यी प्रश्नका जवाफ खोज कांग्रेसजन

यी प्रश्नका जवाफ खोज कांग्रेसजन


– केशवप्रसाद भट्टराई

देउवा, पौडेल र सिटौलाको मात्रै सेयर भएको प्राइभेट लिमिटेड कम्पनीको रूपमा देखिएको हो काङ्ग्रेस ?

दुई-दुई जना उपसभापति, महामन्त्री र सह महामन्त्रीलाई महाधिवेशनले नै प्रत्यक्ष निर्वाचन गर्ने वा सभापतिको सिफारिशमा केन्द्रिय समितिले चयन गर्ने कुरामा काङ्ग्रेसभित्र चार दिनसम्म त्यत्रो ठूलो रडाको मच्चाउनु पर्ने कारण थियो ?

यसमा पौडेलले जिते रे ! के जितेछन् ? अनि देउवा उदार भए रे ! के उदार भएछन् ?

सभापतिले सिफारिश गर्ने र निर्वाचित केन्द्रिय समितिले अनुमोदन गर्ने भनेको पनि एक प्रकारको निर्वाचन नै होइन र ? त्यसकै लागि मेची-महाकालीका महासमितिका सदस्यहरू यो जाडोमा कठ्यांग्रिन आएका रहेछन् ?

विधान संसोधन भनेको सङ्गठनको एउटा प्राविधिक पक्ष मात्रै होइन र ?

काङ्ग्रेसले, प्रजातन्त्रले, मुलुकले र जनताले वर्तमानमा सामना गरिरहेका समस्या र चुनौतीहरूको समाधानमा त्यसले कुनै सहयोग पुर्याउने रहेछ ?

मुलुकको एकता र अखण्डतामाथिको चुनौतीलाई सम्बोधन गर्ने रहेछ ?

आमकाङ्ग्रेसी समर्थक, शुभेच्छुक र कार्यकर्तामा त्यसले उर्जा र उत्साह भर्ने रहेछ ?

२०१६ सालको बीपीले बनाएको काङ्ग्रेसको विधानमा सभापति मात्र निर्वाचित हुन्थे र कार्यसमितिका सबै सदस्य र पदाधिकारी सभापतिले नै मनोनित गर्ने व्यवस्था थियो !

२०४६ साल पछाडिसम्म पनि त्यही व्यवस्था थियो- सभापतिले आफ्नो विवेक प्रयोग गरेर आवश्यकताअनुसार उपसभापति, महामन्त्री, सह महामन्त्री, कोषाध्यक्षहरू मनोनित गर्दथे ।

०४६ पछि किसुनजीले पनि त्यसैगरी केन्द्रिय समिति गठन गर्नुभएको थियो । गिरिजाबाबु किसुनजीद्वारा मनोनित महामन्त्री हुनुहुन्थ्यो १ त्यसले काङ्ग्रेसलाई कमजोर बनाएको थियो ?

अहिले महामन्त्री, कोषाध्यक्षलगायत अधिकांश सदस्यहरू निर्वाचित छन्, काङ्ग्रेस बलियो भएको छ ?

अमेरिकामा राष्ट्रपति निर्वाचक मण्डलबाट छानिन्छन्, जनताले प्रत्यक्ष भोट हाल्दैनन् ! अमेरिका कमजोर छ ?

राष्ट्रपतिले आफूखुशी जोसुकैलाई मन्त्री मनोनित गर्न पाउँछन्, सांसद वा विधायक हुनुपर्दैन ! त्यहाँ त्यसैकारण सरकार कमजोर छ ?

पार्टीले मन्त्री चयनमा कुनै हस्तक्षेप गर्दैन, पार्टीलाई सोध्नु पर्दैन, तर त्यसले अमेरिकामा पार्टी प्रणालीलाई कमजोर बनाएको छ ?

‘हामीलाई नेतृत्व सुम्पिनु पर्दछ’ भनेर दाबी गर्ने युवा नेताहरू गएको चार दिन कता हराएछन् ?

देउवा र पौडेल तीनजना निर्वाचित कि मनोनित भनेर रडाको गरेर बसिरहँदा महासमितिका सदस्यहरूलाई हलमा बोलाएर उनीहरूले मुलुक, प्रजातन्त्र र पार्टीले भोगिरहेका समस्या र चुनौतीहरूबारे गहन छलफलको वातावरण निर्माण गरेर सैद्धान्तिक र वैचारिक दिशामा महासमितिलाई लैजान सकिन्नथ्यो ?

१६१ सदस्यीय केन्द्रिय समिति रे ! त्यत्रो ठूलो संरचना पनि केन्द्रिय समिति हुन्छ ?

केन्द्रिय समिति भनेको जहिले पनि, जहाँ पनि बैठक बस्न सक्ने उपयुक्त सङ्ख्याको हुनुपर्दछ (बढीमा ३१-५१ बीचको)

केन्द्रिय समिति ठूलो अजंगको बनाइदियो अनि पार्टीका दुइचार जना बसेर आफ्नो सुविधाअनुरूप लेनदेन गरेर जे मन लाग्यो त्यही गर्ने प्रयोजनको लागि मात्र हुन्छ त्यस्तो त ?

देउवा, पौडेल र सिटौलाको मात्रै सेयर भएको प्राइभेट लिमिटेड कम्पनीको रूपमा देखिएको छ काङ्ग्रेस ! बाँकी सबै उनीहरूका भागमा नियुक्त कर्मचारी !

त्यसैले काङ्ग्रेस विधिहीन छ ! काङ्ग्रेस विचारहीन छ !! गतिहीन छ !!!

र, भविष्यविहीन देखिन्छ !

(बुद्धिजीवी/विश्लेषक भट्टराईको फेसबुक वालबाट)