दुई अध्यक्ष मिलेर संसारकै नमुना काम गरेका छौँ : प्रम ओली

दुई अध्यक्ष मिलेर संसारकै नमुना काम गरेका छौँ : प्रम ओली


प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमुना तरिकाले काम गरेको बताएका छन् ।

तत्कालीन एमालेनिकट पेसागत प्रगतिशील कानुन व्यवसायी संगठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एसोसिएसनबीच एकीकरण गरी आज (आइतबार) नेपाल कानुन व्यवसायी संगठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रधानमनत्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘प्रजातन्त्रको नमुना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छाँै, यत्तिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।’ ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले थपे, ‘संविधानले दिँदैन, नत्र दुईजना मिलेर प्रधानमन्त्री भई देश पनि चलाउँथ्यौँ ।’

मुलुकमा गणतन्त्रलाई संस्थागत गर्न नचाहनेहरूले अनेकखालका प्रचार गरेको भन्दै ओलीले अकारण प्रचार–युद्ध शुरु गरेको उल्लेख गरे ।

नेपाल प्रहरीले तालिम केन्द्र पनौती सार्ने भनेर १५ सय रोपनी जग्गा किन्ने तीन दशक अगाडिको निर्णय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोजेको रे, यो राष्ट्रपतिका विरुद्ध होइन, गणतन्त्रका विरुद्ध हो, गणतन्त्रका विरुद्ध बोल्ने र राजतन्त्र ब्युँत्याउँछाँै भन्ने सपना नदेखे हुन्छ ।’

प्रधानमन्त्री ओलीले जनताको शासनमा नागरिकको अधिकार र प्रेस स्वतन्त्रता खुम्चिएको भन्ने गलत प्रचार गरिएको बताउँदै कम्युनिस्ट सरकारले यस्तो नगर्ने स्पष्ट पारे ।

सो अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले देशलाई समृद्ध बनाउने अभियानमा कानुन व्यवसायीले काम गर्नुपर्नेमा जोड दिए । सो अवसरमा उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच हुने कमी–कमजोरीलाई पूर्णता दिन पार्टीका कानुन व्यवसायीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

नयाँ गठन भएको नेपाल कानुन व्यवसायी संगठनको संयोजक रुद्र नेपाल र सहसंयोजक डा. दीनमणि पोखरेलको नेतृत्वमा ४५ सदस्यीय कार्यसमिति चयन भएको छ । यसअघि संगठनको नेतृत्व रुद्र नेपाल र एसोसिएसनको नेतृत्व रमन श्रेष्ठले गरेका थिए । दुई पार्टीको एकतापछि दुई संगठनबीच एकता भएको हो ।