अमेरिकावासी किन भए नैराश्यको सिकार ?

अमेरिकावासी किन भए नैराश्यको सिकार ?


  • सानुबाबु सिलवाल

वर्षेनी ४४ हजार अमेरिकनले आत्महत्या गर्ने गरेको तथ्याङ्कले दर्शाएको छ । आत्महत्याको प्रयासबाट अस्पतालको ढोकामा पुग्ने मात्रै ४ लाख ९४ हज्जार १ सय ६९ जना अमेरिकन रहेछन्, सन् २०१६ को एक वर्ष अवधिमा मात्रै । अमेरिकन स्वास्थ्य विभागको तथ्याङ्कले यही देखाउँछ ।

आफैँद्वारा मर्ने र मर्न प्रयास गर्नेहरूको सङ्ख्या नै यति भयावह छ भने डिप्रेसन, मानसिक तनाव वा नैराश्यताको सिकार अमेरिकनहरूको सङ्ख्या हेर्दा जिब्रै काड्नुपर्ने अवस्था छ । डिप्रेसन, स्ट्रेस वा तनाव मानिसको निम्ति स्लो पोइजन अर्थात् मन्दविष भन्दा भयो । जेनेसाइट मिडियाका अनुसार १३ दशमलव ७ मिलियन अमेरिकन महिला र ७ दशमलव ७ मिलियन पुरुष एवम् २१ दशमलव ५ मिलियन एडल्टहरू डिप्रेसनको सिकार रहेछन् । गत सालसम्मको डाटाअनुसार पुरुषभन्दा महिला डिप्रेसनको सिकार भएको झन्डै–झन्डै दोब्बर सङ्ख्यामा रहेछन् । आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरू पनि महिलाकै सङ्ख्या उच्च देखियो अमेरिकामा ।

आर्थिक कारण, पारिवारिक कारण, काम र तिरनतारनको बोझ, शारीरिक र मानसिक कारण, स्वास्थ्यको कारण, सामाजिक कारण, सम्बन्धको कारण, कार्यक्षेत्र एवम् पब्लिकमा हुने आत्मग्लानि र ह्यारेसमेन्ट, वातावरण, घरेलु हिंसा, लागूऔषधलगायत प्रशस्तै कारणहरू छन् आत्महत्या गर्ने र प्रयास गर्नमा ।

अमेरिकामा बस्दै आएका नेपाली समुदाय र समाजमा पनि डिप्रेसनको सिकार हुने, आत्महत्या गर्ने र प्रयास गर्नेहरू बढ्दै जान थालेको अनुभूति भएको छ । डिप्रेसन र तनावबाट प्रभावित हुनेहरू झट्ट हेर्दा नदेखिने र बुझ्न नसकिने भए पनि प्रशस्तै सङ्ख्यामा यसको सिकार हुनेहरू छन् हाम्रै समुदायमा । एक्लोपना, आर्थिक एवम् कामको भार, नेपालबाट एउटा सपना बोकी आएका व्यक्ति एवम् परिवार अमेरिकी भूमिमा टेकिसकेपछि त्यसमुताबिक आफूलाई बदल्न, ढाल्न र प्रगति गर्न नसक्नु, आत्मग्लानि, कार्यक्षेत्रमा हुने तनाव र डिस्क्रिमिनेसन, पारिवारिक कारण र कुलतका कारण नेपालीहरू पनि डिप्रेसनको सिकार बन्दै गइरहेका छन् ।

भनेजस्तो, सोचेजस्तो, कल्पना गरेजस्तो, कुरा काटेजस्तो, गफ गरेजस्तो र सपना बुनेजस्तो सजिलो छैन अमेरिकन जीवनशैली । कडा परिश्रम, आर्थिक बोझ र पारिवारिक तनाव र अमेरिकी सोसाइटीमा भिज्न नसक्दाको परिणामबाट विरक्तिने, दुःखी बन्ने र भित्रभित्रै पीडामा बाँच्नेहरू प्रशस्तै छन् अमेरिकामा । यसका निमित्त नयाँ नेपाली र बसोबास गरिरहेका पुरानाहरूकै लागि पनि काउन्सिलिङको आवश्यकता छ, तर कसले गरिदिने ? यो प्रश्न खडा भएको छ ।

सयौँ सङ्ख्यामा रहेका नेपाली सङ्घ–संस्थाहरूको ध्यान प्रचार गर्ने, कुम्ल्याउने, नाम कमाउने र मौका परे आफ्नैले आफ्नैलाई ढाड सेकाउनमा अभ्यस्त छन्, तर यस्तो गहन र महत्वपूर्ण इस्युमा यिनका कान र आँखाहरू मन्द छन्, बन्द नै छन् । बन्द कान र आँखा अब खुल्ने अपेक्षा गरौँ ।