शैला र शैलेस कारबाहीमा-श्रीविक्रम भण्डारी

शैला र शैलेस कारबाहीमा-श्रीविक्रम भण्डारी


जसको सिङ छैन उसैको नाम तिखे
खेलकुदको कुनै पृष्ठभूमि नभएका तर राजनीतिक शक्तिको आडमा नेपाल पौडी सङ्घको अध्यक्ष बन्न पुगेका समिम मियाँ अन्सारीले गत साता खेलकुदमा अर्को ताण्डव देखाएका छन् । रंगशालादेखि पानीको जारसम्म आर्थिक अनियमितता गरेर चर्चामा आएका अन्सारीले यसपटक नेपालका चर्चित पौडी खेलाडीमाथि कारबाही गरेर चर्चामा आएका हुन् । आफ्नो मुख ऐनामा हेर्नुको साटो ठाडै खेलाडीलाई दोषी ठहर गर्दै गरेको कारबाहीले पौडी खेलको भविष्यसमेत सङ्कटमा परेको छ । समिमले खेलाडीहरूमाथि कारबाही गरेर कसलाई तर्साउन खोजेका हुन् त्यो अहिले बुझिनसक्नु भएको छ । त्यसैले एक पौडी पदाधिकारी भन्दै थिए- कतै यो समिमको नेपाल ओलम्पिक कमिटीमा छिर्ने चाल त होइन ?
तराई मधेस लोकतान्त्रिक पार्टीबाट राष्ट्रिय खेलकुद परिषद्को सदस्य बनेका समिम अर्थात् बब्लुले खेलकुदमा गरेका विभिन्न काण्ड कसैबाट छिपेको छैन । खेलकुदको विकासभन्दा व्यक्तिगत विकासमा लागेका बब्लुले अहिले पनि आफ्नो स्वार्थसिद्ध गर्न शैला राणा र शैलेस राणालाई कारबाही गरेको बुझिएको छ । उनले एनओसीलाई धम्क्याउन र आफू अध्यक्ष रहेको पौडी सङ्घलाई एनओसीमा वैधानिक मान्यता दिलाउन यस्तो चाल चलेको सूत्रले बताएको छ । सूत्रका अनुसार आफूलाई एनओसीको सदस्य बनाउन बब्लुले अध्यक्ष प्रधानसँग गोप्य रूपमा वार्ता गरेको र त्यो असफल भएपछि शैला र शैलेसलाई कारबाही गरेको बुझिएको छ । नाङ्लो ठटाएर हात्ती तर्साउने खेलमा लागेका बब्लुको बद्नियत र कर्तुतले खेलकुदमा नौलो तरङ्ग ल्याए पनि उनी अहिले सिङ नभएका गोरुजस्तै बनेका छन् भन्दा अतिसयोक्ति नहोला । पद लोलुपताका कारण दिन प्रतिदिन गैरजिम्मेवारी कार्य गर्दै आएका बब्लुले अहिले पनि नानीदेखि लागेको बानीलाई नछोड्दा ….लाई भन्दा देख्नेलाई भइसकेको छ ।
खेलकुद मन्त्रालयको जिम्मेवारी एकीकृत माओवादीले सम्हाल्ने पक्का भएपछि केही महिनाअघि मात्रै बब्लु माओवादीमा प्रवेश गरेको चर्चा खेल परिसरमा चलेको थियोे । राखेपको सदस्य पद जोगाउन आफूले खाएको थालमै …..गर्नसमेत पछिनपरेका उनले खेलकुदको ढोका खोलिदिने आफ्नो पार्टी तमलोपामाथि समेत झन्डै गद्दारी गरेका थिए । गुनको बदला गुन लगाउनुको साटो गद्दारी र आफ्नो स्वार्थ पूरा गर्दै आएका बब्बुलाई यतिबेला माओवादीले धोती लगाइदिएको छ । तर्सथ उनको राखेपमा जरो गाड्ने मनसायमाथि पानी फेरेको छ । माओवादीले चैतेहरूलाई पाखा लगाउने अभियान चलाएपछि वल्लो किनारबाट पल्लो किनारमा पुगेका बब्लु अहिले घरका न घाटका बन्न पुगेका छन् । हिजो खेलकुद मन्त्रालयदेखि राखेपसम्म एकछत्र राज गर्दै आएका बब्लु अहिले शक्तिहीन भएपछि विक्षिप्तझैं देखिएका छन् । माओवादीको आडमा खेलकुदमा राज गर्ने उनको चाहनामा तुषारापात र कुठाराघात भएको छ ।
राखेपको मान्यताप्राप्त बब्लुको पौडी सङ्घले शैला र शैलेसलाई कारबाही गर्ने क्रममा नीति-नियम र अनुशासन तोडेको आरोप लगाएको छ । सङ्घले यस्तो गैरजिम्मेवारी हर्कतले भविष्यमा अन्य खेलाडीमा हीनताबोध र नकारात्मक प्रभाव पार्ने खुलासा गर्दै कारबाही गर्नुपरेको जनाएको छ । सङ्घले अन्तर्राष्ट्रिय पौडी महासङ्घको आयोजनामा संयुक्त अरब इमिरेटको दर्ुबईमा गत वर्ष सञ्चालन भएको दसौं फिना वल्र्ड स्विमिङ च्याम्पियनसिपमा सङ्घले सहभागिता नजनाएको र शैला र शैलेसले आफूखुसी भाग लिएकोमा आपत्ति जनाउँदै कारबाही गरेको बताएको छ । साथै उक्त सहभागिताका बारेमा दुईपटक स्पष्टीकरणका लागि दुवै खेलाडीहरूलाई पत्राचार गर्दा पनि उनीहरूले कुनै जवाफ नदिएको पनि खुलासा गरेको छ । तर्सथ नेपाल पौडी सङ्घको विधान २०६४ को परिच्छेद ४ को दफा १५ को ‘च’ अनुसार शैला र शैलेस राणालाई कुनै पनि पौडी प्रतियोगिता तथा पौडी खेलसँग सम्बन्धित गतिविधिहरूमा सहभागी हुन नपाउने गरी दुई वर्षका लागि निष्कासन गरेको बताएको छ । साथै सङ्घले आफ्नै खेलाडीको धज्जी उडाउँदै उनीहरूले विश्व च्याम्पियनसिपमा गरेको प्रदर्शनलाई पनि सार्वजनिक गरेको छ । उक्त विश्व च्याम्पियनसिपमा शैला र शैलेसले ५० मिटर फि्रस्टाइलमा क्रमश: ९७ र ११३औँ स्थान हासिल गरेको कुरा बडो गर्वका साथ खुलासा गरेको छ ।
सङ्घले खेलाडीहरूले नियमविपरीत कार्य गरेको आरोप लगाउँदै खेलाडीहरूलाई कारबाही गरे पनि त्यसको गहिर्‍याइसम्म पुग्नु अहिले आवश्यक भइसकेको छ ।
सर्वप्रथम नेपालमा पौडीको स्थिति कति दयनीय छ, त्यो कसैबाट छिपेको छैन । अझ पौडी सङ्घ विवादमा परी दुई चिरामा विभाजित भइसकेपछि यो खेल अझ अघोगतितर्फ लागेको छ । पौडी खेलाडीहरूले वास्तविक र वैधानिक सङ्घ कुन हो त्यसको पहिचान गर्न नसकेर अन्योलमा परेका छन् । यस्तो अवस्थामा पौडीकै चर्चित र उत्कृष्ट खेलाडीमाथि कारबाही गर्नु कति न्यायसङ्गत हुन्छ सायद यो सङ्घका पदाधिकारीहरू बुझ्नुपर्ने थियो । तर, यहाँ यस्तो भएन, सङ्घले खेलाडीहरूले खेल्न पाउने हकमाथि धावा बोल्दै उनीहरूको खेल जीवन समाप्त पार्ने काम गरेको छ । कहिलेकाहीँ मात्र आउने अवसर र त्यसमा पनि प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनुपर्ने अवस्थाको सिर्जना भएपछि खेलाडीहरूले एउटा बाटो चुन्ने अवसर पाउनुपर्छ । अझ पौडी सङ्घ राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको किचलोमा अल्झिरहेको अवस्थामा खेलाडीहरूलाई बलिको बोका बनाउन कदापि मिल्दैन । खेलाडीलाई पौडी सङ्घले कारबाही गरेकोबारेमा खेलकुदमन्त्री हितबहादुर तामाङलगायत कसैलाई पनि जानकारी नभएको राखेपका उपाध्यक्ष पीताम्बर तिमिल्सिनाले बताएका छन् । तिमिल्सिनाले राखेपको बोर्ड बैठक नबसी खेलाडीलाई कारबाही गर्न नमिल्ने बताउँदै छिट्टै यो विषयमा छलफल हुने बताए ।
कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न जाँदा सङ्घको स्वीकृति र ओलम्पिक कमिटीको सहयोग चाहिन्छ । तर, यहाँ बुझ्नुपर्ने कुरा के छ भने जब दुवै संस्थाबीच सुमधुर सम्बन्ध छैन र अर्को पनि अन्तर्राष्ट्रिय मान्यताको पौडी सङ्घ छ भने सो संस्थामार्फत खेलाडीहरूले सहभागिता जनाएका हुन् भने त्यो नियमविपरीत, अवैधानिक र गैरकानुनी कदापि हुदैन । अझ यो विषयमा परिषद्ले कुनै टिप्पणी नगरेको अवस्थामा सङ्घले आवेगमा आएर वा ओलम्पिक कमिटीसँग बदला लिन खेलाडीलाई कारबाही गर्न कदापि मिल्दैन । स्मरण छ, सम्माननीय सर्वोच्च अदालतले ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको एनओसीलाई अवैधानिक घोषणा गरे पनि त्यहीँ ओलम्पिक कमिटीमार्फत राखेपले समेत आत्मसमर्पण गरेर ग्वान्झाउ एसियाडमा खेलाडी र पदाधिकारीहरूलाई पठाएको इतिहास हाम्रोसामु छ । यस्तो अवस्थामा अर्थात् देशकाल, परिस्थितिअनुसार खेलाडीहरू त्यही ओलम्पिक कमिटीमार्फत खेल्न गए भन्दैमा खेलाडीलाई कारबाही गर्न कदापि मिल्दैन । अझ अध्यक्ष बब्लुले त यो कुरालाई राम्रोसँग बुझ्नुपर्ने हो । उनी ग्वान्झाउ एसियाडमा प्रधानकै ओलम्पिक कमिटीमार्फत ‘डेपुटी सेभ द मिसन’ भएर जानुका साथै भत्ता र सुविधाको उपभोग गरेका थिए । आफूले त्यो संस्थाबाट विदेश जाँदा वैधानिक हुने तर खेलाडीहरू जाँदा अवैधानिक । यो त अलि सुहाएन है बब्लुजी ? तर्सथ खेलाडीलाई कारबाहीको निर्णय गर्ने तपाईंले सर्वप्रथम आफूलाई कारबाही गर्नुपर्छ त्यसपछि मात्रै खेलाडीलाई । अन्यथा तपाईंको यो निर्णय बकम्फुस्से मात्रै हुनेमा दुईमत छैन ।

भाउजूसँग यौनसम्बन्ध, रायन गिग्सले बेलायत छोडे
गत साता बेलायती फुटबलमा सनसनीपूर्ण घटनाको खुलासा भएको छ । जसले गर्दा म्यानचेस्टर युनाइटेडमा चर्चित खेलाडी रायन गिग्सले बेलायत छोड्नुपरेको छ । विश्वचर्चित समाचारपत्र ‘द सन’ का अनुसार गिग्सका दाइ रोड्री गिग्सकी पत्नी नतासाले एक वेबसाइड ‘न्यु अफ दि वल्र्ड’मा गरेको कुराकानीमा रायन गिग्ससँग आफ्नो अवैध सम्बन्ध रहेको खुलासा गरेपछि यो कुराको रहस्योद्घाटन भएको थियो । उक्त कुराकानीमा नतासाले विगत आठ वर्षदेखि रायनसँग आफ्नो यौनसम्बन्ध कायम भइरहेको खुलासा गरेकी थिइन् । यो कुराको पुष्टि समाचारपत्र ‘डेली एक्सप्रेस’ र ‘डेली स्टार’ले पनि गरेका छन् ।
आफ्नै भाउजूसँगको यौनसम्बन्धको खुलासा स्वयम् भाउजूले नै गरेपछि म्यानुका सुपरस्टार गिग्स बेलायत छोड्न बाध्य भएका हुन् । भाउजूसँगको आफ्नो अवैध सम्बन्धका बारेमा अहिलेसम्म मुख नखोलेका गिग्सले मिडियाहरूसँग बच्न बेलायत छोडेको समाचारपत्रहरूले बताएका छन् । गिग्स अहिले कहाँ छन् त्यसबारेमा कसैलाई जानकारी नभए पनि उनी अमेरिकातर्फ लागेको अनुमान गरिएको छ । यो घटनाले अहिले बेलायती फुटबलमा खैलाबैला मच्चिएको छ भने म्यानचेस्टर युनाइटेडलाई नराम्रो धक्का लागेको छ । योभन्दा अघि पनि गिग्स सुपरमोडल इमोगेनसँगको अवैध सम्बन्धका कारणले चर्चामा आएका थिए । इमोगेनसँगको अवैध सम्बन्धले उनको खेलजीवन निकै प्रभावित बन्न पुगेको थियो । पारिवारिक दबाब बढ्दा गिग्स मानसिक रूपमा विचलित हुँदै सक्रिय व्यावसायिक खेलजीवनबाट सन्न्यास लिने अवस्थामा पुगेका थिए ।
आफ्नी पत्नी नतासाको भाइ रायन गिग्ससँगको अवैध सम्बन्धको खुलासा भएपछि रोड्रीले नतासासँग सम्बन्धविच्छेद गरेका छन् । दाइले भाउजू नतासासँग सम्बन्धविच्छेदपछि रायन गिग्स अझ समस्यामा परेका छन् । ३७ वषर्ीय रायनसँग अहिले आफ्नो सफाइका लागि बोल्ने कुनै शब्द छैन । यसैले अहिले रायनको फुटबल करियर समाप्त भएको अड्कल काटिन थालिएको छ । यो रहस्योद्घाटनपछि व्यावसायिक रूपमा रायनलाई फुटबल खेल्न निकै दबाब हुने फुटबल विज्ञहरूले बताएका छन् । नतासाले आफ्नो आठ वर्षको सम्बन्धका क्रममा रायन र आफू निकै नजिक हुन पुगेको पनि बताएकी छिन् । नतासाले यत्रो वर्षसम्म गोप्य राखेको सम्बन्धलाई अहिले किन खुलासा गरिन् त्यो निकै रोचक र रहस्यमय बनेको छ । आफ्नो जीवनमा प्रत्यक्ष प्रभाव पार्ने सम्बन्धको खुलासा गरेर नतासाले के गर्न खोजेकी हुन् त्यो बुझिनसक्नु भएको छ । केही मिडियाहरूले उनीहरूले सहमति गरेरै आफ्नो राज खोलेको हुन सक्ने अनुमान गरेका छन् । वर्तमान अवस्थामा यो अपवित्र गठबन्धनको भविष्य कस्तो होला त्यसलाई सबैले निकै चासोका साथ हेरिरहेका छन् ।

युवराज लामा सदस्यसचिव
युवा तथा खेलकुदमन्त्री हितबहादुर तामाङले राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा युवराज लामालाई नियुक्त गरेका छन् । गत साता मन्त्रिपरिषद्को बैठकले राखेपमा रिक्त रहेका सातमध्ये ६ पदमा सदस्य नियुक्ति गरेको थियो । जसअनुसार राखेपको सदस्यमा इन्द्रबहादुर थिङ, मुकुन्दबहादुर पहरी, नम्बर शर्ेपा, कुसुमकुमारी श्रेष्ठ, पहलसिंह धर्तीमगर र युवराज लामा रहेका थिए । नवनियुक्ति सबै सदस्यहरू एनेकपा माओवादीका सक्रिय कार्यकर्ता हुन् । सदस्यसचिवमा नियुक्ति भएपछि लामाले आफू खेलकुदसँग निरन्तर रूपमा गाँसिएको खेलकुदका सबै पक्षको जानकार रहेको बताएका छन् । लामाले आफू अँध्यारोमा झटारो हान्न आएको नभई समग्र खेलकुदको विकासका लागि हो भनेका छन् । उनले आफ्नो मुख्य प्राथमिकता खेलकुदको विवाद सुल्झाउनु र सङ्घहरूलाई जिम्मेवार बनाउनु रहेको प्रस्ट पारेका छन् ।

राष्ट्रिय पौडी प्रतियोगिता सुरु
नेपाल पौडी सङ्घको आयोजनामा आजदेखि १६औँ राष्ट्रिय खुला पौडी प्रतियोगिता सञ्चालन हुँदै छ । उक्त प्रतियोगिता असार १ र २ गते सातदोबाटोस्थित पौडीपोखरीमा सञ्चालन हुनेछ । खेलाडीहरूको सुरुको स्तर मापन गर्ने र खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यअनुरूप उक्त प्रतियोगिता आयोजना गर्न लागिएको सङ्घले जनाएको छ । सङ्घले स्वदेशमै बाह्रै महिना पौडी प्रशिक्षण गर्न सक्ने हिटिङ पुलको अभावले गर्दा खेलाडीले नियमित रूपमा प्रशिक्षण गर्न नपाएको बताउँदै सिजनको सुरुवातमै प्रतियोगिता सञ्चालन गरेको जानकारी गराएको छ । त्यस्तै सङ्घले असार १७ र १८ गते नेपालमा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण पौडी प्रतियोगिता सञ्चालन हुने जानकारी गराएको छ । उक्त प्रतियोगितामा नेपाललगायत भारत, बंगलादेश, थाइल्यान्ड र ब्रुनाईका खेलाडीले सहभागिता रहने सङ्घले बताएको छ । यो प्रतियोगितामा १६औँ राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समावेश गरिने सङ्घले जनाएको छ ।