सौन्दर्यकलाकी पारखी मञ्जु

सौन्दर्यकलाकी पारखी मञ्जु


नेपालमा ब्युटिपार्लर व्यवसायको इतिहास कति पुरानो छ, यो एउटा अध्ययनको अलग पाटो हो । तर, आजभन्दा लगभग दुई दशकअघि अर्थात् २०५६ सालमा ‘नेपाल ब्युटिपार्लर सङ्घ’ स्थापना भएको थियो, जसको अगुवा भूमिका निर्वाह गरेकी थिइन् कला हर्बल व्युटी होम सञ्चालन गर्दै आएकी मञ्जु सापकोटा दुलालले ।

दुई दशकदेखि सौन्दर्य कला व्यवसायमा क्रियाशील मञ्जुलगायतका सक्रिय सौन्दर्यकला व्यवसायीले नै देशभर छरिएर रहेका सौन्दर्य व्यवसायीलाई एकत्रित गरी ०६४ सालमा ‘सौन्दर्य कला व्यवसायी सङ्घ’ स्थापना गरेका थिए । चर्चित ब्युटिसियन कमला श्रेष्ठसँगको बृहत् छलफलपछि मञ्जु सापकोटालगायतले सङ्घ स्थापना गरेका थिए । उनी ‘सौन्दर्य कला व्यवसायी सङ्घ’की संस्थापक महासचिव पनि हुन् ।

जन्मथलो झापा भएकी मञ्जुले सौन्दर्य व्यवसायबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सोचकै आधारमा पछि राजधानी काठमाडौंमा आफूलाई सक्रिय तुल्याइन् । विराटनगरको जनता नमुना माविबाट स्कुले शिक्षा पूरा गरेकी मञ्जुले उच्च शिक्षाचाहिँ राजधानीकै पद्मकन्या क्याम्पसबाट हासिल गरेकी हुन् । कलेज पढ्दैदेखि ब्युटिसियन पेसामा लागेको उनको भनाइ छ ।

०५८-०५९ सालदेखि विभिन्न टेलिफिल्म तथा चलचित्रमा उनले कलाकारको केस–सज्जाको कामसमेत गरेकी थिइन् । त्यसबेला राजधानीमा हुने फेसन सो तथा मोडलिङ कार्यक्रममा सहभागी मोडलहरूको हेयर ड्रेसरको भूमिका उनले निभाएकी थिइन् । ब्युटिसियन व्यवसायलाई अझै आकर्षक तुल्याउन दक्ष र सीपमूलक तालिम तथा प्रशिक्षण आवश्यक रहेको उनको भनाइ छ । मञ्जुले यदाकदा विभिन्न पत्रपत्रिकामा सौन्दर्य कला सम्बन्धमा कलम चलाएर सौन्दर्य टिप्ससमेत प्रदान गर्दै आएकी छिन् ।

आफूमा रहेको ज्ञान र सीप आफूमा मात्र सीमित नराखी अरूलाई पनि दक्ष बनाउने उद्देश्यले मञ्जुले नेपालमै पहिलोपल्ट ‘ग्ल्यामर ब्युटी स्कुल’ स्थापना गरेकी थिइन् । थाइल्यान्ड ग्ल्यामर स्कुलबाट तालिमप्राप्त शिक्षक झिकाई सो स्कुलमा थ्री डी टेक्नोलोजीमार्फत विद्यार्थीलाई सौन्दर्य प्रशिक्षण दिएको उनी बताउँछिन् । यसै क्रममा पाँच वर्षअघि थाइल्यान्ड ग्ल्यामर स्कुलका प्रिन्सिपललाई नेपाल आमन्त्रण गरी ‘हेयर ड्रेसर शो’ प्रतियोगिता सम्पन्न गरेको पनि उनले जानकारी दिइन् ।

मानिसको शरीरका अङ्गहरू निकै संवेदनशील हुने भएकाले के–कस्ता केमिकल कस्मेटिक्स र हेयर कस्मेटिक्स प्रयोग गर्ने भन्ने विषयमा दक्षता हासिल गरेका सौन्दर्यशास्त्रीबाट मात्र सम्भव हुने तर्क गर्छिन् मञ्जु । सोही कारण ब्युटिसियन पेसामा आउनुभन्दा अघि प्रशिक्षण लिनुपर्ने सुझाव दिन्छिन् उनी । सौन्दर्य व्यवसायमा लाग्ने महिला, पुरुष सबैले यतिबेला राम्रो आयआर्जन गर्ने गरेको मञ्जुको दाबी छ । सेवाग्राहीलाई राम्रो सेवा दिन सके यस पेसामा रहेकाले राम्रो आम्दानी गर्ने प्रस्ट्याउँछिन् उनी ।

आफूले केही बुझ्ने, सोच्ने र कर्म गर्ने गरेदेखि नै सौन्दर्य कलासम्बन्धी व्यवसायमा रुचि राखेकोले भावी जीवन पनि यही क्षेत्रमा लगानी गर्ने, थप सिक्ने–सिकाउने र सौन्दर्य–कलाको माध्यमबाट मानिसको सेवा गर्ने उनको ध्येय छ । उत्साही ब्युटिसियन मञ्जुलाई शुभकामना ।