बीपीलाई बुझ्न ‘मेलमिलाप’ होइन उनको ‘साहित्य’ बुझ्नु जरुरी

बीपीलाई बुझ्न ‘मेलमिलाप’ होइन उनको ‘साहित्य’ बुझ्नु जरुरी


– दिवाकर बागचन्द, न्यू योर्क

धेरैले भन्छन्– बीपीको साहित्यमा ‘कन्टेम्प्ररी पोलिटिक्स’ समकालीन राजनीतिको, अझ भनौँ राजनीतिको नै प्रभाव शुन्यप्रायः थियो । मलाई भने यसो लाग्दैन । उनको साहित्यको राजनीतिसँग अदृश्य सम्बन्ध थियो । उनका रचनाहरूमा राजनीति सतहमा देख्न सकिन्न तर समाजको सोच निर्माण गर्न उन्मुख भएको आभास पाइन्छ । राजनीतिलाई स्वच्छ बनाउने शक्ति भएको प्रतीत हुन्छ । यस अर्थमा बीपीको साहित्यमा राजनीतिको आदर्श भेटिन्छ भन्नु अनुचित नहोला । शासन र सोच बदल्न सक्ने तागत राख्ने उनको साहित्य उत्कृष्ट थियो । एक प्रकारले राजनीति नै थियो ।

बीपीएक राजनीतिक प्राणी थिए । उनी मेलमिलापको निती लिएर नेपाल फर्के । उनले भनेका थिए– ‘राष्ट्रहितमा राजनीतिक समझदारी प्राप्त गर्न राजासँग हात मिलाउन तयार छौँ । यो समय विगतलाई ब्युँताउने र एकअर्कामाथि दोषारोपण गर्नका लागि होइन (३० डिसेम्बर १९७६) । उनको यो कथनमा दुरदर्शिता थियो, देशभक्ति थियो, अपमानको पीडा पनि थियो । यसको ब्याख्या पर्याप्त मात्रामा भएको छ, हुँदैछ, पङ्क्तिकार त्यता जान चाहँदैन । राजनीतिक विश्लेषण र बहस एक अन्तहीन यात्रा हो । त्योे ‘राजनीतिक वैज्ञानिक’हरूका लागि छोडिदिनु उचित होला । म त्यो अन्तहीन यात्राामा प्रवेश गर्न चाहन्न । बीपीले राजनीतिक लेखहरूद्वारा आफ्नो र पार्टीको दर्शन स्पष्ट पार्न खोजे । उनका लेखहरूले उनको राजनीतिक सोच दर्शाउँछन् ।

तर मलाई के लाग्छ भने राजिनीतिक दर्शनले मात्र समाज देश संसार बदिलने भए माक्स, लेनिन, माओलगायत थुप्रैको दर्शनका कारण विश्वको रुप अर्कै हुन्थ्यो । सुन्दा अनौठो लग्ला । मलाई बीपीको विराट साहित्यिक छबीले उनको राजनीतिक विचारधारासँग पारीचित गराएको हो । मैले एकपछि अर्को गर्दै उनका कृति पढेको हुँ ।

यसको सुरुआत ‘दोषी चस्मा’बाट भएको हो । दोषी चस्मा तत्कालीन नेपालको मात्र नभएर वर्तमान नेपालको तस्बिर हो । यस कथाले हामीलाई ऐना देखाउँछ । कस्तो छ त हाम्रो समाज, हाम्रो मानसिकता– ‘हामीलाई मालिक चाहिन्छ, जसलाई हामी आजकालको भाषामा ‘देशको अभिभावक’ भन्ने गर्छौं । हामीलाई संरक्षण चाहिन्छ । हाम्रो हुर्काइ नै यसप्रकारको हुन्छ । यसप्रकारको ‘अपब्रिङइङ’ (गउदचष्लनष्लन) या परवरिसले ‘मालिक–दास’ सोच भएको समाज निर्माण गर्छ । त्यसलाई जस्तोसुकै ‘इजम’ले धुन सक्दैन । त्यसैले होला बीपीले सिंहदरबारमा किसानको फोटो टाँस्नु भनेका थिए । योभन्दा ठुलो राजनीतिक विवेक र मानव चेतना जगाउने कथा अर्को हुन सक्थ्यो र ? यो कथा थिएन मनोक्रान्ति थियो, जसलाई न ठीकसँग पढाइयो, न पढियो । यो कथा मनन गर्ने हो भने, नेपाली समाजको मुहार अर्कै हुन्थ्यो ।

बीपीको नाम लिएर राजनीति गर्नेहरूले बीपीलाई सही अर्थमा चिनेझैँ मलाई लाग्दैन । नत्र उनकै पुत्र देशका प्रमुख समस्या, विभेद गरीबी र वञ्चितीकरण दूर गर्नेतिर लाग्नु कता हो कता, संविधानलाई असफल पार्न खोज्दैछन् । उनले र उनीजस्ता हजारौँले किन बुझेनन् हिन्दूत्वलाई कतैबाट खतरा छैन । जो पाँच हजार वर्ष बिनाप्रचार–प्रसार जिवीत रहन सक्छ, त्यसलाई केको डर ?

सिग्मन्ड फ्रायडको मनोविज्ञानद्वारा बीपी आफ्ना पात्रहरूलाई हेर्थे । अहिलेको नेपालको समस्या भनेको सोच हो । मनोविज्ञान हो । रोगी मनोविज्ञानले स्वस्थ राजनीति अनि स्वस्थ समाजको कल्पना ब्यर्थ हुन्छ । बीपीले त्यही भएर राजनीतिक कर्मका साथमा सामाजिक मनोवैज्ञानिक परिवर्तनका लागि कलम चलाउँदै गए । दुःखको कुरा, केहीले पढे तर केवल मनोरन्जनका लागि । केहीले बुझेनन्, धेरैले बुझ्नै चाहेनन् । केहीले पढ्नै चाहेनन । म पढ्दै गए । हिट्लर र यहूदी , नरेन्द्र दाई , सुम्निमा बाबु, आमा र छोरा । मेरो सोचको दायरा फराकिलो हुँदै गयो । मेरो क्षितिज फैलँदै गयो । म लोकतन्त्रको सिपाही बनिसकेको थिएँ । सुम्निमाले मलाई किरात सभ्यताप्रति सम्मान र आदर जगायो, शिक्षित बनायो । समाजमा भएका कुरीति, अन्याय, अत्याचारलाई राजनीतिक चेतनाले मात्र बादल्न सक्दोरहेनछ भन्ने ज्ञान मैले प्राप्त गरिसकेको थिएँ । त्यसका लागि कला, साहित्य संगीत त्यत्तिकै अपरिहार्य हुँदोरहेछ ।

मैले मोदिआयिन पढेँ । यो युगान्तकारी थियो । यो यस्ती महिलाको कथा थियो जसले युद्धमा पति गुमाएकी थिइन । यस्ता थुप्रै महिलाको वेदना यसमा भेटिन्छ । मोदिआयिनमा महाभारतलाई महिलाको दृष्टिकोणले हेरेका छन् बीपीले । यो कोही जमीनसँग जोडीएको विचारकले मात्र गर्न सक्थ्यो । बीपीले एक विधवाको लागि युद्ध कस्तो हुन्छ भनेर शब्दद्वारा चित्र कोरे । जो कोहीले पढ्छ, युद्धको ‘वैदिक दर्शन’लाई मात्र नभई भाग्यवादलाई पनि चुनौती दिन्छ । युद्ध कुनै रुपमा न्यायोचित हुन सक्दैन, कथाले भन्छ । लैङ्गिक अवधारणा बुझाउने अलौकिक कृति हो मोदिआयिन, जसले नारी वेदना बुझ्न सक्छ त्यसले जगत बुझ्न सक्छ । बीपीले साहित्यद्वारा प्राकृतिक तवरले समाज परिवर्तन होस् भन्न चाहेको मैले पाएँ ।

विडम्बना ! बीपीको नाम लिएर राजनीति गर्नेहरूले बीपीलाई सही अर्थमा चिनेझैँ मलाई लाग्दैन । नत्र उनकै पुत्र देशका प्रमुख समस्या, विभेद गरीबी र वञ्चितीकरण दूर गर्नेतिर लाग्नु कता हो कता, संविधानलाई असफल पार्न खोज्दैछन् । उनले र उनीजस्ता हजारौँले किन बुझेनन् हिन्दूत्वलाई कतैबाट खतरा छैन । जो पाँच हजार वर्ष बिनाप्रचार–प्रसार जिवीत रहन सक्छ, त्यसलाई केको डर ? बरु यसमा भएका अबयव सुधार गर्न उन्मुख हुनु, एक लोकतान्त्रिक पार्टीको चरित्र होइन र ?

अब काङ्ग्रेसले आफ्नो कोर्स करेक्सन गर्न चाहन्छ भने बीपीको समाजवाद र उनको साहित्य पढेर आफ्नो र समाजको मनोविज्ञान बदल्न अग्रसर हुनुपर्ने छ । काङ्ग्रेसले गरीब कमजोर र जरुरतमन्द सबैका लागि काम गर्नुपर्ने छ । यसले बरु समाजमा मेलमिलाप ल्याउनेछ । ततकालीन समयमा बीपीले अपनाएको मेलमिलापको नीतिलाई ‘दिवस’मा सीमित नराखी नयाँ उचाइ दिने छ । साँचो भन्नुपर्दा बीपीकै एक लेखको शीर्षक काङ्ग्रेसलाई मार्गदर्शक हुनसक्छ । काङ्ग्रेसभित्र ‘क्रान्ति एक अनिवार्यता’ भएको छ ।

खैर ! यो खाँटी रजनीतिक खेलाडीहरूले आत्मासात गर्ने कुरो भएन । यो त त्यस नेताले बुझ्छ जसभित्र साहित्य होस्, कविता होस्, कला होस्, सिर्जना होस् । बीपी एक राजनेता थिए, एक अब्बल साहित्यकार थिए । उनमा राजिनीति र साहित्यको सुन्दर समिश्रण थियो । बस थिएन त केवल समय ।