कांग्रेस महासमिति बैठकको बन्दसत्र शुरु

कांग्रेस महासमिति बैठकको बन्दसत्र शुरु


नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्र राजधानीको एक पार्टी प्यालेसमा आज बिहानदेखि शुरु भएको छ ।

बन्दसत्रमा महामन्त्री डा. शशांक कोइरालाले ‘सांगठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेस गरेका छन् । उनीहरूले पेस गरेका तीनवटै प्रस्तावमाथि समूहगत रूपमा छलफल सुरु गर्ने तयारी कांग्रेसको छ ।

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेस गरिने जनाइएको छ ।

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार सात सयभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । विधानमा महासमिति बैठक प्रत्येक वर्ष गर्नुपर्ने व्यवस्था भए पनि कांग्रेसले झन्डै ६ वर्षपछि बोलाएको हो । मंसिर २९ देखि शुरु भएको बैठक पुस ३ गते समापन हुने जनाइएको छ ।