बहुआयामिक केन्द्रको रूपमा हुँदै तारणीप्रसाद कोइराला सञ्चारग्राम

बहुआयामिक केन्द्रको रूपमा हुँदै तारणीप्रसाद कोइराला सञ्चारग्राम


तारणीप्रसाद कोइराला सञ्चारग्रामलाई कला, संस्कृति, संगीत, साहित्य र सञ्चारको संरक्षण, सम्बद्र्धन, अध्ययन र अनुसन्धान केन्द्रको रूपमा विकास गरिने भएको छ ।

विराटनगर महानगरपालिका–४ खारजीमा बन्न लागेको सञ्चारग्रामका विषयमा रेडियो नेपालद्वारा विराटनगरमा आयोजित छलफल कार्यक्रममा रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले यसमा प्रदेश १ को प्रसारण एकाइ पनि रहने बताए ।

सञ्चारकर्मीको तालिम, ध्वनि रेकर्डिङजस्ता थुप्रै कार्य सञ्चालन हुने यस ग्रामबाट विराटनगर महानगरपालिकाले नगर एफएम सञ्चालन गर्नेछ । सञ्चारग्रामका लागि विराटनगर महानगरपालिकाले ६छ कट्ठा १८ धुर उपलब्ध गराएको जग्गामा चारतले स्टिलका अत्याधुनिक भवन निर्माणको ४० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

कुल रु १८ करोड २५ लाख ५२ हजारको लागतमा निर्माण हुन लागेको यो भवन आउँदो चैतमा सम्पन्न गर्ने गरी रविना–जोशी जेभीले लिएको ठेक्का प्राविधिक कारणले केही दिन लम्बिने निर्माण व्यवसायी रमेशकुमार कार्कीले बताए । भवनका लागि नेपाल सरकारले अहिलेसम्म रु. १७ करोड उपलब्ध गराइसकेको छ । रेडियो नेपालका नायब कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले बहुआयामिक यो भवनबाट सञ्चारकर्मी, प्रदेश सरकार, स्थानीयवासी र हरेक क्षेत्रका कलाकर्मी लाभान्वित हुने बताए ।