने बुझिएको छ ।

देश सुधार्ने हो भने पहिले आफैँभित्रबाट सुधारको प्रक्रिया शुरु गरिनुपर्छ भन्ने मान्यता राख्ने सेनापति थापाले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा अवसर लिनेहरू तथा प्रमाणपत्रमा दुईवटा उमेर भएकालाई खोजी–खोजी कारबाही गर्ने अभियान चलाएका छन् ।

देश सुधार्ने हो भने पहिले आफैँभित्रबाट सुधारको प्रक्रिया शुरु गरिनुपर्छ भन्ने मान्यता राख्ने सेनापति थापाले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा अवसर लिनेहरू तथा प्रमाणपत्रमा दुईवटा उमेर भएकाहरूलाई खोजी–खोजी कारबाही गर्ने अभियान पनि चलाएका छन् । सयभन्दा बढी सैनिक अधिकृतको प्रमाणपत्र नक्कली भएको अनुमान छ र तीमध्ये कतिले सेवाबाट राजीनामा पनि दिइसकेका छन् । यस क्रममा बल्लभ पौडेल नामका एक कर्णेल पनि कारबाहीको दायरामा पर्ने सम्भावना बढेको छ ।

तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसादका पीए तथा प्रथम राष्ट्रपति डा. रामवरण यादवका सल्लाहकार हरि शर्माको निकटतम नातेदार पौडेल केहीअघि मात्र ‘वार कलेज’ (अमेरिका)मा विशेष तालिमका लागि छनोटमा परेका थिए । पौडेलको शैक्षिक योग्यताको प्रमाणपत्र सन्देहास्पद भएपछि उनलाई पनि आवश्यक छानबिन तथा कारबाहीको प्रक्रिया अघि बढाउन लागेको जानकारीमा आएको छ ।

सेनाभित्रको अनियमितता र भ्रष्टाचार नियन्त्रणका निम्ति थापाले चालेको कदमबाट अनियमिततामा संलग्न व्यक्तिहरू आतङ्कित एवम् त्राहिमाम बन्न पुगेका छन् भने सिङ्गो सैन्य सङ्गठनभित्र प्रधानसेनापतिको कदमको व्यापक प्रशंसा भएको पाइएको छ ।