अश्लीलता पस्किने तीन लाख वेभसाइट बन्द गरिने

अश्लीलता पस्किने तीन लाख वेभसाइट बन्द गरिने


सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । काभ्रेको बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आइतबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले पच्चीस लाख अश्लील वेभसाइट बन्द गरिएको र क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गरिने जानकारी दिए ।

इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो ।

मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्र रुपमा काम गरिरहेको उल्लेख गर्दै उनले एक वर्षभित्र १५० गाउँपालिकामा पूर्ण रुपमा र ६९ गाउँपालिकामा आंशिक रुपमा इन्टरनेट सेवा पु¥याइने जानकारी दिए । टेलिकम कुनाकन्दरामा बसेका नेपाली नागरिकसम्म पुग्ने र यो कार्य सरकारको दायित्वसमेत भएको उनको भनाई थियो ।

आउँदो वर्ष नेपाल टेलिकमको ‘चित्र’ भिन्न रुपमा प्रस्तुत हुने भएकाले टेलिकमको सेवा लिएर मनोरञ्जन लिन उनले आग्रह गरे । टेलिकमको महसुल सस्तो छ, सकारात्मक वेभसाइट खोल्नुस्, ज्ञानवर्द्धक कुरा लिनुस् र भरपुर मनोरञ्जन लिनुस् भन्ने सुझाव उनले दिए ।

नेपाल टेलिकमलाई ‘आमा’को संज्ञा दिँदै मन्त्री बाँस्कोटाले टेलिकमलाई एकछिन घुर्क्याए पनि त्यही चाहिने भइसकको दाबी गरे ।

नेपाल टेलिकमका महाप्रबन्धक सूर्यभक्त पोखरेलले टेलिकमले स्मार्ट स्कूल बनाउने योजना बनाइरहेको बताए । टेलिकमको बनेपा शाखाअन्तर्गत बेथानचोकमा विस्तार गरिएको टेलिफोन एक्सचेन्ज काभ्रेपलाञ्चोकको १७औँ हो ।

तस्बिर रासस