‘पहिचान’लाई देश समृद्धिको आधार तुल्याउन सकिन्छ

सांस्कृतिक पहिचानको आलोकमा ल्होछारलगायतका पर्व

16 Shares
  • डिल्ली अम्माई, बेल्जियम

ल्होछार दुइ शब्दको संयोजन हो । भोटसँग सम्बन्धित भाषाहरू शेर्पा, भुटानी, योल्मो, डोल्पाली इत्यादि भाषामा ‘लो’ भनेको वर्ष वा साल हुन्छ भने ‘सार’को अर्थ ‘नयाँ’ हुन्छ । यसैले ‘लोसार’को अर्थ ‘नयाँवर्ष’ वा ‘नयाँ साल’ भन्ने बुझिन्छ । नयाँ वर्षको उत्सव हुनाले यस चाडलाई भब्य रुपमा मनाउने गरिन्छ ।

ल्होछार मनाउने समुदायले बौद्ध ज्योतिष शास्त्रमा उल्लेख भएअनुसार ‘लो’ अर्थात वर्षलाई १. ज्यिवा, २. लअङ्, ३. ताग, ४. योस, ५.ड्रुग, ६. ड्रुल, ७. त, ८. लुग, ९. ट्रेल, १०. ज्य, ११. ख्यी, १२. फग गरी बाह्रवटा जीवजन्तुका नाम दिएर गन्ने गरिन्छ र उक्त बाह्र वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर वर्ष गनिन्छ । जान लागेको पुरानो वर्षको विदाईका लागि लोसार आउनुभन्दा २–३ दिन पहिलेदेखि लामाहरू आमन्त्रण गरी भव्य पूजा गरिन्छ । त्यसैगरी आउन लागेको ल्होछार (नयाँ बर्ष)को स्वागतको लागि ठूलो उत्सव हुने गरेको छ ।

कसरी मनाइन्छ ल्होछार ?

ञिशुगु अर्थात कृष्ण पक्षीय चतुर्दशीको दिन अथवा जान लागको पुरानो वर्षको विदाई कार्यक्रममा ‘गु थुग्पा’ खाने चलन छ । नौ किसिमका विभिन्न चीज (गेडागुडी)हरू हालेर थुग्पा पकाई घरको जहान परिवार सबै एकठाउँमा जम्मा भई रमाइलो गरी ‘गु थुग्पा’ खाइन्छ । आउन लागेको लोसारको लागि विशेष गरी घर सजाइन्छ । घरका भित्ता पाखामा स्वस्तीक चिन्हहरू कोर्ने चलन पनि छ । प्रसादको रुपमा चाङका चाङ रोटी (खमस्य) पकाएर थुपारिन्छ । विभिन्न किसिमका फलफूल र गेडागुडीहरू पनि सजाइन्छन् ।

लोसारको विहान प्रातकाल पानी लिएर देवतालाई शुद्ध पानी चढाई यो वर्ष मंगलमय वातावरणमा बित्तोस भनी प्रार्थना गरिन्छ । विभिन्न चिजबिज हालेर बनाएको पीठोको परिकार (क्षमर) र आत्मिक शुद्धताको लागि पन्चामृत खाने पुरानो चलन पनि छ । घरको आँगन र डाँडापाखामा रंगीचंगी ध्वजाहरू फहराएर वातावरण रमणीय बनाएमा देवताहरूको आगमन हुने विश्वास छ । ‘साङसेरक्येम’ (कुलदेवता बुझाउन) को लागि प्रार्थना गरिन्छ । आफ्नो समूहका ठूलाबडा र गोम्पा तथा बौद्ध (चैत्य)को दर्शन गरी शुभ आशिर्वाद लिन्छन् । घरको आँगनमा ध्वजा उठाई साङ सेरक्येमको पूजा सिद्धिएपछि घरपरिवार सबैले ‘किकी सो सो ल्ह ग्यल्लो’ (देवताको जय, दानवको पराजय) भनी जयका प्रतीक सेतो पीठो उडाएर एकदम रमाइलो गर्ने गरिन्छ । त्यसपछि दोश्रो दिनबाट फेरि गोम्पा वा सार्वजनिक स्थलमा भेला भई एक आपसमा ‘टसी देलेक’ आदानप्रदान गर्दै आफ्ना मौलिक भेषभुषामा उभिएर मिठोमिठो खानेकुराहरू आदानप्रदान गरी लोसार मनाउने गर्छन् ।

यसरी शेर्पा समाजमा व्यक्तिगत र सामाजिक रूपमा ठूलो हर्षोल्लासका साथ १०–१५ दिनसम्म लोसार मान्ने परम्परा छ । शेर्पाले जस्तै तामाङ, गुरुङ र भोटेहरूले पनि हर्षबडाइँ गरी लोसार चाड मान्दछन् । ज्योतिषशास्त्र र भौगालिक वस्तुस्थितिअनुसार पुस महिनाको शुक्लपक्षको परेवा तिथिबाट नयाँ वर्ष लागेको हुन्छ ।

जनजातिका यी पर्वहरू आफैमा शानदार मात्र नभएर नेपालको सम्पूर्णताभित्रको एकताको प्रतिध्वनिहरू हुन् । बुझ्नेले जसरी बुझुन् यी पर्वहरूमा छुट्टै तमुवान खुम्बुवान, थारुवान वा मगरात नात्र नभएर सिङ्गो नेपालको राष्ट्रियता झल्किन्छ ।

नयाँ वर्षको मतलव चन्द्र, सूर्य र अन्य ग्रह नक्षत्रहरू दक्षिणतिर जाने क्रम सिद्धिएर उत्तरतिर फर्केको हुन्छ । यस अवसरमा भूमण्डलमा स्थान जमाएर बसेका सिमेभूमे देवदेवी र नाग नागिनी, चरा चुरुंगी, किरा फट्याङ्ग्राहरू पनि आफ्नो ठाउँ छोडेर अन्यत्र सरेर जान्छन्, सर्पले काँचुली फेर्छन् र पृथ्वीभित्र छिपेका जीव बाहिर निस्कने तयारि गर्छन भन्ने मान्यता रहेको छ । त्यस बेला भौगोलिक बस्तुस्थिति अनुसार बर्ष फिर्ने हुँदा ल्होछार मान्ने गरेको हो । शेर्पा समाजले ‘छयोठुल दुछेन’ फागुणमा बुद्धले धार्मिक शक्ति प्रदर्शन गरी तैर्थीकलाई हराएको प्रातिहार्य दिवस पारेर लोसार चाड मान्ने गरेका छन् ।

तमु लोसार, सोनाम लोसार, ग्याल्पो ल्होछार एकैदिन नपरे पनि यिनीहरूको सांस्कृतिक विरासत एउटै हो । यी तीनै पर्वहरूको अर्थ नयाँ वर्ष नै हो र मनाइने प्रक्रिया फरक भए पनि एउटै भावले मनाइन्छ । अंग्रेजी नयाँ वर्षको वरिपरि मनाइने यी इथिकल पर्वहरू ऋतुसँग अभिन्न रूपले जोडिएका छन् ।

संसारभर डिसेम्बर अन्तिम हप्ता तमुहरूको ल्होछार पर्व उल्लासमय तरिकाले मनाउँछन् । संसारभरका तमुहरू बीच प्रत्येक वर्ष भव्य एवं सानदार रुपमा तमु, तामाङ, शेर्पाहरूको महान् पर्व तथा नयाँ वर्ष ल्होछार मनाउने परम्परा विकसित छ । विगतका वर्षमा पनि ल्होछार, माघीलगायतका जनजातिका पर्वहरू अत्यन्त व्यवस्थित र भावनात्मक लगावले ओतप्रोत हुन्थ्यो । अहिले पनि त्यही भावले यी पर्वहरू मनाउने तयारी चलेको छ । संसार भरिकाका जनजातिहरू आत्मैदेखि समर्पित भएर आफ्ना सांस्कृतिक पहिचानका पर्वहरूमा भाग लिँदै र रमाउँदै आएका छन् ।

जनजातिका यी पर्वहरू आफैमा शानदार मात्र नभएर नेपालको सम्पूर्णताभित्रको एकताको प्रतिध्वनिहरू हुन् । बुझ्नेले जसरी बुझुन् यी पर्वहरूमा छुट्टै तमुवान खुम्बुवान, थारुवान वा मगरात नात्र नभएर सिङ्गो नेपालको राष्ट्रियता झल्किन्छ । त्यहाँ एउटा जातिविशेषको मात्र आग्रह हुँदैन र हुनुहुँदैन । जातिभित्र सिङ्गो राष्ट्रियता अटेको अटेको हुन्छ । त्यहाँ त अस्तित्व र पहिचानको लागि सिङ्गो आकाशभित्रको मिठो भावना अनि सपना हुन्छ ।

पहिचानसँग किन सम्बन्धित छन् यी पर्वहरू ?

अफ्रिकाका महान नेता नेल्सन मण्डेलाको भाषामा भन्दा ‘पहिचान त महासागरको ज्वारभाटा र तरंगजस्तै मस्तिष्कभित्र विकसित प्रकाशपुञ्ज हो । मानव मनोविज्ञानमा नमेटिने छाप हो पहिचान ।’ अतः पहिचानलाई राष्ट्रियतासँग जोडेर हेर्यो भने कहीँ पनि समस्या हुँदैन तर अलग गर्न खोजियो भने राष्ट्रियता धर्मराउँछ । बुझ्नुपर्ने कुरा यत्ति हो । संसारमा भएका महान् आदी संघर्षहरू सांकृतिक पहिचानका लागि भएका भएका छन् र यो मानवताभित्रको दबिएको इथिकल विवेक हो । लठ्ठी हानेर पानी अलग गर्न नसकिएझैँ पहिचानलाई मानव सभ्यता र राष्ट्रियताबाट कदापि अलग गर्न सकिन्न ।

विशालातामा हेर्दा, संसारमा पहिचान वाहेकको कुनै पनि चिजको कल्पना नै गर्न सकिँदैन । फूलहरूको राजा पारिजात पहिचानले नै सबै फूलहरूबाट अलग भएको हो । त्यसको सुगन्ध फरक छ, त्यसको आकर्षण फरक छ, पात र बोटको आकार पनि फरक छ । त्यसैले यो पारिजात हो भनेर हामीले चिन्दछौँ । त्यो नै उसको परिचय वा पहिचान हो ।

‘ब्रह्माण्डमा भएका हरेक चीजहरूमा उसका विशेषता, विशेष गुण, उसको स्वरुप र अन्तरनिहीत तत्व मिश्रणले उसलाई अरुबाट अलग पहिचान दिएको हुन्छ । पदमिनी, लालीगुँरास र तुलसीको पनि त्यहि हो अवस्था ।’ भला मानवले कसरी पहिचान छोड्न सक्ला ? उसको घरायसी संस्कार, मातापिताको शिक्षा, समाजको छाप भिन्न दर्शनप्रतिको उसको लगाव, मानवतालाई सम्वोधन गर्ने उसको चेतनापुञ्ज र संसार बुझ्ने उसको चेष्टाले नै पहिचानलाई आकार दिन्छ । के मानवले आफ्नो पहिचानबाट अलग भएर बाँच्न सक्ला ? समाजबाट एकलव्य भएर आफ्नो भविष्यको गोरेटो तय गर्न सक्ला ? संस्कार र चाहनाहरूलाई पहिचानबाट अलग गराएर कसैले सपना देख्न सक्ला ? सहजै भन्न सकिन्छ – सक्दैन ।

इथिकल सभ्यताको नाम हो पहिचान !

दक्षिण अफ्रिकामा अंग्रेज शासनको दासताको विरुद्ध त्यति ठूलो लडाइँ भयो । त्यसको नेतृत्व काला जातिका नेता नेल्सन मण्डेलाले गरे । त्यो पनि वर्ण पहिचानसहितको स्वाभिमानका लागि लडिएको लडाइँ थियो । एउटा उत्पीडक जातिले छुट्टै संस्कार, भावना, चेतना र सपना भएको अर्को राष्ट्रको उत्पीडित जाति वा वर्गलाई दासताको सिक्रीले बाँधिएर राखिएको थियो त्यहाँ । काला जातिको सांस्कृतिक पहिचानलाई बन्धक बनाइएको थियो । काला जातिको स्ववर्ग, स्वजाति र स्ववर्णको पहिचानको लागि औपनिवेषिक दासताको विरुद्ध अफ्रिकासँग सँगै सिङ्गो धर्ती उठ्यो, मानवता खारियो, पहिचानले मानवतासँगै नाता गाँस्दै राष्ट्रियतासँग सांस्कृतिक विरासतको गीत एकै पटक गुञ्जायो धर्तीमा । चेतनाले विजय पायो, पहिचानसँगै राष्ट्रियताको बत्ति बल्यो र देश प्रगतिको पथमा लम्किन सफल भयो । त्यहाँ पनि अरुको पहिचान दवाउनेहरूलाई पहिचान मिचिएको उत्पिडित जातिले जितिछाड्यो ।

अमेरिकाका रंगभेदविरोधि नेता मार्टिन लुथर किङले भन्थे, ‘पहिचान खाली जातिविशेषसँग मात्र गाँसिदैन । यो संस्कृति, धर्म, वर्ग, भाषा, क्षेत्र र वर्णसँग पनि गाँसिएर आँउछ । त्यसैले कसैको पहिचानलाई मेटेर आउने धम्की भनेको कसैको आत्मा स्वभिमान प्रतिको चुनौती हो, भावनाप्रतिको खेलवाड हो । पहिचान आकाश हो, जहाँ सबै ताराहरूको अस्तित्वले आफ्नो क्षेत्र, स्वाभिमान र नाम पाएको छ । यदि कसैले आकाशलाई इन्कार गर्दछ भने त्यो त महामूर्ख हो ।’

सोचौँ– के नेपाल मात्र पहिचानवेगर अस्तित्वमा रहन सक्ला ? सक्दैन, किनकि पहिचानले नै धर्तीले आफ्नो विशेषतालाई अन्य समुह वा देशभन्दा अलग रुपमा बचाइराखेको छ । पहिचानवाहेक नेपाल बच्नै सक्दैन । पहिचान राष्ट्रियताको आत्मा हो । यदि आत्मा नै छैन भने आत्माविहीन राष्ट्रियताको के काम ? निर्जीव वस्तुको पहिचान हुन्छ । माटो, ढुंगा, पानी सबैको आ–आफ्नो पहिचान छ । बोट विरुवा, किट, पतङ, जनावर, चराचुरुङ्गी सबैको आ—आफ्नो पहिचान छ । दुनियाँका फरक–फरक विशेषताहरू नै पहिचान हुन् । पहिचानवाहेकको कुनै वस्तुको कल्पना गर्नै सकिँदैन । त्यसैले पहिचान र साँस्कृतिक विशेषताको सबैले सम्मान गर्न सक्नु पर्दछ । सागरहरू मिलेर महासागागर बने झैं भिन्न भिन्न पहिचान मिलेर राष्ट्रियता वा देश बन्ने हो । भिन्न–भिन्न सांस्कृतिक विरासत, जातीय सभ्यता र धार्मिक सहिष्णुताले नेपालको राष्ट्रियता बनेको छ । अतः यी सांस्कृतिक विरासतहरू नेपालका सम्पत्ति हुन् । यिनको संरक्षणमा राज्यले कन्जुस्याइँ गर्नु हुँदैन ।

सांस्कृतिक पहिचान समृद्धिको आधार हुन सक्छ :

जातीय पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणले विकास र समृद्धिमा सहयोग पुग्छ कि पुग्दैन ? यसबारे नेपालमा खासै बहस भएको देखिँदैन । कसैले पहिचानलाई बिग्रहवादी नजरले हेरेर बहसलाई पर्गेलेको देखिन्छ भने अर्कोतर्फ आफ्नो राजकीय भूमिका खुम्चिने भयले धार्मिक, सांस्कृतिक र जातीय पहिचान बारेको बहस रुचाइँदैन । कतिपयले कला, साहित्य, जाति, भाषा, धर्म, संस्कृति र संस्कारलाई विकास नै ठान्दैनन् । यी दुवै सोच गलत हुन् । पहिचान राज्यको अमुल्य निधि हो । संकृति र पहिचान संरक्षणबाट धेरै देशले प्रयटन क्षेत्रको विकास गरेका छन् । जस्तो चीनको प्रशासकीय क्षेत्र तिब्बतले त्यहाँको साँस्कृतिक पहिचानको संरक्षण गरेर आर्थिक विकासको नयाँ सम्भावना पहिल्याएको छ ।

हाम्रो छिमेकी तिब्बतको उदाहरणलाई लिउँ । तिब्बतले छोटो समयमा नै आर्थिक रुपमा फड्को मारेको छ । छोटो समयमा विकास गरेको तिब्बतले नेपाललगायत दक्षिण एसियाका विभिन्न मुलुकलाई पहिचानको संरक्षणले कसरी विकास र समृद्धिमा टेवा पुर्याउँछ भन्नेबारे एउटा मोडेल प्रदान गरेको छ । ल्हासामा रहेको सताब्दिऔँ पुरानो पोताला दरबार हेर्न मात्र वार्षिक करोडभन्दा बढी आन्तरिक एवं बाह्य पर्यटकहरू पुग्ने गरेको त्यहाँका अधिकारीहरूको भनाई छ । त्यस्तै संसारमा सांस्कृतिक, भाषिक र धार्मिक पहिचानको संरक्षण, सम्बर्धन र प्रचारप्रसार गरेर उँभो लागेका धेरै क्षेत्र वा देशहरू छन् । म्यान्मार, कम्बोडिया, इन्डोनेशिया, भारत, ब्राजिल र तिब्बतको अर्थतन्त्रको मुख्य हिस्सा सांस्कृतिक पर्यटन हो । यिनीहरूलाई संरक्षण गर्ने दायित्व राज्यको हुनुपर्ने हो । तर नेपालमा पहिचानलाई त्यो रुपमा बुझ्न सकिएको छैन । यस्तो किन ? बुझिनसक्नु छ । पहिचानलाई देश समृद्धिको आधार बनाएर अघि बढ्ने सक्ने हो भने नेपालका भिन्न पहिचानहरू मुलुकको लागि बरदान साबित हुन सक्छन् ।

बेलैमा सम्बर्द्धन गर्न सक्यौँ भने भने पहिचान समृद्धिको एक आधार हुन सक्छ र नेपालको सरकारले पहिचान पक्षधरहरूको मुद्धामा चासो मात्र देखाएर पुग्दैन, उनिहरूको भाषा, संस्कृति, चाडबाड, भेषभुषा र रहनसहनको संरक्षणलाई गतिलो नीति बनाएर जगेर्ना गर्नु आवश्यक छ ।

16 Shares

प्रतिक्रिया