आँखा शिविरबाट ७८१ जना लाभान्वित

आँखा शिविरबाट ७८१ जना लाभान्वित


कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ असैनामा आयोजित आँखा शिविरबाट ७ सय ८१ जनाले सेवा लिएका छन् ।

धनगढी नेपाल आँखा अस्पतालको प्राविधिक तथा नगरपालिकाको आर्थिक सहयोगमा शनिबार सञ्चालित आँखा शिविरमा ३२६ पुरुष र ४५५ महिलाले सेवा लिएका छन् । उपचारका लागि पुगेकामध्ये ९३ जनामा मोतिया बिन्दु भएको पाइएको नेत्रालयका प्रबन्धक गजेन्द्र चन्दले बताए । मोतिया बिन्दु भएका सबैको आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।

आँखा कम देख्ने ३३० जनालाई निःशुल्क चस्मासमेत उपलब्ध गराइएको थियो ।
शिविर सञ्चालन भएका क्षेत्रका दलित, जनजाति र विपन्न अवस्थाका आँखामा मोतिया बिन्दु भएका बिरामी अस्पतालमा आए शिविरमा फेला परेका मोतिया बिन्दुका बिरामीसँगै निःशुल्क शल्यक्रिया गरिने प्रबन्धक चन्दले बताए । आँखाबाट पानी बग्ने, आँखामा मासु पलाएका र जलबिन्दु भएका बिरामीसमेत शिविरमा फेला परेको उनको भनाइ छ । शिविरमा आँखा चेकजाँचका लागि पुगेका मधुमेय र उच्च रक्तचाप भएका अधिकांशमा आँखाको जटिल समस्या देखिएको छ ।

शिविरमा आँखा उपचारमा पुगेका बिरामीलाई औषधि र परामर्श पनि निःशुल्क प्रदान गरिएको छ । बिरामीका लागि औषधि खरिद गर्न नगरपालिकाले रु. ५५ हजारभन्दा बढी रकम उपलब्ध गराएको थियो ।