भोटिङको आधारमा सलमान बने इन्डियन आइडल

भोटिङको आधारमा सलमान बने इन्डियन आइडल


इन्डियन आइडल सिजन–१० को उपाधि हरियाणाका सलमान अलीले जितेका छन् । गत आइतबार सम्पन्न फिनालेमा सलमानले आफ्ना चार प्रतिद्वन्द्वीलाई पछि पार्दै लाइभ भोटिङको आधारमा उक्त उपाधि उपाधि जितेका हुन् । लाइभ भोटिङ आइतबार राति ८ देखि १०.३० बजेसम्म चलेको थियो । उपाधि जितसँगै सलमानले इन्डियन आइडलको ट्रफीसहित २५ लाख भारु र एउटा कार जितेका छन् ।

इन्डियन आइडलको १०औँ संस्करणमा हिमान्चल प्रदेशका अंकुश भारद्वाजले दोश्रो र बंगालकी नीलान्जला रेले तेस्रो स्थान हासिल गरे । नीलान्जला टप फाइभमा पुग्ने एक मात्र महिला थिइन् । उनीहरुलाई नगद पाँच लाख प्रदान गरिएको थियो । त्यस्तै चौथो र पाँचौ स्थानमा रहेका नितिन कुमार र विभोर परासरलाई नगद तीन–तीन लाख प्रदान गरिएको थियो ।

२५ हप्तासम्म चलेको इन्डियन आइडलमा लाइभ भोटमा २ करोड ५५ लाख भन्दा बढी मत प्राप्त भएको थियो । जसमा हरियाणाका सलमान र हिमान्चलका अंकुसले सर्वाधिक भोट प्राप्त गर्दै पहिलो दुई स्थान सुरक्षित गरेका थिए । सलमान र अंकुसबीच भएको फाइनलमा अन्तिममा सलमानले बाजी मार्दै इन्डियन आइडलको ट्रफी जितेका थिए । इन्डियन आइडल १०औं संस्करण प्रतियोगीको प्रतिभाका हिसाबले सबैैभन्दा उत्कृष्ट मानिएको छ । अन्तिम आठ प्रतिस्पर्धि निकै उत्कृष्ट थिए ।

इन्डियन आइडलको फिनालेमा बलिउड स्टार शाहरुख खान, अनुष्का शर्मा, क्याटरिना कैफको उपस्थिति रहेको थियो । उनीहरु हाल प्रदर्शन भैरहेको फिल्म ‘जीरो’को प्रमोशनको लागि आएका थिए । सो क्रममा उनीहरुले संगीतको आनन्द लिँदै प्रतियोगिहरुलाई सफलताको शुभकामना दिए । त्यस्तै, बलिउड फिल्मका चर्चित गायक तथा संगीतकार बप्पी लहरी, महान संगीतकार जोडी लक्ष्मीकान्त–प्यारेललाल, गायिका अल्का याग्निक र बलिउड नायिका शिल्पा सेट्टीको पनि फिनालेमा उपस्थिति थियो ।
फेनालेमा इन्डियन आइडल–१० का जजहरू शेखर ददलानी, जावेद अली र नेहा कक्कडले आफ्नो प्रस्तुती दिएका थिए । त्यस्तै अल्का याग्निक, बप्पी लहरी र जावेद अलीले प्रतियोगिसंगै फाइनलमा प्रस्तुत गरेका थिए ।

भारतीय टेलिभिजनकै सर्वाधिक रुचाइएको र नम्बर एकमा परेको इन्डियन आइडलले हरेक वर्ष उत्कृष्ट गायकगायिका उत्पादन गर्दै आएको छ । इन्डियन आइडलको १०औं संस्करण शुभारम्भ हुँदा कार्यक्रममा तीन जज भएपनि अनु मलिकमाथि ‘मि टु’अन्तर्गत गम्भीर आरोप लागेपछि उनले बीचैमा शो छोड्नुपरेको थियो । त्यसपछि शेखर र नेहाले मात्र इन्डियन आइडलको कमाण्ड सम्हालेका थिए । त्यसको केही सातापछि आयोजकले मलिकको सट्टामा जावेद अलीलाई जजमा नियुक्ति गरेको थियो ।