दलित-शोषितको दुःखसँग हृदय जोड्दै खिलध्वज पन्थी

दलित-शोषितको दुःखसँग हृदय जोड्दै खिलध्वज पन्थी


स्थानीय तहको निर्वाचन–२०७४ को माहोल उत्कर्षमा थियो । सबैतिर चुनावी प्रचारका सामग्री छाएका थिए । आ–आफ्ना उम्मेदवारहरू जिताउन सबै व्यस्त थिए । चुनावताका चर्को घाम, पानी, थकाई मार्ने फुर्सद थिएन कसैलाई । त्यति नै बेला । नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सचिव खिलध्वज पन्थी पनि बस्ती–बस्तीमा हिँडिरहेका थिए । निर्वाचनको पर्चा बोकेर घरदैलो गर्दै थिए उनी ।

त्यही बेला उनको भेट १६ वर्षे एउटा केटासँग भयो जसको अनुहारमा एसईई पास भएको खुसीभन्दा ११ भर्ना हुन नसक्नुको दुःख बढी झल्किन्थ्यो । समाजले भिराएको दलित जातका उनको नाम थियो बलबहादुर टोमटा । रेसुङ्गा नगरपालिका–५, भुवनपानी घर भएका बलबहादुर चुनावी प्रचारमा आएका सबैजसोसँग आफ्नो उच्च शिक्षाको वातावरण मिलाइदिने पुकार गर्दारहेछन् । पढ्ने मन हुँदाहुँदै पनि आर्थिक अवस्थाले नभेट्ने भएपछि सहयोगको आस बोकेर डुलिरहेको एउटा दलित गरिब विद्यार्थी । गरिबीको पोको फुकाए उनले भने, ‘मलाई पढ्न मन छ, तर घरमा पढाउन सक्ने स्थिति छैन । बा अब तैँले कमाउनुपर्छ भन्नुहुन्छ । मामासित दिल्ली जा भन्नुहुन्छ । अङ्कल म दिल्ली जान्नँ । पढ्छु तम्घास गएर ।’ त्यतिबेला नेता पन्थी उनलाई पढ्ने वातावरण मिलाउने वाचा गरेर फर्किए ।

चुनावको बेला अक्सर धेरैको नजर दलित बस्तीमा पर्छ । एक छाक खानाका लागि रातदिन पसिना बगाउने दलित समुदायको भोको पेट पाल्न मजदुरी गर्नु उनीहरूको मजबुरी बन्दै आएको छ । त्यो दलित बस्तीमा फरक–फरक पार्टीका नेता–कार्यकर्ता पुगेर भोट मागे । सबैसँग ती बलबहादुरको एउटै पुकार थियो कि मलाई उच्च शिक्षा पढ्न मन छ ।

निर्वाचन सकियो । दलित बस्तीमा आज–भोलि नेताहरूको आवातजावत पनि हुँदैन । तर, नेता पन्थीलाई भने निर्वाचनमा आफूले गरेका वाचाहरूले सुत्न दिएनन् । अन्ततः नेता पन्थी त्यो परिवारकहाँ पुगे । बलबहादुरका बाबालाई भेटेर आवश्यक छलफलपछि सबै वातावरण मिलाए । गरिबीले भारतमा गएर मजदुरी गर्न दबाब दिइरहेको परिवारका बलबहादुर अहिले निर्धक्क तम्घासकै रेसुङ्गा बहुमुखी क्याम्पसमा पढ्दै छन् । त्यो भेट टोमटाको लागि मारेको इच्छा फर्काउने अवसरमा परिणत भयो ।

निर्वाचन सकियो । दलित बस्तीमा आज–भोलि नेताहरूको आवातजावत पनि हुँदैन । तर, नेता पन्थीलाई भने निर्वाचनमा आफूले गरेका वाचाहरूले सुत्न दिएनन् ।

उनी भन्छन्, ‘कम्युनिस्ट पार्टीका एउटा नेता पनि आएका थिए । मैले पढ्न रहर छ भन्दा पढ्ने कुरा पछि गरौँला, म अहिले रु. १ हजार दिन्छु, आमा र हजुरआमालाई भोट हामीलाई दिन भन्नु भन्ने जवाफ दिए ।’ शिक्षा क्षेत्रमा पन्थीको यो पहिलो प्रयास मात्र थिएन । रेसुङ्गा नगरपालिका– ५ भुवनपानीकै मनकला विक साथै नितु सुनार पनि उच्च शिक्षा रेसुङ्गा बहुमुखी क्याम्पसबाट लिँदै छिन् उनकै पहलमा ।

दलितलाई मात्र होइन, आर्थिक अवस्था कमजोर भएका गैरदलितलाई पनि नेता पन्थीले सहयोग गर्दै आएका छन् । रेसुङ्गा नगरपालिका– १ का शालिक खनाल उनकै सहयोगमा रेसुङ्गा बहुमुखी क्याम्पसमा अध्ययन गरिरहेका छन । त्यस्तै, नेत्रप्रसाद खनाल बुटवलमा अध्ययन गर्दै छन् ।

त्यतिमै सीमित रहेनन् पन्थी । सोही स्थानकै ७६ वर्षीय टोयटनी आमैले आँखाको उपचार गर्न सक्नुभएको थिएन । अहिले उनका आँखा ठीक भइसके । ढगबहादुर दमार्इंलाई बिजुली घरमा बाल्न पाए कस्तो हुन्थ्यो भन्ने पिरले सताइरहेको थियो । अहिले उनको घरमा बिहान–बेलुका टुकी चाहिँदैन । बिजुली बाल्न पाएपछि उनी पनि खुसी छन् । सूर्य कामीकी श्रीमती रोगले थला पर्नुभएको छ । उनै पन्थीले उपचारमा सहयोग गरिरहेका छन् ।

यसरी आमजनतासँग जोडिएर, तिनका दुःख–सुख महसुस गर्दै हिँड्ने एक उदीयमान युवा नेता हुन् खिलध्वज पन्थी । नेपाली काङ्ग्रेस गुल्मीको जिल्ला सचिवको जिम्मेवारी सम्हाल्दै आएका उनीले नेपाली समाज, संस्कृति, राजनीति सबैलाई नजिकबाट नियाल्दै आएका छन् ।

समाजमा व्याप्त गरिबी, दलितपन, पछौटेपनजस्ता कारणले समाजका केही मानिस शिक्षा लिनबाट वञ्चित छन् । तर, शिक्षाबाट कोही पनि वञ्चित हुनुहुँदैन भन्ने सोच नेता पन्थीको छ । यस्तो कार्यमा उनी एक शैक्षिक अभियन्ताका रूपमा अब्बल देखिएका छन् ।

स्मरण रहोस्, पछिल्लो समय गुल्मीमा काङ्ग्रेसले महाअभियान नै चलाएको थियो दलित सशक्तीकरणका लागि । सोही अभियानको मर्मजस्तै ठ्याक्कै पन्थीका कर्म र स्वभाव मेल खाएका छन् । उक्त अभियानको कर्ममा पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापासँगै पन्थी पनि धुर्कोट–७ वाग्लाको गाउँमा दलित परिवारकहाँ एकहप्ते श्रम आवासमा बसेका थिए । दलित उत्थानको क्षेत्रमा उनका पाइला सधैँ यसरी नै लम्किरहून् ।