पन्ध्र वर्षमै कसरी नायिका बनिन् भुवन ?-राजन घिमिरे

पन्ध्र वर्षमै कसरी नायिका बनिन् भुवन ?-राजन घिमिरे


सन्दर्भ : नेपाली चलचित्रको पहिलो नायिकाको जन्मदिन
आजको अवस्थामा चलचित्रको भाषा सबैले बुझने, जान्ने र मनन गर्न सक्ने माध्यमको रूपमा स्थापित भइसकेको छ । चलचित्र अनि यसमा लागेका कलाकार एवम् प्राविधिकहरू अन्य क्षेत्र र पेसासँग आबद्ध रहेकाहरूको दाँजोमा बढी चर्चा, नाम र सम्मानको भागीदार पनि बन्दै आएका छन् । विश्व चलचित्रको इतिहासको कुरा गर्दा सन् १८८८ (वि.सं १९५५) मा Louis Alme Augustin Le Prince (French) प्रिन्सले चलचित्र क्यामरा प्रयोग गरी बनाएको ‘Roundnay Garden Snene’ नामक चलचित्रलाई विश्वकै पहिलो चलचित्र मानिन्छ र उनैलाई चलचित्रको पिता पनि भनिन्छ ।
यसरी सुरु भयो चलचित्रको इतिहास । आज चलचित्र निर्माणको क्रम विश्वभरि नै झाँगिँदै र विस्तार हँुदै अगाडि बढेकोबढ्यै छ भने यो विधाको बारेमा सुन्नेबित्तिकै कान ठाडो नपार्ने र चासो नदिनेहरू कमै भटिन्छन् । मुलुकको कला, संस्कृति, भाषा र साहित्यका साथै मनोरञ्जनको बलियो, विश्वासिलो र फराकिलो माध्यम बनेको छ चलचित्र विधा ।
यसरी सुरु भएको चलचित्रको इतिहासमा नेपालले भने सन् १९५१ (वि.सं. २००८) सालमा आएर मात्र आफ्नो उपस्थिति जनायो त्यो पनि भारतबाट बनेको नेपाली चलचित्र सत्य हरिशचन्द्रमार्फत । भारतको कोलकातामा बनेको यो चलचित्रलाई विदेशी भूमिमा बनेको नेपाली भाषाको पहिलो चलचित्र मानिन्छ र स्व. डीबी परियारले यो चलचित्रको निर्देशन गरेका चिए । विदेशमा बनेको र कलाकार एवम् प्राविधिकहरू पनि त्यति नेपाली नभएका कारण चलचित्र सत्य हरिशचन्द्रमाथि नेपालीले त्यति खुलेर प्रशंसा गर्न पाएनन् र उनीहरू गौरवान्वित पनि भएनन् ।
नेपाली भूमिमा नै छायाङ्कन भएको होस् । यहीँका कलाकार अनि प्राविधिकहरूको संलग्नता भएको चलचित्र हेर्ने कालप्रेमी नेपालीको भित्री इच्छा सन् १९६४ (वि.सं. २०२१) सालमा कलाप्रेमी स्वर्गीय राजा महेन्द्रको पहलमा पूरा भयो ।
निर्देशक स्वर्गीय हीरासिंह खत्रीको निर्देशनमा नेपालमा निर्मित पहिलो चलचित्र बन्यो आमा । यसै चलचित्रमार्फत नेपाली चलचित्र क्षेत्रमा पहिलो ऐतिहासिक झन्डा गाडिन् भुवन चन्द -थापा) ले ।
२००६ साल असार १ गते काठमाडौंको धोबीचौरमा जन्मन भएकी भवन चन्द १५ वर्षकै उमेरमा नेपाली चलचित्र पहिलो नायिका बन्न सफन हुनुभएको हो । चलचित्र आमामा नायिकाको भूमिका निभाउँदा उहाँको उमेर मात्र १५ वर्षको थियो ।
०२२ साल असोज ५ गते चलचित्र आमामा सार्वजनिक प्रदर्शन गरिएको थियो काठमाडौंको न्युरोडमा रहेको रञ्जना हलमा । हिन्दी र अङ्ग्रेजी चलचित्रहरू नबुझे तापनि हेरिरहेका नेपाली दर्शकहरूलाई आफ्नै भाषामा सिनेमा हेर्नुको मज्जा अर्कै थियो ।
नेपाली चलचित्रकी पहिलो नायिका भुवन चन्द सुरुमा त गायिका नै हुन् । आफ्ना पिता उस्ताद स्वर्गीय भैरवबहादुर थापाकी छोरी भुवन चन्दले २०१८-२०१९ सालतिर गीत गाउन थाल्नुभएको हो । आफ्ना पिता गायक भएका कारण छोरी पनि गायन क्षेत्रमा नै लाग्नुपर्छ भन्ने परिवारको मान्यताविरुद्ध गएर त्यसबेलाको अवस्थामा पनि साहसिक कार्य गर्दै उहाँ अभिनयतिर होमिनुभयो । त्यसो त बालकृष्ण समको नाटकबाटै २०१० सालबाट उहाँले बाल कलाकारको रूपमा आफूलाई रंगमञ्चमा उतार्नुभएको थियो ।
तत्कालीन सरकारको सूचना विभागले फिल्म बनाउने भन्ने जानकारी पाएपछि त्यतिबेला भुवन चन्दलगायतका केही कलाकार सूचना विभागमा गए । त्यतिबेला उहाँ राष्ट्रिय नाचघरमा करारमा काम गर्नुहुन्थ्यो । चलचित्र आमामा काम गर्ने इच्छा बोकेर भुवन चन्दका साथ त्यतिबेला विमला श्रेष्ठ, चैत्यदेवी -पहिलो नेपाली रंगीन चलचित्रकी नायिका)लगायतका कलाकारहरू सूचना विभाग पुग्नुभएको थियो ।
अन्तर्वार्ता दिएको पाँच-६ महिनापछि मात्र फिल्म बन्ने कुरा थाहा पाउनुभयो भुवन चन्दले । पहिलो चलचित्र आमाको नायकका लागि पहिले प्रेमप्रकाश मल्ल छानिनुभएको र पछि ‘होम सिक’का कारण उहाँले चलचित्रमा काम गर्न इन्कार गरेपछि त्यसै चलचित्रका गायक शिवशंकर मानन्धर नै नायकको रूपमा छनोट हुनुभएको थियो चलचित्र आमामा ।
चलचित्र आमाको प्रथम प्रदर्शनको अवसरमा आफू नेपालमा हुन नपाएकोमा निकै दु:खित हुनुहुन्छ भुवन चन्द । त्यसबेला उहाँ सांस्कृतिक कार्यक्रममा भाग लिन चीन जानुभएको थियो । चलचित्र आमा हेरेपछि कलाप्रेमी राजा स्वर्गीय महेन्द्रबाट त्यतिबेला सम्मान र कदरस्वरूप चार हजार बक्सिस पाएको क्षणलाई आज पनि भुवन चन्द झलझली सम्झनुहुन्छ ।
कलाकारिता क्षेत्रमा लागेपछि पढाइ बीचमा नै छाड्नुपरेको थियो उहाँले । पढाइ बीचमा छाड्नुपरेकोमा खिन्नता लागे पनि नेपाली चलचित्र क्षेत्रले दिएको मान-सम्मान अनि उचाइ प्राप्त गर्न पाउनुलाई भने उहाँ गर्व गर्नुहुन्छ । आफ्नो जन्मघरमा बुबा उत्साद स्वर्गीय भैरवबहादुर थापा नै कलाकार हुनुभएकोले आफूलाई कलाकार बन्न जन्मघरबाट त्यसै असहयोग नभए तापनि मामाघरबाट भने उहाँलाई त्यति सपोर्ट थिएन ।
भुवन चन्द र माइकल चन्दबीचको वैवाहिक प्रसङ्ग पनि निकै रोजक र उल्लेख गर्न लायकको छ । त्यतिबेला भुवन चन्द राष्ट्रिय नाचघरमा कलाकारको रूपमा काम गर्नुहुन्थ्यो भने माइकल चन्द राष्ट्रिय नाचघरमा नै अङ्ग्रेजीमा उद्घोषण गर्नुहुन्थ्यो कार्यक्रमतिर । त्यसै क्रममा भुवन र माइकलको भेट भएको थियो । यो भेटले अन्तत: एक-अर्कालाई जीवन साथीमा रूपान्तरित गर्‍यो भने २०३३ सालमा हिन्दू परम्पराअनुसार विवाह भयो भुवन थापा र माइकल चन्दबीच । माइकल चन्दलाई श्रीमान्को रूपमा पाउँदा भुवन चन्द जति गौरव गर्नुहुन्छ त्यो भन्दा बढी माइकल चन्द खुसी हुनुहुन्छ नेपालकी पहिलो ऐतिहासिक नायिकाको श्रीमान् हुन पाएकोमा ।
रेडियो नेपालमा आफ्नै पिताको साथी गायक शिवशङ्कर मानन्धरको धेरैपटक औंला समातेर भुवन चन्द रेडियो नेपाल आउने-जाने गर्नुहुन्थ्यो तर संयोग अन्तत: विपनामा शिवशङ्कर मानन्धरकै जोडी अर्थात् आफ्नै पिताको साथीको नायिका भएर पर्दामा देखापर्ने दिन आयो भुवन चन्दको जीवनमा ।
कुरा सन् १९७२ तिरको हो । कलाकार भनेपछि असल खालका हुँदैनन् भन्ने थियो । आफू रेडियो नेपालको अङ्ग्रेजी समाचारवाचक अनि भुवन चन्द प्रथम नेपाली चलचित्रकी नायिका । त्यतिबेला विवाह गर्दा साथी भाइले पनि अब माइकलले के गर्न लाग्यो ? सिनेमामा नाच्ने केटीसँग विवाह गरेर बर्बाद गर्न लाग्यो भनेर आफूलाई जिस्क्याउन थालेको कुरा उहाँ स्मरण गर्नुहुन्छ । उहाँ भुवन चन्दलाई नेपालको ठूलो सम्पत्ति ठान्नुहुन्छ । त्यतिबेलाको समाजसँग विद्रोह गरेर बाहिर निस्किएर अन्य महिलालाई पनि प्रेरणा दिन भुवन चन्द सफल भएको कुरा माइकल चन्द बताउनुहुन्छ ।
हालसम्म तीन दर्जन नाटक, रेडियोनाटक त्यत्तिकै सङ्ख्यामा एवम् दर्जनभन्दा बढी टेलिफिल्म अनि तीसवटाभन्दा बढी चलचित्रहरूमा निरन्तर रूपमा अभिनय गर्दै आउनुभएकी भुवन चन्दको आजको जीवन निकै सुखदायी, आनन्ददायी र सौखिन किसिमले बितिरहेको छ । उहाँका तीन छोरी अमेरिकामा अध्ययनरत छन् भने आफ्ना पति सञ्चारकर्मी माइकल चन्दसँग काठमाडौंको महाराजगन्जमा बस्दै आउनुभएकी भुवन चन्दलाई यो मुलुकले सधैं सम्मान गर्न सक्नुपर्छ । भावी पुस्ताका लागि भुवन चन्द थापा एउटा अध्ययन, दस्तावेज र उदाहरणीय कलाकार हुन् भन्दा समर्थनमा ताली नबजाउनेहरू शायदै होलान् ।

ब्युटिसियनबाट हिरोइन
करिब डेढ दशक जति लुजा ब्युटीमार्फत हजारौँलाई सुन्दर बनाउँदै आएकी नमिता शर्मा अब सिनेमाकी नायिका बनेकी छिन् । उनी आफैं पनि निर्मात्री भएको चलचित्र त्यो दस घन्टा अब प्रदर्शनको अन्तिम तयारीमा जुटेको छ । असार १० गतेदेखि नेपालभरका दलहरूबाट प्रदर्शनमा आउने त्यो दस घन्टामार्फत दर्शकहरूले राम्रो चलचित्र कस्तो हुन्छ भन्ने आभाष पाउन सक्ने कुरा उनले बताइन् ।
अनुहार र शरीरको छालामा आएको रोगको निवारण गरेर धेरैको वाहवाही बटुलेकी नमिता ‘त्यो दस घन्टा’ चलचित्रमार्फत भने नेपाली चलचित्रप्रेमी दर्शकहरूको मन जित्ने कुरातर्फ ढुक्क देखिन्छन् । ‘साँच्चै ! एउटा राम्रो चलचित्रमा हुनुपर्ने आधारभूत कुरालाई हामीले यो चलचित्रमा समेटेका छौँ । मिहिनेत राम्रो गरेका कारण सफलता पनि राम्रै हात लाग्ने विश्वास मैले लिएको छु,’ नमिताले भनिन् ।
नमिता आफूले रहरले चलचित्र निर्माण गरेको होइन भन्छिन् । उनी थप्छिन्, ‘अब सिनेमा निर्माणलाई व्यावसायिक रूपमा अगाडि बढाउने योजनामा छु । त्यो दस घन्टा रिलिजपछि अर्को नयाँ चलचित्रको निर्माणको तयारीमा पनि हामी लागिसकेका छौँ ।’
निरन्तर रूपमा नेपाली सिनेमा हेर्दै आएका दर्शकहरू मात्र नभएर फरक खालका दर्शकहरूलाई पनि त्यो दस घन्टाले हलतिर तान्ने विश्वास नमिताले लिएकी छिन् ।

पर्यटकीय गाउँ सिउरुङमा महोत्सव
लमजुङको पर्यटकीय सिउरुङ गाउँमा आयोजना गरिएको ‘छैटौँ सिउरुङ महोत्सव-२०६८’ सम्पन्न भएको छ । समुद्री सतहदेखि एक हजार आठ सय ५४ मिटरको उचाइमा रहेको सिउरुङ गाउँको महोत्सवमा गुरुङ कला तथा संस्कृति झल्कने घाँटु, सोरठी, कृष्णचरित्र, सारङ्गीनाचलगायत सांस्कृतिक झाँकीहरू पनि प्रदर्शन गरिएको थियो । महोत्सवलाई सिउरुङका बासिन्दाले मात्रै नभई वरपरका गाउँ, गाविस तथा गोरखा, तनहुँ, मनाङका बासिन्दाले समेत अवलोकन गरेका थिए भने विभिन्न हस्तकलाका सामग्रीहरूको प्रदर्शनीका साथै खाना महोत्सव, कृषि, जडीबुटी, चोयाबाट निर्मित भकारी, डोको, स्याखु तथा चर्खा, झोला, पछ्यौरा, ऊन र धागोबाट निर्मितलगायतका सामग्रीको प्रदर्शनी गरिएको सो महोत्सवमा राष्ट्रिय कलाकार कुन्ति लिम्बूको नृत्य महोत्सवमा विशेष आकर्षणको केन्द्रबिन्दु बनेको थियो । त्यस्तै कलाकारहरू शान्ति गुरुङ, पद्मा घलेलगायतका कलाकारले आ-आफ्नो प्रस्तुति प्रदर्शन गरेका थिए ।
सिउरुङका बासिन्दाले ०६२ सालदेखि हरेक वर्ष महोत्सवको आयोजना गर्दै आएका छन् । लमजुङ सदरमुकाम बेसीसहरबाट झन्डै एक दिन लाग्ने सिउरुङमा पर्यटकका लागि २० घरमा होमस्टेको व्यवस्था छ । प्राकृतिक छटाले भरिपूर्ण र संस्कृतिले धनीे गाउँमा अहिलेसम्म तीन हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्रिसकेका छन् । यो पर्यटन वर्षमा दोब्बर पर्यटक भित्र्याउने लक्ष्य रहेको बताइन्छ । ग्रामीण पर्यटनको कारण गाउँमा बूढापाका, आमा समूह र युवायुवती सबैले काम गर्ने अवसर पाएका छन् । गाउँमा वर्षेनी हजारौँ स्वदेशी तथा विदेशी पर्यटक आउने र लाखौँ आम्दानी हुन थालेपछि गाउँमै उनीहरूलाई यो अवसर मिलेको हो । स्थानीय कला संस्कृतिको संरक्षण र सर्म्बर्द्धन तथा स्थानीयस्तरमा उत्पादित घरेलु वस्तु साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन गरी पर्यटन वर्ष सफल बनाउन महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक उमरबहादुर गुरुङले बताए ।-छविलाल बगाले

माइन्ड म्यानेजमेन्ट कार्यशाला
प्रबन्धन गुरु आचार्य श्री स्वामी ध्रुवले गत जेठ २६ गते युनाइटेड टेलिकम लिमिटेडमा एकदिवसीय माइन्ड म्यानेजमेन्ट कार्यशाला सञ्चालन गर्नुभयो । पचास कर्मचारीले सहभागिता जनाएको सो कार्यशालामा स्वामी ध्रुवले आत्मविश्लेषणबारे प्रवचन दिनुभएको थियो भने प्रश्नोत्तर कार्यक्रमका साथ उहाँद्वारा सहभागीलाई ध्यान पनि सिकाइएको थियो ।

भीमनिधि तिवारीका गजल गायन
भीमनिधि तिवारीको शतवारि्षकी आरम्भ उठानसँगै तिवारीद्वारा रचित गजल गायन प्रज्ञा-प्रतिष्ठानमा गरियो । तिवारीका गजलमा सङ्गीतकार बुलु मुकारुङ र राई नवीनको सङ्गीतमा गणेश पराजुली, रूपकुमार राई, निशा देसार, पुष्पा पौडेल, विनिता केसीले प्रत्यक्ष गायन गरेका थिए भने जीवन राई, नगेन राई, सञ्जीव बराइलीले वाद्यवादनमा साथ दिएका थिए । उपकुलपति बैरागी काइँलाले उद्घाटन गरेको कार्यक्रम डा. तारानाथ शर्माको सभापतित्वमा सम्पन्न भएको थियो । तिवारीको शतवारि्षकी यस वर्षभरि नै मनाइने भीमनिधि तिवारी साहित्य समितिले बताएको छ ।

प्रधान र गिरीलाई मधुपर्कसम्मान
मधुपर्कसाहित्यिक मासिक पत्रिकाले वर्षेनी प्रदान गर्दै आएको मधुपर्कसम्मान २०६८ सालका लागि वरिष्ठ सहित्यकार परशु प्रधान र कवयित्री डा. बानिरा गिरीलाई प्रदान गरेको छ । उक्त मधुपर्कसम्मान गद्यतर्फ आख्यानकार परशु प्रधानलाई र पद्यतर्फ डा. बानिरा गिरीलाई दिइएको हो । मधुपर्कमासिकको २०२५ सालमा प्रकाशित सातौँ अङ्कमा साहित्यकार प्रधान र २०२६ सालको अङ्कमा डा. गिरीको रचना प्रकाशित भएको कार्यक्रममा बताइएको थियो । सम्मानित दुई मूर्धन्य स्रष्टालाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
सम्मानित स्रष्टाहरूलाई जनही १५ हजार पुरस्कार पनि प्रदान गरिएको छ । सोही कार्यक्रममा प्रमुख अतिथि सत्यमोहन जोशीले मधर्ुपर्कमा प्रकाशित रचनाहरूमध्येबाट छनोट गरी प्रकाशित गरेको प्रतिनिधि कथासंग्रह, प्रतिनिधि नियात्रासंग्रह तथा प्रतिनिधि हास्य-व्यङ्ग्य संग्रहको पनि विमोचन गर्नुभयो ।
कार्यक्रममा साहित्यसँग सम्वद्ध व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

अनाथ बालबालिकाका लागि च्यारिटी शो
नेपाल लोकतान्त्रिक युनेस्को महासङ्घ काठमाडौंद्वारा आयोजित ‘तिम्रो मायामा’ नामक नेपाली कथानक चलचित्रको च्यारिटी शो गुण सिनेमा हल काठमाडौंमा सम्पन्न भयो । सुशीला शिशु सर्म्बर्द्धन केन्द्र, कोटेश्वर तथा नेपाल युनेस्को आवाज नामक मासिक पत्रिकाको सहयोगार्थका लागि गरिएको उक्त च्यारिटी शोमा सुशीला शिशु सर्म्बर्द्धन केन्द्रका बालबालिकासहित १५० भन्दा बढीको सहभागिता रहेको थियो ।
बालाजी फिल्म्सको ब्यानरमा निर्माण गरिएको तथा राजेश विश्वकर्माद्वारा निर्देशित उक्त चलचित्र नेपाल अधिराज्यभरिका जिल्लामा राम्रो सफलताका साथ प्रदर्शन भइसकेको छ । ‘विद्यार्थी जीवनमा प्रेम सही कि गलत’ भन्ने मूल विषयवस्तुमा आधारित उक्त चलचित्र राम्रो भएको र यस्ताखाले चलचित्र आगामी दिनमा पनि हेर्न पाउने इच्छा सहभागीहरूले व्यक्त गरेका थिए ।