औचित्यको सङ्कटमा बार एसोसिएसन

औचित्यको सङ्कटमा बार एसोसिएसन


– जीबी आचार्य

नेपालका कानुन व्यवसायीहरूको साझा सङ्गठन अर्थात् नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको चुनाव आउँदै छ । कुनै पनि सङ्गठनको निर्वाचन त्यस सङ्गठनको जीवनका लागि औचित्यपूर्ण र आवश्यक प्रक्रिया हो । तर, नेपाल बार एसोसिएसनको हकमा यो नियम लागू नभएको करिब दुई दशक भइसक्यो । नेपाल बार एसोसिएसनको आवधिक निर्वाचन त समयसमयमा भई नै रहेको छ, तर नेपाल बार एसोसिएसनले अपेक्षित गति, दिशा र तदारुकता लिन सकेको छैन ।

खास गरी ०४६ सालभन्दा अगाडि राजनीतिक अधिकारमाथि प्रतिबन्ध लागेको अवस्थामा राजनीतिक अधिकारको आन्दोलनमा अग्रणी भूमिकमा रहेको नेपालको एउटा प्रमुख पेसागत सङ्गठन नेपाल बार एसोसिएसन, त्यसपछिका दिनमा चरम अवसरवाद, राजनीतीकरण, गुटबन्दी, राजनीतिक चाकरी, चाप्लुसी, बेन्च सपिङ, न्यायिक दलालीजस्ता स्वसिर्जित समस्यामा फसेको प्रस्ट छ । बार स्वयम् अकर्मण्यताको घोर सिकार भएको छ । स्वयम् कानुन व्यवसायीले पेसागत मर्यादा कायम गर्न नसकेका कैयन घटना सतहमा आउँदासमेत कानुन व्यवसायलाई मर्यादित बनाउन आवश्यक निर्णय लिनु त कता हो कता बार नेतृत्व राजनीतिको दूषित खेलको गोटी मात्र बनेको छ । स्थिति कतिसम्म लज्जास्पद सुनिन्छ भने नेपाल बारको वक्तव्यसमेत राजनीतिक पार्टीको नेताले अनुमति दिएपछि मात्र जारी गरिन्छ ।

नेपालमा राजनीतिक परिवर्तन भएको छ । यो परिवर्तन देखिने खालको छ । यद्यपि यो परिवर्तन आफैँमा पूर्ण परिवर्तन हो कि थप अधिकारका लागि थप आन्दोलनको खाँचो छ भन्ने विषयमा मनग्य बहस गर्न सकिन्छ । तर, नेपालमा हाल भएको परिवर्तन केवल राजनीतिक प्रकारको परिवर्तन मात्र हो । तर, नेपाली समाजको समग्र संरचनामा परिवर्तन भएको छैन । आज पनि नेपालमा तमामखाले सामाजिक र न्यायिक विभेदहरू व्याप्त छन् । नेपालको एउटा वर्ग आज पनि नेपाली समाजको मूलधारबाट बहिष्कृत नै छ ।

न्यायालयसमेत राजनीतिक पार्टीहरूले भर्ती केन्द्रमा परिणत गरेका छन् । तर, नेपाल बार एसोसिएसन भने न्यायालयको समाधान गर्न त्यहाँ विधि स्थापित गर्न अनि बोलीमा सीमित छिटो र निष्पक्ष न्यायको सिद्धान्तलाई व्यवहारमा परिणत गर्न उद्यत् हुनुपर्नेमा यसको ठीकविपरीत छद्म राजनीतिक क्रीडास्थल बनेको छ ।

राजनीतिक परिवर्तनलाई व्यावहारिक रूपमा अनुभूत गर्न सकिने बनाउन यसले राजनीतिक पक्षका साथसाथै सामाजिक, आर्थिक, सांस्कृतिक, न्यायिक पक्षको पनि ग्यारेन्टी गर्नुपर्छ, तर नेपालमा आजका दिनमा पनि सीमित मानिसले मात्र बढी अधिकार प्रयोग गरिरहेका छन् । हरेक पेसामा अन्याय पूर्ण रूपले वर्गको सिर्जना गरिएको छ । कतिसम्म भने न्यायालयसमेत राजनीतिक पार्टीहरूले भर्ती केन्द्रमा परिणत गरेका छन् । तर, नेपाल बार एसोसिएसन भने न्यायालयको समाधान गर्न त्यहाँ विधि स्थापित गर्न अनि बोलीमा सीमित छिटो र निष्पक्ष न्यायको सिद्धान्तलाई व्यवहारमा परिणत गर्न उद्यत् हुनुपर्नेमा यसको ठीकविपरीत छद्म राजनीतिक क्रीडास्थल बनेको छ ।

विधिशास्त्रका प्राध्यापक जेम्स पेनरको विचारमा कानुनको सही र विधिसम्मत प्रयोगका लागि नागरिक समाज हरदम चनाखो भइरहनुपर्छ । नेपाल बार एसोसिएसन नेपालमा विधिसम्मत शासनका लागि थप चनाखो हुनु आवश्यक थियो र छ । तर, यो जिम्मेवारीमा खरो उत्रन सकेन । सदस्य सङ्ख्या र विषय विज्ञताको हिसाबले नेपाल बार एसोसिएसन समाजका अन्य पेसागत सङ्गठनभन्दा बढी प्रभावशाली देखिनुपथ्र्यो, तर त्यसो हुन सकेन ।

हालसम्म पनि नेपाली समाजमा तमाम समस्या व्याप्त छन् । दण्डहीनता संस्कृति बनेर मौलाएको छ । हत्या र बलात्कारजस्ता जघन्य अपराधका अपराधीलाई संरक्षण गर्न स्वयम् राज्य संयन्त्र लागिरहेको छ । गरिबीको दर बढेको छ । रोजगारीको दर घटेको छ । व्यापारघाटा डरलाग्दो गरी बढेको छ भने परनिर्भरता सबैभन्दा उच्च छ । देशको कुल गार्हस्थ उत्पादन र जनसङ्ख्याको अनुपात कहालीलाग्दो गरी असन्तुलित छ । अपराधको राजनीतीकरण र राजनीतिको अपराधीकरण दुवै एक समान छ । तर, नेपाल बार एसोसिएसन भने यी सबैबाट निस्पृह केवल न्यायिक मोलमोलाई, मोलाहिजा, न्यायिक अराजकताजस्ता समस्यामा मूकदर्शक बन्नमा मस्त छ । के नेपाल बार एसोसिएसनजस्तो सङ्गठन सामाजिक दायित्वबाट यति धेरै निस्पृह हुन मिल्छ ?

जब नेपाल बार एसोसिएसनको चुनावको घोषणा हुन्छ तब बजारमा पहिलो कसरत उम्मेदवारी पाउनमा शुरु हुन्छ । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि उम्मेदवार बन्न कानुन व्यवसायीहरू सबैभन्दा पहिला कुनै नेताको गोजीमा पस्न आतुर बनेर दौडाहमा निस्किन्छन् । 

जब नेपाल बार एसोसिएसनको चुनावको घोषणा हुन्छ तब बजारमा पहिलो कसरत उम्मेदवारी पाउनमा शुरु हुन्छ । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि उम्मेदवार बन्न कानुन व्यवसायीहरू सबैभन्दा पहिला कुनै नेताको गोजीमा पस्न आतुर बनेर दौडाहमा निस्किन्छन् । अनि शुरु हुन्छ– गुटको खेल । अन्तरपार्टी समीकरण, अनि पार्टीभित्रको समीकरण, समीकरणको यो चक्करमा यति जोड–घटाउ हुन थाल्क कि पार्टीभित्रको समीकरण सन्तुलित बनाउँदा, योग्य, दक्ष, पेसागत, अनि स्वतन्त्र, निर्भीक चरित्र बोकेका, इमानदार, विधिको वकालत गर्ने मानिस पछाडि छुट्छन् अनि नेताको गोजीबाट फुत्त निस्किएका मानिस एकाएक मैदानमा क्रीडारत हुन थाल्छन् । फलतः नेपाल बार एसोसिएसन योग्यतम मानिसको नेतृत्वबाट वञ्चित हुन पुगेको छ ।

नेपालको राजनीतिक घटना एकपछि अर्को अप्रत्यासित क्रमबाट गुज्रिरह्यो । विधिविपरीत, लोकलाई अमान्य, गैरराजनीतिक अभ्यासहरू भइरहे । नारामा स्वतन्त्र र सक्षम न्यायपालिका भनिए तापनि सत्तासीन पार्टीहरू मूलतः स्वतन्त्र र सक्षम न्यायपालिकाको मर्ममा प्रहार गर्न उद्यत भइरहे । मूलधारका पार्टीहरू रमाएको त्यो फोहोरी र आत्मघाती खेलमा स्वयम् नेपाल बार एसोसिएसनसमेत प्रत्यक्ष मुछियो । न्यायपालिकाको गरिमाको रक्षा गर्नमा नेपाल बार एसोसिएसन पूर्ण रूपमा असफल भयो । न्यायाधीशको नियुक्तिमा देखिएको राजनीतीकरण कुनै लोकतन्त्रलाई सुहाउँदो थिएन, तर नेपाल बार एसोसिएसनले त्यसको प्रतिकार गर्न सकेन । नेपाल बार एसोसिएसन पूर्ण रूपमा लाचार बन्यो ।

नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिको निर्वाचनको सम्मुखमा आज पुनः ज्वलन्त प्रश्न उभिएका छन्, के अब आउने कार्यसमितिले नेपाल बार एसोसिएसनका यी ऐतिहासिक कार्यभार पूरा गर्न सक्छ ? त्यसका लागि कस्तो नेतृत्व चाहिन्छ । पेसागत मर्यादा कायम राख्न, पेसागत दक्षता अभिवृद्धि गर्न अनि न्यायिक मर्यादा कायम राख्न अहिले सतहमा देखिएका नेपाल बार एसोसिएसनमा नेतृत्वका आकाङ्क्षी सक्षम छन् ? नेपाल बार एसोसिएसनका नेतृत्व–आकाङ्क्षीहरू अब मतदाताप्रति फर्किन जरुरी छ, तर माथिका नेतालाई रिझाएको भरमा टिकट पाउने अनि तिनैको स्वार्थको गोटी बनेर नेपाल बार एसोसिएसनलाई सञ्चालन गर्ने प्रवृत्तिले आखिरमा नेपाल बार एसोसिएसनलाई नै औचित्यको सङ्कटमा पुऱ्याएको छ ।