बाग्लुङ तीन सडकलाई चार करोड

बाग्लुङ तीन सडकलाई चार करोड


बाग्लुङका तीन रणनीतिक सडक स्तरोन्नतिका लागि संघीय सरकारले चार करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको हो । जिल्ला सदरमुकामलाई दक्षिण क्षेत्रसँग जोड्ने बाग्लुङ कुश्मीशेरा, बरेङ शान्तिपुर सडकको लागि दुई करोड बजेट विनियोजन भएकोे क्षेत्र नं. १ का सांसद डा. सूर्य पाठकले बताए ।

काठेखोला गाउँपालिकाको बिहुँ अछेतेदेखि म्याग्दीको सिमसम्मको सडकका लागि रु. एक करोड र बाग्लुङ–चापाखर्क–बरेङ सडकखण्डको लागि रु. एक करोड विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ । तीनवटै सडकको स्तरोन्नतिका लागि विनियोजन भएको बजेटलाई तत्काल कार्यान्वयनमा ल्याउन पहल थालिएको प्रतिनिधिसभा सदस्य पाठकले जानकारी दिए ।

एउटा क्षेत्रमा दुई बाटोमा रकम विनियोजन हुँदै आए पनि जनताको मागअनुसार तीनवटा सडकमा रकम छुट्याइएको बताइएको छ । तीनवटै सडक सर्वसाधारणको प्रत्यक्ष जनजीविकासँग जोडिएका भएकाले बहुवर्षे योजना बनाएर स्तरोन्नतिको काम थाल्ने पाठकले बताए ।

जिल्लाको क्षेत्र नं. १ मा पर्ने तीनवटै सडकको स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले छुट्याएको बजेटको विषयमा जानकारी आएको भए पनि क्षेत्र नं. २ का रणनीतिक सडकको विषयमा भने कुनै जानकारी बाहिर आएको छैन ।