आधुनिक कृषि अभियानमा एनआरएनए अगुवा

आधुनिक कृषि अभियानमा एनआरएनए अगुवा


– डिल्लीराम अम्माई !

‘नलडेको दिन नै छैन
नमरेको छिन नै छैन
लड्दालड्दै उठ्न सिकेँ
मर्दा मर्दै बाँच्न सिकेँ
माटो सुँघ्दै बौरिएर !’

माथिका ओजिला पङ्क्ति हुन् बेल्जियमबाट केही महिनाअघि कृषिमा आधुनिक रूपान्तरणको अभियान लिएर नेपाल फर्केका एनआरएनए अभियन्ता तथा एनआरएन कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङका । उनले कवितामा भनेझैँ उनी सम्पूर्ण नेपाली कृषकको सपना बोकेर दौडधुप गरिरहेका छन् अहिले । उनलाई एनआरएनएले पनि सोहीअनुसारको जिम्मेवारी दिएको छ । उनलाई एनआरएनए संयोजक शिव बरुवाल, बेल्जियमका व्यवसायी सीपी भट्टलगायतको समेत प्रत्यक्ष साथ छ । बेनेलक्सका राजदूत लोकबहादुर थापाको मार्गदर्शन र कूटनीतिक उत्प्रेरणाको प्रभाव पनि उनमा उत्तिकै छ । त्यस्तै, एनआरएनएका अग्रजहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले, भवन भट्ट, हेमराज शर्मा, कुल आचार्य, कुमार पन्तलगायतको प्रत्यक्ष प्रेरणा र नेतृत्वसमेत उनले प्राप्त गरेका छन् ।

अभियान सफल हुन नेतृत्व क्रियाशील, उदात्त, समर्पित र लगनशील चाहिन्छ । त्यसको लागि गुरुङ युवराज अहिलेसम्म आशा गरिनलायक देखिएका छन् । उनका हरेक गतिविधि उनको सङ्गठनले दिएको जिम्मेवारीप्रति निष्ठावान् एवम् समर्पित नै देखिन्छन् । उनी कृषिको आधुनिकीकरणको सूत्र खोज्दै कहाँ पुगेनन् होला ? युक्रेनको कृषिमा रसियन टेक्नोलोजीको अनुगमन गरे । त्यहाँका कृषि वैज्ञानिकहरूसँग छलफल गरे । तत्पश्चात् हरितगृहभित्र गरिने खेतीको अनुगमन गर्न स्पेन पुगे । त्यहाँका कृषिविद्हरूको सूत्र लिएर बेल्जियम फर्के । बेल्जियमका कृषि फर्म र ग्रिनहाउसभित्रका सूत्रहरू कापीमा कोरेर नेपाल हानिए । उनको टिमका अनुभवी साथीहरू क्रमशः शिव बरुवाल, सीपी भट्ट युरोपका हरेक अवलोकन भ्रमणमा उनीसँगै थिए ।

उनले अभियानको दुःख–सुख र भावनात्मक सम्मोहन कवितामा पोखेका रहेछन् ! उनलाई अवलोकन भ्रमणको सिलसिलामा, अध्ययनको सिलसिलामा र विज्ञहरूसँगको सत्संगमा असजिलाहरू आए होलान्, आर्थिक अभावका समस्याहरू आए होलान्, पारिवारिक समस्याका चाङहरूले बाटो छेक्न खोज्यो होला, भाषागत समस्या आए होलान् ! उनको सबल पक्ष उनको सपना हो त्यही सपना र जिम्मेवारीबोधको कारण उनले आफूलाई अभियानबाट पछि हटाउन चाहेनन् । अग्रजहरूको प्रेरणा, आफ्ना अध्यक्षको भरोसा, राज्यको आशा र नेपाली कृषि क्षेत्रको आधुनिकीकरणको मोहले उनलाई कुदाइरह्यो । अहिलेसम्म कुदेकाकुद्यै छन् । डायस्पोराको नेपालीले कृषिमा लगानीको सम्भावनाबारे क्रमशः चासो राख्न थालेको छ । एनआरएनका कृषि अभियन्ताहरूले युवराजका पाइलाहरूको आवाज बिस्तारै सुन्न थालेका छन् । त्यसमा सिङ्गो एनआरएनको चासो जोडिन थालेको छ । उनीहरूको अभियानले कृषिमा आशा जगाइदिएको छ । केही महिनाभित्र यी अभियन्ताहरूले सुरु गरेका पहल यसका पर्याप्त उदाहरण हुन् । त्यसको सानो चित्राङ्कन हेरौँ एकपटक !

एनआरएनका उपाध्यक्ष कुल आचार्य र एनआरएन कृषि प्रवर्द्धन समितिका संयोजक युवराज गुरुङसहितको टोलीले हालै मात्र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल बलदेवलाई मन्त्रालयमा भेटेर नेपालमा आधुनिक कृषि बजार निर्माणका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग आग्रह गरेको छ ।

एनआरएनसँग काठमाडौंमा कृषिजन्य पदार्थको प्रोसेसिङ सेन्टर र काठमाडौंबाहिर कलेक्सन सेन्टर निर्माण गर्ने योजना छ । त्यसका लागि प्रयोगमा नरहेको ५० रोपनीभन्दा बढीको सरकारी जग्गा २० वर्षका लागि लिजमा उपलब्ध गराउन मन्त्री खनालसँग आग्रह गरेको हो ।

एनआरएन कृषि प्रवद्र्धन समितिका संयोजक युवराज गुरुङका अनुसार एकदेखि डेढ अर्ब रुपैयाँ लगानी गर्ने गरी ७ जनाको विज्ञ टिमले आर्थिक प्रतिवेदन तयार गरिरहेको छ । कलेक्सन सेन्टरका लागि काठमाडौंबाहिर प्रदेश १ को सरकारसँग छलफल गर्नेबारे कुराकानी चलिरहेको छ । जसको लागि कृषिमन्त्री खनाल सकारात्मक देखिएको सार्वजनिक भएको छ ।

अघिल्लो हप्ता एनआरएन कृषि प्रवर्द्धन समितिका संयोजक युवराज गुरुङको पहलमा एनआरएनए आईसीसी र नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच बनेको संयुक्त सहकार्य कृषि प्रवर्द्धन समितिको बैठक कृषि मन्त्रालयमा सम्पन्न भइसकेको छ ।

सोही बैठकमा माननीय कृषि तथा पशुपन्छी विकासमन्त्रीद्वारा प्रस्तावित ‘मुना कृषि बजार’, र ‘प्राकृतिक रबर खेती प्रवद्र्धन’लगायतका विषयमा निष्कर्षसहित अन्तरक्रियात्मक छलफल भएको जनाइएको छ !

एनआरएन कृषि प्रवर्द्धन समितिका विज्ञ तिलक भण्डारी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्यसहित प्राकृतिक रबर खेतीको सम्भावनाबारे पावर प्वाइन्ट प्रस्तुत गरी योजना आयोगलाई आफ्नो योजनाको जानकारी दिएका छन् । केही समयअघि वनस्पतिविज्ञ तथा प्राज्ञिक व्यक्तित्व पुष्पमान अमात्यसँग समेत एनआरएन कृषि प्रवर्द्धन समितिले महत्वपूर्ण छलफल गरेको छ ।

एनआरएन अब सुस्त गतिमा छैन । यो नेपालको समग्र क्षेत्रको रूपान्तरण अभियानमा राज्यको सहायक भएर हिँड्ने तरखरमा छ ।

प्राकृतिक रबर खेती प्रवर्द्धनको बृहत्तर संस्थागत प्रयासका लागि प्रदेश एक सरकारसँग समेत एक छलफल टुङ्ग्याएको छ । जसमा प्रदेश एकका मुख्यमन्त्रीसमक्ष एनआरएनए एपीसी, एफएनसीसीआई एईसी/आईआरजेआरको संयुक्त टोलीले रबरको आवश्यकता, उपयोगिता र सम्भाव्यताबारे रबरविज्ञ तथा आईआरजेआर नेपालका प्रतिनिधि तिलक भण्डारीमार्फत योजना प्रस्ताव पेस गऱ्यो, जसलाई प्रदेश सरकारले उच्च प्राथमिकताका साथ हेरेको जनाइन्छ ।

भर्खरै मात्र गैरआवासीय नेपाली सङ्घ कृषि प्रवर्द्धन समितिअन्तर्गत आयुर्वेद जडीबुटी उपसमितिले काठमाडौंमा आयोजना गरेको अन्तरक्रियात्मक छलफल कार्यक्रमले समेत राज्यको ध्यान आकर्षण गरेको जनाइएको छ । त्यति मात्र होइन, एनआरएन कृषि प्रवर्द्धन समितिले स्थानीय सफल कृषकहरूसँग समेत भेटघाट र अनुभव आदानप्रदानलाई तीव्र पारेको छ । जसअन्तर्गत सहकारी च्याउ तथा कृषि कर्ममा सफल मानिएकी कृषक जयकला बस्नेत, सफल पुष्प व्यवसायी राधा मटाङ्गीलगायतसँग उनीहरूको कृषिफर्मको अवलोकनसँगै सहकारी कृषि अभियानबारे छलफल गरिसकेको छ ।

एनआरएन कृषि प्रवर्द्धन समितिले सबै कृषि अभियानबारे नवनिर्मित एनआरएनए भवन, बालुवाटारको केन्द्रीय सचिवालयमा समितिको कार्यक्रम तथा योजनाबारे समीक्षा बैठक बसी योजनाको कार्यान्वयन तहमा आउने असजिला चुनैतीहरूबारे बहस गरेको जानकारी आएको छ ।

यी सबै गतिविधिले देखाउँछ कि एनआरएन अब सुस्त गतिमा छैन । यो नेपालको समग्र क्षेत्रको रूपान्तरण अभियानमा राज्यको सहायक भएर हिँड्ने तरखरमा छ । सबै अभियन्ताहरू क्षमताअनुशार आ–आफ्नो क्षेत्रमा दौडिरहेका छन् । उनीहरू मुलुकको आर्थिक रूपान्तरणको लागि योजनासहित दौडिरहेको परिप्रेक्ष्यमा उनीहरूलाई मजाक गरेर उडाउनेभन्दा सकेसम्म प्रेरणा, साथ र समर्थन दिएर अगाडि बढ्न हौसला प्रदान गर्नु हामी डायस्पोराका नेपालीहरूको दायित्व हो ।