राजनीतिक शक्ति एक भए मात्र विकास र समृद्धि सम्भव : प्रचण्ड

राजनीतिक शक्ति एक भए मात्र विकास र समृद्धि सम्भव : प्रचण्ड


पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको विकास र समृद्धिका लागि सबै राजनीतिक शक्ति एक भएर लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् । मुलुक शान्ति र समृद्धिको संकल्पका साथ अगाडि बढेको बताउँदै समृद्धिका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने समय आएको उनको भनाइ थियो ।

पाल्पाको रामपुरमा रामतुलसी माविको स्वर्णजयन्तीको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो माविमा आंगिक कृषि कलेज स्थापना गर्न सहयोग गर्ने बताए । सो अवसरमा उनले यस विद्यालयमा सबैको माग आंगिक कलेज स्थापना गर्ने भएको हँुदा आफूले सहयोग गर्ने वचन दिए ।

अध्यक्ष प्रचण्डले पाल्पा र स्याङ्जा जोड्ने कालीगण्डकीमा पक्की पुल निर्माणका लागि बोलपत्र आह्वान भए पनि उपयुक्त ढाँचाका कारण रोकिएको हँुदा पुल पुनः निर्माणका लागि तीव्रता दिने बताए । उनले देश शान्ति र समृद्धितर्फ अगाडि बढेको बताउँदै वर्तमान सरकारले निकै प्रभावकारी काम गरेको उल्लेख गरे ।

देशमा शान्ति ल्याउन एक दशक समय लागेको र अब देशको समृद्धि र विकासमा पनि एक दशक समय बिताउने उनको भनाइ थियो । रामपुरले सिंगो नमुना शहरका रूपमा विकास हुने प्रशस्त सम्भावना बोकेको उनको भनाइ थियो ।

कार्यक्रममा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको काम अगाडि बढिरहेकाले यसको कालोपत्रेका लागि तीव्रता दिने बताए । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले रामपुरको विकास र आवश्यकताबारे जानकारी गराएका थिए ।

पूर्वी पाल्पाकै ठूलो र धेरैलाई शिक्षा प्रदान गरेको यस विद्यालयमा उच्च शिक्षातर्फ व्यवस्थापन, विज्ञान तथा तीनवर्षे कृषि बाली विज्ञान कक्षा सञ्चालन भइरहेको छ । यस विद्यालयमा झण्डै दुई हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।