पिंढीमा बसेर मेरै बाटो हेरेर…

पिंढीमा बसेर मेरै बाटो हेरेर…


– टीका भण्डारी

लोकगायक बुद्धिकृष्ण लामिछाने नेपाली लोक संगीत क्षेत्रबाट सदाका लागि अस्ताएका छन् । वि.सं. २०१२ साल साउन १ गते भक्तपुरको बागेश्वरी (हालको चाँगुनारायण नगरपालिका–७) मा जन्मिएका उनको हिजो शुक्रबार (१३ पुस ०७५) मध्यान्ह १२ बजे आफ्नै निवासमा निधन भएको हो ।

करिब ७वर्षदेखि गायक लामिछाने पक्षघातका कारण थलिएका थिए । उनी हिँडडुल गर्नसमेत सक्दैन थिए।

०३६ सालदेखि रेडियो नेपालबाट गीत गाउन सुरु गरेका लामिछानेका ‘पिँढीमा बसेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’, ‘पर्नु पर्यो पिर’ ‘घाँस काट्ने खुर्केर’ लगायतका थुप्रै गीत चर्चित छन्।

नेपाली सेनाको प्रशासनतर्फ जागिरे जीवनबाट देशको सेवा गरेका लामिछानेका धेरै गीतले नेपाली समाजको सार्थक कथा अभिव्यक्त गरेका छन् । उनले कतिपय गीत आफैले सङ्कलन गरेर गाएका छन् । कस्तो संयोग होला उनको, जस्तो गीत गाए त्यस्तै जीवन समेत बिताए उनले।

‘पिंढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ गाएका उनका ८-१० वर्ष त पिँढीमै बसेर बस्यो, दुःखैदुःखमा। गीत गाउन त परै जाओस्, आफ्नो घरको पिँढीभन्दा बाहिर जान समेत सकेनन्, पिँढीमा नै बसेर रुँदै जीवन बिताए ।

आर्थिक अवस्था कमजोर भएका उनलाई सहयोग गर्न विगतका सरकारहरुले समेत कुनै महत्व दिएनन् । जब उनको बारेमा दुखद खबर रेडियो पत्रपत्रिका र टेलिभिजनहरुबाट बाहिर आए, धेरै लोक सङ्गीत र उनका व्यक्तिगत शुभचिन्तकहरु घरमा नै पुगेर आर्थिक सहयोग गरेका थिए ।

लामिछानेको अवस्था बाहिर ल्याउन सञ्चार माध्यमले सक्दो सहयोग गरेकै हुन् । त्यसपछि उनलाई माया गर्ने व्यक्ति र सङ्घ संस्थाहरू समेत सहयोगका लागि लामिछानेको घर खोज्दै बागेश्वरी पुगेकै पनि हुन् । पछिल्लो समय नेपाली गीत संगीत र गायक बुद्धिकृष्णलाई माया गर्नेहरुकै पहलमा थेरापीलगायतका उपचार पद्धति समेत भएको थियो । तर बिधिको बिडम्बना ! ६३ वर्षको उमेरमा उनले मृत्यसँग हार खानु पर्यो ।

नेपाली लोक सङ्गीत आकाशबाट एउटा लोकतारा सदाका लागि अस्ताउन पुग्यो। बिरामी हुँदा समेत उनले घरि-घरि नेपाली कलाक्षेत्रमा फेरि गीत गाउने, स्टेज थर्काउने, गीत रेकर्ड गर्ने भन्दै हाउभाउ प्रस्तुत गर्दै आफ्ना इच्छा आकांक्षाहरु सुनाउने गरेका थिए। तर धोको पुरा हुन सकेन । सपनाहरु सबै अधुरै रहे ।

उपचार र दैनिक जीवन सहज बनाउन सहयोग गर्दै आएका उनका थुप्रै सुभेक्षुक शुभचिन्तकहरु निकै दुखित भएका छन् । लामिछानेको निधन भएपछि उनको शवलाई दुई घण्टामात्र उनको निजी निवासमा राखिएको थियो । त्यसपछि अन्तिम संस्कारका लागि बागेश्वरीको बाल्मिकेश्वर आर्यघाटमा लगिएको थियो।

रेडियो नेपाल तथा एफएमहरुबाट उनको निधनको खबर सुनेका सञ्चारकर्मी र शुभचिन्तक उनको पार्थिव शरिर खोज्दै बाल्मिकेश्वर घाटमा पुग्दा चितामा शरिर जलिरहेको थियो । उनका लोक सुरहरू धुवाँमा बिलिन भइरहेका थिए । भौतिक शरिर त्यही माटोमा बिलिन भयो। एउटा लोकप्रिय श्रष्टा क्षणभरमै सम्झनामा कैद भयो।

चर्चित व्यक्तिको सुनसान बिदाई थियो त्यो। न उनको शवमा कसैले राष्ट्रिय झण्डा नै ओढायो, न कसैले सलामी अर्पण गरे, न कुनै ठूलो व्यक्तिले श्रद्धाञ्जली नै दियो ।

एउटा कलाकारको सबैभन्दा ठुलो सम्पत्ति भनेको उसको सिर्जना हो, स्वर हो, प्रत्यॆक सुरका कम्पनहरु हुन्, उनीहरुले छोडेर गएका प्रिय गीत हरु नै हुन्। रेडियो नेपालमा लोक गीत रेकर्ड गर्ने उनि अत्यन्त इमान्दार, शालीन र अनुशासित कलाकारमा पर्दछन् । यस मानेमा उनि धन्य छन्, सफल छन्। उनको आत्माले शान्ति प्राप्त गरोस। शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना। मनको भित्री तहदेखि हार्दिक श्रद्धाञ्जली नेपाली संगीतप्रेमी स्रोताका प्रिय गायक बुद्धिकृष्ण लामिछानेलाई !

(संगीतकार टीका भण्डारीको फेसबुकबाट)