फेका कप फुटबलमा करिअरको ह्याट्रिक

फेका कप फुटबलमा करिअरको ह्याट्रिक


डिफेन्डिङ च्याम्पियन करिअर बिल्डिङ इन्टरनेसनल एकेडेमीले १३औँ फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पेप्सीकोलास्थित टाउनप्लानिङको मैदानमा भएको फाइनलमा करिअर प्रतियोगितामा पहिलोपटक सहभागी कौस्तुभलाई टाइब्रेकरमा ५–४ गोलले पराजित गर्दै लगातार तेस्रोपटक च्याम्पियन बनेको हो ।

निर्धारित ७० मिनेटको खेल गोलरहित तथा थप गरिएको १२ मिनेट १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएसन (फेका) द्वारा आयोजित प्रतियोगितामा उपाधिसँगै करिअरले ३० हजार नगद पुरस्कार हात पा¥यो भने कौस्तुभले २० हजार नगद प्राप्त ग¥यो । तेस्रो भएको गोठाटारले १० हजार नगद पायो ।

प्रतियोगितामा करिअरका सुजन भट्टराई उत्कृष्ट खेलाडी घोषित भए भने गोठाटारका अनिश तामाङ उदीयमान खेलाडी चुनिए । डिफेन्समा कौस्तुभका लक्ष्मण गुरुङ, मिडफिल्डमा कौस्तुभकै विवश मगर, गोलरक्षकमा न्यु स्टार पोलका प्रेम तामाङ र प्रशिक्षकमा करिअर सविन खड्का उत्कृष्ट ठहरिए । समापनका अवसरमा प्रशिक्षक सविनलाई सम्मान पनि गरिएको थियो ।

फेका कपको विभिन्न तीन संस्करण न्यु स्टार पोलबाट खेलेका सविन हाल सरस्वती क्लबबाट ‘ए’ डिभिजन लिग फुटबल खेलिरहेका छन् । फेका कप नै खेलेका रेफ्री हरिश कार्कीलाई पनि सम्मान गरिएको थियो ।

कौस्तुभका रविन बम सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । उनले जम्मा ५ गोल गरे । विजेतालाई केन्द्र्रीय प्याब्सनका संस्थापक अध्यक्ष वसन्तबहादुर श्रेष्ठ, राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जन, फेकाका अध्यक्ष नवराज भट्टलगायतले पुरस्कृत गरका थिए । मंसिर २० गतेदेखि शुरु नकआउट प्रतियोगितामा २२ टिम सहभागी थिए ।