राजापाक्षेको राजीनामापछि विक्रमासिंघेको पुनर्बहाली

राजापाक्षेको राजीनामापछि विक्रमासिंघेको पुनर्बहाली


श्रीलंकाका अपदस्थ प्रधानमन्त्री रनिल विक्रमासिंघे प्रधानमन्त्रीमा पुनर्बहाली भएका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकट सुरु भएको ५१ दिनपछि विक्रमासिंघेलाई पुनर्बहाली गरेका हुन् । सिरिसेनाले गत अक्टोबर २६ का दिन विक्रमासिंघेलाई प्रधानमन्त्रीबाट हटाई महिन्दा राजापाक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

विक्रमासिंघेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको शपथ पनि गराएको एक सांसदले जानकारी दिएका छन् ।

विक्रमासिंघेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैँले बर्खास्त गरेका विक्रमासिंघेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य भएका हुन् ।

राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्री राजापाक्षेलाई संसद र अदालतले अवैध भन्दै काम गर्न नदिएपछि उनले शनिबार राजीनामा दिएका थिए । संसद र अदालत दुवैले संसदबाट बहुमतप्राप्त भएकाले विक्रमासिंघेलाई नै प्रधानमन्त्रीका रूपमा काम गर्न दिनुपर्ने आदेश दिएपछि सिरिसेना उनलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्न बाध्य भएका हुन् ।

विक्रमासिंघेको पार्टी युनाइटेड नेसनल पार्टीले ट्विटमार्फत राष्ट्रपतिको अवैधानिक कदमलाई परास्त गर्न र विधिको शासन स्थापित गर्न लडेका सबैप्रति धन्यवाद ज्ञापन गरेको छ । विक्रमासिंघेका एकजना प्रवक्ताले उनले चाँडै नै मन्त्रिपरिषद् गठन गर्ने जानकारी दिएका छन् । नयाँ वर्ष सन् २०१९ का लागि वार्षिक बजेट बनाउने विषयमा पनि उनले प्राथमिकताका साथ काम गर्ने बताए ।