योगेश भट्टराईले घरभाडाबापत लिएको रकम फिर्ता गर्ने

योगेश भट्टराईले घरभाडाबापत लिएको रकम फिर्ता गर्ने


नेकपाका नेता तथा सांसद योगेश भट्टराईले संसद सचिवालयबाट घरभाडाबापत लिएको ९० हजार रुपैयाँ फिर्ता गर्ने बताएका छन् ।

सांसद भट्टराईले ताप्लेजुङबाट निर्वाचित भएपछि ०७४ फागुनदेखि ०७५ मंसिरसम्मको दश महिनामा लिएको घरभाडाबापतको रकम ९० हजार फिर्ता लिन संसद सचिवालयलाई आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै आग्रह गरेका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘घरभाडाबापत मेरो नाममा जम्मा भएको ०७४ फागुनदेखि ०७५ मंसिरसम्म १० महिनाको रु. ९० हजार फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’

उनले विज्ञप्तिमा संसद सचिवालयले फारम भराउँदा काठमाडौंमा घर भएको उल्लेख गरे पनि घरभाडा लिने सांसदको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आश्चर्यमा परेको बताएका छन् । उनले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेख व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’

भट्टराईले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘खोज पत्रकारिता केन्द्र, कान्तिपुर दैनिक तथा पत्रकार मकर श्रेष्ठले हामीलाई सचेत गराउँदै जनतालाई सुसूचित गर्नुभएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’