खाडी मुलुकमा महिला कामदार जान रोकिएन

खाडी मुलुकमा महिला कामदार जान रोकिएन


राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारी, सरकारी र गैरसरकारी संस्थाका प्रतिनिधि तथा अधिकारकर्मीलगायतले सरकारले खाडी मुलुकमा जान रोक लगाएपनि महिला कामदार जान नछाडेको बताएका छन् ।

वैदेशिक रोजगारीमा गएका महिलाको संस्था पौरखीले आज राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा उनीहरुले कानूनी रुपमा जान नपाउँदा महिला कामदारले थप समस्या भोग्नु परिरहेको बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सरकारले खाडी मुलुकमा महिला कामदारलाई रोक लगाएपनि व्यावहारिक रुपमा नरोकिएको बताए । उनले भने, ‘महिला कामदार भारत, श्रीलङ्कालगायतका देश हुँदै खाडी मुलुक जान रोकिएका छैनन् ।’

भारत जाने महिला कामदारको तथ्याङ्क नभएपनि धेरै खालका समस्या रहेको उनले उल्लेख गरे । पौरखी संस्थाका अध्यक्ष मञ्जु गुरुङले नेपालले हस्ताक्षर गरेको अन्तराष्ट्रिय सन्धीका आधारमा पनि महिला कामदारलाई कुनै पनि देशमा जान रोक लगाउन नहुने बताए ।

खाडी मुलुकमा गएका महिलाले कठिन पारिश्रम गर्नुपर्दा उनीहरुको स्वास्थ्य समस्या आएको उहाँले बताए । उनले भने, ‘महिला कामदारमा पाठेघर खस्ने र मिर्गौलाको समस्या बढी देखिएको छ ।’ घरेलु श्रमिकको अन्तराष्ट्रिय संस्थाका एशिया प्रशान्त सदस्य ज्ञानु केसीले देशभित्रै र वैदेशिक रोजगारीमा गएका महिलाका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए ।