समस्या समाधानको ‘मह’ सूत्र

समस्या समाधानको ‘मह’ सूत्र


  • स्वयम्भूनाथ कार्की

पञ्चायती व्यवस्थाको उत्तरार्धतिर मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको हास्यजोडी उदय हुँदै गर्दाको प्रहसन थियो ‘अंशबण्डा’ । त्यसमा एक वकिलकोमा (मदनकृष्ण) फिरादपत्र लेखाइमाग्न झगडिया (हरिवंश) आउँछ । वकिललाई ‘अ’ झिकिपाऊँ भन्ने फिरादपत्र लेखाउन आउँछ । ‘अ’ झिक्ने अस्वाभाविक मागप्रति वकिलको आश्चर्य हटाउँदै झगडिया तर्क दिन्छ, ‘अ’ झिक्दा आफूलाई परेको अन्याय स्वतः न्याय हुन्छ अनि आफूलाई अंश ठग्ने ‘दाइ या भाइ’ले पाएको अधिकार ‘धिक्कार’मा बदलिन्छ । अंशबण्डामा समानता नभएर आफूकोमा आएको झगडियालाई अब आफूले जितेपछि अंश लगाउने तरिका वकिलले बखान्छ । यसअनुसार जसरी पहिले काम नलाग्ने कुराजति अर्कालाई दिएर काम लाग्ने जति ‘दाइ या भाइ’ले आफूसँग राखेको थियो, त्यसभन्दा पनि कठोर रूपले अब काम नलाग्ने कुरा उसलाई दिने अनि काम लाग्ने कुराजति आफूले लिने सल्लाह दिन्छ ।

वकिलकोमा आउने पञ्चायतइतर पक्ष र उसको झगडिया पञ्चायत पक्षका प्रतीक बनाएर व्यङ्ग्य गरिएको यो प्रहसन निकै लोकप्रिय भयो । यो प्रहसनमा प्रशासनले बन्देज लगाएको हल्ला चल्यो, तर यसका हजारौँ क्यासेट बिक्री भए । अझ कतिले त डबिङ गरेर भए पनि लिए । प्रशासनले प्रतिबन्धित गरेको हल्लाले कतैकतै केहीले प्रहरीको डण्डा पनि खाए । केहीलाई यस्ता प्रतिबन्धित वस्तु राखेको आरोपमा कारबाही चलाउन खोज्दा यो क्यासेट प्रतिबन्धित नभएको तथ्य थाहा भयो । यसपछि त यो जोडीको हरेक कार्यक्रम प्रतिबन्धित भएको चर्चा चल्यो, कार्यक्रमको लोकप्रियता र क्यासेटको बिक्रीमा यसले सघाउ पुऱ्यायो, बाँकी काम यो जोडीको क्षमताले ग¥यो । फलस्वरूप पञ्चायती व्यवस्था अन्त्यसम्ममा मह जोडी प्रख्यातिको शिखर पुगेका सार्वजनिक व्यक्तित्व भए ।

संविधानसभामा त सभासद्हरूले आ–आफ्नो दलले घोकाएको कुरा तीन मिनेटभित्र खालीकुर्सीलाई सुनाए । सम्भवतः अब ती सभासद्हरूलाई कसैले कुनकुन कुरामा तपाईंको के–के धारणा रह्यो भन्ने हो भने उत्तर केही औँलामा गन्नेहरूसँग मात्र होला, अरूले त अह्राएको कुरा मन्त्रजस्तो पढेको मात्र हो ।

पञ्चायतपछि स्थापना भएको बहुदलले मह जोडीको यो प्रहसनमा व्यङ्ग्यको रूपमा अगाडि सारिएको समस्या समाधानको सूत्रलाई मूल कार्यनीति बनायो । गाउँ पञ्चायतहरू गाउँ विकास समिति भए, नगर पञ्चायत नगरपालिका भए, जिल्ला पञ्चायत, जिल्ला विकास समिति । केवल व्यक्तिगत आधारमा लडिने चुनाव दलगत आधारमा लडिने भयो । कुनै स्थानको प्रतिनिधित्व गर्ने निर्वाचनमा भाग लिन त्यसै क्षेत्रको मतदाता हुनैपर्ने व्यवस्था खारेज गरियो । पुरानो व्यवस्थाअनुसार एक व्यक्ति केवल एक ठाउँबाट चुनाव लड्न पाउँथ्यो भने पछि एकै व्यक्तिले दुई ठाउँबाट चुनाव लड्न पाउने भयो । यसबाहेक जनताका अधिकारहरू दलमा सार्नेबाहेक आधारभूत संरचनामा कुनै फरक भएन । गाविसजस्ता स्थानीय निकायमा विकेन्द्रीकृत केही अधिकारहरू फेरि केन्द्रीकृत गरियो । यसले मुलुकका अन्य भागबाट समयसमयमा सदरमुकाम आउनैपर्ने अनि राजधानीको पनि चक्कर लगाउनैपर्ने बाध्यता सिर्जना भयो । दुर्गम स्थानको निमित्त ल्याइएका कार्यक्रम र आयोजनाका प्रधान कार्यालयहरू काठमाडौंका साँघुरा गल्लीहरूमा खुले ।

आजभोलि भाषण गर्नु नै काम भएको छ । आफ्नो जिम्मेवारीको कुर्सीमा बसेर सम्पादन गर्नुपर्ने काम राजधानीका गल्लीहरूमा भएका रिपोर्टर्स क्लबजस्ता गफाडी थलोमा गफ छाँटेमा गरेको ठहरिने भयो । कुनै टेलिभिजनको संवाद कार्यक्रममा फलाके भयो, कुनै एफएममा प्रायोजित अन्तर्वार्तामा बोले भयो । काम होइन कतै भाषण सम्भाषण गरे काम गरेको मान्नुपर्ने भयो । दलभित्रको आपसी खिचातानीको समाधान दलको बैठकबाट होइन, बरु यस्तै गफाडीस्थलमा एक–अर्कामाथि हिलो छ्याप्दा हुन्छ भन्ने मान्यता स्थापित भएको छ । आर्थिक समस्या समाधनाका उपाय खोज्न आज विज्ञहरूसँग छलफल तथा सल्लाह गरिँदैन, बरु यस्तै गफाडी अखडामा गएर माइकमा बोलिन्छ । मुलुकको मौद्रिक नीति राष्ट्र बैंकको बैठककक्षबाट होइन यस्तै भाषण स्थलमा बन्छ ।

विकास निर्माणका योजना राष्ट्रिय योजना आयोगमा होइन कुनै उद्घाटन समारोहको भाषणमा बन्दछन् । तर, जनताले बनाउने भनेको संविधानको संविधानसभाभित्र छलफल भएन, दैनिक लाखौँको खर्च गरेर कुनै विलासितापूर्ण रिसोर्टमा गोप्य छलफल भयो । संविधानसभामा त सभासद्हरूले आ–आफ्नो दलले घोकाएको कुरा तीन मिनेटभित्र खालीकुर्सीलाई सुनाए । सम्भवतः अब ती सभासद्हरूलाई कसैले कुनकुन कुरामा तपाईंको के–के धारणा रह्यो भन्ने हो भने उत्तर केही औँलामा गन्नेहरूसँग मात्र होला, अरूले त अह्राएको कुरा मन्त्रजस्तो पढेको मात्र हो ।

अन्यायको ‘अ’ झिकेर न्याय बनाउने सिद्धान्तअनुसार जब प्रजातन्त्र शब्दबाट प्रजा झिकेर लोक शब्द हालियो यो प्रवृत्ति तीव्र गतिले बढ्दै छ । आज राजमार्गलाई लोकमार्ग नामाकरण गरिँदै छ, मानौँ राज शब्द नै रोगको जड हो । धन्न राजधानीले लोकधानी हुन परेको छैन, राजविराजले लोकविलोक हुने अवसर सम्भवतः जुरेन । ठाउँठाउँमा भएका महेन्द्रचोकहरूको नाम जनआन्दोलन चोक राख्ने बुद्धिजीवीहरूले कुनै महेन्द्र यादवलाई जनआन्दोलन यादव भन्नु नै अग्रगमन भएको छ । बाक्लै गणतन्त्र चोक, सङ्घीय चोक त भेटिन्छन् नै तर अहिलेसम्म धर्मनिरपेक्ष चोक देख्न परेको छैन । करिब-करिब समाप्त नै हुन लागेको जातीय भेदभाव फेरि जातीय उत्थानको नाममा स्थापना गर्नु नै अग्रगमन हो भने पाषणयुगमा फर्किनु त सम्भवतः त्यसभन्दा ठूलो अग्रगमन होला । यो डढेलोले यता समाप्त पारेपछि अहिले यसलाई प्रायोजन गर्ने मुलुकतिर पनि पक्का सल्कन्छ । त्यसैले ‘अ’ झिकेर अन्याय समाप्त हुन्न, अन्याय नै झिकेर मात्र अन्याय समाप्त हुन्छ ।