नेपाललाई इसाई धर्मको नयाँ उपनिवेश बनाउने चलखेल

नेपाललाई इसाई धर्मको नयाँ उपनिवेश बनाउने चलखेल


– नकुल काजी

आजको विश्वले अतुलनीय वैभव मानिरहेको भौतिक विज्ञानको अङ्कुरण ‘अध्यात्म विज्ञान’द्वारा निर्दिष्ट चिन्तनमा भएको हो र हिन्दू ऋषि–महर्षिहरूको चिन्तनभूमि नेपालका हिमाल–कन्दरा हुन् । यसकारण सनातन हिन्दू सांस्कृतिक अमर संस्कारद्वारा निर्देशित देशभक्त–जातीय स्वाभिमानी नेपाली जीवनदर्शनले नै समूल विश्वास पोसेको देवभूमि, विश्वको सर्वोच्च शिखरको शीतल समीरले धन्य एवम् भगवान् बुद्ध, सीता र भृकुटीका जन्महरूले समेत अभिशक्त नेपालको प्राग ऐतिहासिक दर्शनलाई अब वैदेशिक वैधर्मको अतिक्रमण स्वीकारेर कुरूप तुल्याउन वर्तमान राज्यको मूल स्पन्दन नै तदारुकताका साथ उन्मुख देखिनु सर्वथा राष्ट्रिय दुर्भाग्य मानिनुपर्ने खण्ड आइपरेको छ । राज्यको यो हर्कतले विश्वका कुनै पनि शक्तिसँग नझुक्ने देशभक्त वीर–वीरांगनाहरूका स्वर्ण अक्षराकृत इतिहासलाई नै पनि लज्जित तुल्याएको छ । नेपालीका अणु–अणुमा निहित वंशाणुगत भावधारालाई शासकीय शक्ति सुदृढीकरणबाट समृद्ध भइने राजनीतिक स्वार्थद्वारा अभिभूत दुष्कर्म नेपाल भूमिमै मञ्चित गराइनु नेपाली जातीय एवम् राष्ट्रिय सांस्कृतिक मौलिकताका पक्षधर ९२ प्रतिशत ओमकारमार्गी र ८४ प्रतिशत हिन्दूमार्गीका आँखामा बिझाएको छ । वस्तुतः यो हर्कत प्रकारान्तरले उनीहरूकै हकमा आत्मघाती सिद्ध हुने मात्र छैन, यस कर्मकाण्डका तारतम्यकर्ता अगुवा नेपालीले पुनः लोकको अपनत्व, जो राजनीतिको उपल्लो सम्पत्ति हो, आर्जन गर्ने बाटो पनि आफैँ थुन्ने काम पनि गरेका छन् यस घटनामार्फत ।

नेपालमा क्रियाशील र साइनबोर्ड अथवा सभा–पुस्तिकामा मात्र सीमितसमेत ४५ हजारभन्दा बढी एनजीओ÷आईएनजीओ भएको तथ्याङ्क छ । एकातिर यी एनजीओहरूमध्ये लगभग ८५ प्रतिशत सम्बन्धित क्षेत्र–क्षेत्रका इसाई चर्चहरूका अधीनमा छन् भने अर्कातिर तीमध्ये ६५ देखि ७० प्रतिशत साबिक एमालेका तत्तत् क्षेत्रका नेता–नायक–अगुवाहरूका पकडमा छन् भनिन्छ । सजिलो आर्जनबाट व्यक्तिविशेष समृद्ध बन्ने लालसाले प्रेरितहरूबाट देशका महानगर, शहर–बजार र दूरदेहातसम्म स्थापित एनजीओहरू नै इसाईहरूको अतिक्रमणकारी खुट्टो टेक्ने धरातल हुन् भन्ने यथार्थपरक विश्लेषण पनि नभइरहेका होइनन् । र, त्यही धरातल टेकेर नेपाल र नेपालीको मौलिक सनातन सांस्कृतिक पहिचान धमिल्याउन र बिटुल्याउन इसाईहरूलाई सजिलो भइराखेको विश्लेषण पनि भइरहेकै छ । अहिले सरकार पनि साबिक एमाले नेता बहुल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकाधिपत्य स्वेच्छारितामा उभिएको समय–संयोग जुटेको अवस्था हो र इसाई धर्मको विश्वजनीन अतिक्रमणकारी एवम् धर्मका नाममा प्रभुत्व विस्तार गर्ने स्वभावका लागि ‘के खोज्छस् …. आँखो’ भनेझैँ भएको होइन भन्ने तर्क सम्भवतः अधिनायकीय हुन सक्ला, सरल बोधगम्य त छँदैछैन ।

इसाईहरूको आफ्नै देश र नेपालबाहेक बाँकी विश्वमा बदनाम युनिभर्सल पिस फेडेरेसनले यस देशको राजधानीस्थित विश्वका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थाका वरेण्य श्री पशुपतिनाथकै सामु इसाई धर्मको प्रचार–प्रसार एवम् यस भूखण्डमा प्रभाव विस्तार खातिर एसिया प्यासिफिक सम्मेलन हुन कसरी सहज भयो ?

अन्ततः साबिक एमालेका वरिष्ठ नेता कमरेड माधवकुमार नेपाललाई संयोजक मुकरर गरी, नेकपाको एकल लगामद्वारा नियन्त्रित राज्यसत्तालाई नै उपयोग गर्न र यस हिन्दूबहुल नेपाल भूमिलाई पनि बिटुल्याउन इसाई धर्म विस्तारवादी बदनाम तत्वहरू सफल भएकै हुन् । यद्यपि, नेपाली सत्तासीनहरूको मति सप्रिन सकेन भने र ‘हिन्दू’, ‘सनातन धर्म’ र ‘हिन्दुत्व संरक्षण’का नाममा रहेका दर्जनौँ संस्था, मञ्च, परिषद्, महासंघ, सेनादिको मौसमी चुरिफुरी धार्मिक सहिष्णुताको झिनो र विवश बहानामा लुते–लुखुरे हुने हो भने इसाईहरूको यो सफलता अग्रगमनको सफल शुरुवात पनि हुन सक्नेछ, जुन नेपाली हिन्दू सांस्कृतिक संस्कार र सनातन परम्पराको अवसानको दुर्भाग्यपूर्ण भविष्यमा अनुवाद नभई छाड्ने छैन ।

इसाईहरूको आफ्नै देश र नेपालबाहेक बाँकी विश्वमा बदनाम युनिभर्सल पिस फेडेरेसनले यस देशको राजधानीस्थित विश्वका सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूको आस्थाका वरेण्य श्री पशुपतिनाथकै सामु इसाई धर्मको प्रचार–प्रसार एवम् यस भूखण्डमा प्रभाव विस्तार खातिर एसिया प्यासिफिक सम्मेलन हुन कसरी सहज भयो ? यस प्रश्नको उत्तरका प्रकरी र कथालिका सूक्ष्म रूपमा केलाउने हो भने यो बदमासी र दुष्कर्मको एउटा दुरुन्त महाभारत नै बन्न सक्ने र यस देशलाई क्यान्सरझैँ फैलिएको भेटिन सक्छ । यो अवस्थाको प्रत्यक्ष जिम्मेवार जोसुकै भए पनि अप्रत्यक्ष रूपमा अझ ठूलो जिम्मेवार हिन्दू सम्प्रदायका शाखा–प्रशाखा, भारतमा जन्मिएर बजार (चरन) खोज्दै तत्काल ‘विश्वको एक मात्र हिन्दूराष्ट्र नेपाल’मा आई जमेका झन्डै दुई दर्जन हिन्दूमार्गी धर्म (जसमा आफूलाई शुद्ध सनातन हिन्दू धर्म–सम्प्रदाय मान्ने श्रीकृष्ण प्रणामी धर्म पनि अग्रणी छ) हरू छन् । देशमा यत्रो ठूलो धार्मिक विग्रहको खुलेआम सूत्रपात गराइने वैधर्मी चुनौती सरकारी संरक्षण र सहयोगमा मञ्चन हुँदासमेत ती धार्मिक झुण्डहरूले झारा टार्ने झिनामसिना मरियल स्वर निकाल्नुसिवाय तात्कालिक प्रभावी तथा अतिक्रमण नियन्त्रक आवाजको हावाहुरी चलाउन सकेनन्, जुन सर्वथा अपेक्षित थियो ।

झापामै पनि सनातन धर्म सेवा समितिलगायत हिन्दूधर्म रक्षाको विधान बनाएर ओथारा बसेका र साइनबोर्डधारी केही सङ्घ–संस्था पक्कै हुनन् । त्यस बगालमा एउटा हिन्दू एकता मञ्च नामे संस्था प्रहरी–प्रशासनको घेराभित्र बेलाबखत झुल्किने पनि गरेको पाइन्थ्यो । त्योलगायत झापा जिल्लामै यस घटनाको सेरोेफेरोमा तमाम आफूलाई कट्टर हिन्दूवादी कहलाउन उद्यत् बन्नेहरू शिवसेनाजस्तै कता झोक्राए कता ! तीन नेपाली महाप्राज्ञमध्ये बालकृष्ण समले कुनै कृतिमा ‘वीर गान्धर्व भाग्दैन, लुक्छ’ भनेर निश्शेष व्यङ्ग्य गरेका छन् । तिनै शब्दहरू पैँचो लिएर भन्नुपर्दा ‘बहुसङ्ख्यक हिन्दूहरूका धार्मिक नेता–अगुवा नेपालबाट किन पो भाग्थे र, पुच्छर डोलाएर लुकेका होलान् ।’ सहज अवस्थामा चाहिँ फेरि गर्धन र चल्नीका नशा फुलाएर हिन्दूधर्मको नाममा खाइजिलो मिलाउनदेखि विलासपूर्ण जीवनको मेलो मिलाउनसम्म चङ्खे–चतुरेहरू अघि सर्लान् । धर्मलाई आयमूलक व्यवसाय बनाउने कथित धार्मिक अगुवाहरूको कर्तुतले समेत हिन्दूधर्मले पीडित प्रताडित हुन परिरहेको र वैधर्मीले चौका–छक्का हान्ने अवसर पाइराखेको नेपथ्य अब त छर्लङ्गै छ । साप गइसकेपछि गोहो कुट्ने काम अब धमाधम हुनेछन्, जस्तोः मङ्सिर २२ गते बिर्तामोडमा भयो । त्यसपछि दुम दबाएर कुना पसेका अरू हिन्दू धर्म–व्यवसायीहरू पनि साखुल्ले भएर निस्केलान् नै !

चीन र भारतजस्ता ठूला भूगोलले छुने सार्कअन्तर्गतका साना राष्ट्रहरूमा समेत प्रचार–प्रसारको बाछिटा पुऱ्याउन सकिने र तिनका माध्यमबाट प्रभाव क्रमिक रूपमा हुर्काउन सकिने गुञ्जायस देखेरै शायद, विशेषतः सानो, विपन्न र विकासमा पछि परेको नेपालमा युनिभर्सल पिस फेडेरेसनले एसिया प्यासिफिक सम्मेलन नेपालमा नारेको हो । बदनाम युनिभर्सल चर्चकी प्रमुख हक जा हान मुन (जो आफूलाई विश्वमा विभिन्न खालका हिंसा बढेको हुँदा तिनलाई रोक्न आफू पृथ्वीमा आएको दाबी गर्दै आफू येशु ख्रिष्टकी छोरी भएको दाबी गर्छिन्) वस्तुतः कोरियाली धार्मिक नेता सन म्यङ मुनकी पत्नी र १४ सन्तानकी आमा हुन् । यिनै नेतापत्नी महिलाले प्रदान गरेको एक लाख डलरसहितको लिडरसिप एन्ड गभर्नेन्स अवार्ड (स्वर्णप दक) नेपालको संविधानको धारा–२७७ लाई बेधक कुल्चिँदै राष्ट्रवादी बकवेदान्ते मुकुटले सुसम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीले सगौरव ग्रहण गरिसकेका छन् ।

एकातिर संस्कृति निर्वाहको सन्दर्भमा रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती लिएर आउन लागेका योगी आदित्यनाथको बाटो छेक्ने प्रयत्न गरिन्छ र यसबारे सरकार मौन बस्छ भने अर्कातिर इसाई धर्मको प्रचारका लागि खुल्लमखुला कार्यक्रम–तालिका बोकेर आएका विवादास्पद र बदनाम पात्रहरूलाई सरकार रेड कार्पेटमय स्वागत गर्छ !

अब सम्भवतः नेपालबाहेक नजिकका सार्क राष्ट्रहरूमा समेत विपन्न जनताका छाप्रा र झुपडीहरूमा युनिभर्सल चर्चमातहतका मनुवाहरू धार्मिक संवेदनशीलताको आर्थिक सहयोगरूपी कोसेली बोकेर घुस्रिन सजिलो भएको छ । र, त्यस्ता घुस्रियाइले ती अबोध विपन्नहरूको धार्मिक, सांस्कृतिकलगायत पैतृक संस्कारगत मौलिक पहिचानका सम्पूर्ण अवयवमा आर्थिक दासता कोच्दै जानेछन् । आर्थिक सम्मोहन सहजै प्रभावी हुने पूर्वी गोलाद्र्धका औसत देशका स्वभाव बुझेर नै शायद यसबेला इसाई धार्मिक अतिक्रमणकारीहरू यतातिर उन्मुख भएका हुनन् । यिनको अतिक्रमण शैली सन् १७५७ मा व्यापारको निहुँमा भारत प्रवेश गर्ने इस्टइण्डिया कम्पनीकै नाकनक्सासरह छ । माथि उल्लेख गरिएझैँ कुनै धार्मिक नेतापत्नी र १४ सन्तानकी आमा हक जा हान मुनलाई प्रभु येशुकी पुत्री मानेर नेपालका १५ सय हिन्दूदम्पती त उनै मुनले अभिषेक गरेको पवित्र स्कचको छिटाले धन्य भएका होलान् !

कथित ‘ईश्वरकी पवित्र पुत्री’बाट आशीर्वाद लिनुअघि बलात्कृत भई क्रूरतापूर्वक मारिएका जनताका छोरीहरूलाई न्याय दिलाउनेतर्फ लागेको भए अनि तमाम राज्य संयन्त्रमा ढसमस्स बेथिति हटाउन कार्यरूपमै लागेको भए यो सरकार या नेकपा नेतृत्व सम्मानयोग्य बन्ने थियो । तर, मुलुकलाई अन्यायको गर्तमा जाकेर संविधानतः ‘धर्मनिरपेक्ष’ तुल्याइएको कारणबारे चित्तबुझ्दो जवाफ अहिलेसम्म जनतालाई राज्यका हर्ताकर्ता अवतारीहरूले दिन सकिरहेका छैनन् । यसै सेरोफेरोमा विरोधाभास कतिसम्म छ भने, एकातिर संस्कृति निर्वाहको सन्दर्भमा रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती लिएर आउन लागेका योगी आदित्यनाथको बाटो छेक्ने प्रयत्न गरिन्छ र यसबारे सरकार मौन बस्छ भने अर्कातिर इसाई धर्मको प्रचारका लागि खुल्लमखुला कार्यक्रम–तालिका बोकेर आएका विवादास्पद र बदनाम पात्रहरूलाई सरकार रेड कार्पेटमय स्वागत गर्छ ! तमाम नेपालीको खबरदारीलाई पूरै उपेक्षा गर्दै प्रधानमन्त्री स्वयम् आफ्नो निवासस्थान नै छोडेर तिनै इसाईयत् विवादास्पद पात्रहरूको आश्रयस्थलमा निदाउन पुग्छन् । ‘निरपेक्षता’को नाममा यस्तो सरकारी रवैयालाई उदारताभन्दा पनि अमूक धर्मप्रति ‘बफादारी’को सङ्केतका रूपमा अथ्र्याइएको पाइन्छ ।

नेपाली हिन्दुवादी नेता महाशय कतिपयका लागि त अब हिन्दुत्वप्रतिको अपनत्व भावलाई देखाएर कथित हिन्दू जागरणको अभियानका नाममा आर्थिक, सामाजिक र राजनीतिक चलखेल गर्ने अवसर जुटेको हुँदो हो । किनभने, नेपालमा हिन्दुत्व रक्षाको आवाज जहिले–जहिले र जति–जति मुखर भए, त्यति–त्यति नै यस राष्ट्रलाई धर्मनिरपेक्ष बनाउन आर्थिक लेनदेन चलाउने भनेर शंका गरिएका पश्चिमा इसाई देशहरूका सामू सो चलखेलकारी नेपाली पात्रहरूले उनीहरूलाई ‘हिन्दू धर्मसापेक्ष नेपालीहरूले अप्ठ्यारोमा पार्दैछन्’ भनेर किस्ताबन्दीमा डलर÷यूरो÷पाउण्ड कुम्ल्याउने मौका पाउने गरेको अनुमान नभएको कहाँ हो र ! यसरी यी दुबैतिरका हरकतलाई समग्रमा हेर्दा, चंखे–चतुरे इसाई गोराहरूले यो नेपाल भूमिमाथि धार्मिक प्रभाव जमाएपछि यस्तै प्रभाव यहीँबाटै यस भूखण्डका अन्य ठूला–साना सबै राष्ट्रमा भित्रभित्रै सञ्चालन गर्ने गुरुयोजना बनेको हुन सक्छ । यसै पनि नेपाललाई धार्मिक उपनिवेश बनाउने रणनीति प्रयोगको शिलान्यास त गत २०६३ सालको जेठ १५ गते नै भएको होइन र ?

(लेखक झापाका अग्रज पत्रकार हुन् ।)