प्रधानन्यायाधीशमा शिफारिस राणाविरुद्ध उजुरी आह्वान

प्रधानन्यायाधीशमा शिफारिस राणाविरुद्ध उजुरी आह्वान


भावी प्रधानन्यायाधीशका लागि सिफारिस चोलेन्द्रशम्शेर जबराको संसदीय सुनुवाइ प्रक्रिया आजबाट सुरु हुँदैछ ।

सिफारिस प्रधानन्यायाधीश राणाविरुद्ध उजुरी आह्वान गर्न र भावी योजना लगायतका विषयमा छलफल गर्नका लागि संघीय संसदको संसदीय सुनुवाइ समितिको बैठक आज ११ बजेका लागि बोलाइएको छ । संवैधानिक परिषदको सिफारिस समितिमा आएकोले जबराको सुनुवाई प्रक्रिया आजबाट थालिने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

मंसिर २७ गतेको संवैधानिक परिषदको बैठकले सर्वसम्मत रूपमा जबरालाई सर्वाेच्च अदालतका भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सुनुवाई समितिले जबराविरुद्ध कुनै उजुरी गर्नुपर्ने भएमा सार्वजनिक रुपमा आह्वान गर्ने र प्राप्त उजुरीका सम्बन्धमा स्वयं जबरालाई साधेर जवाफ माग गर्ने प्रक्रियाअनुसार सुनुवाइ गर्नेछ ।

यसअघि सर्वोच्च अदालतको दोस्रो वरीयतामा रहेका वरिष्ठ न्यायाधीश दीपकराज जोशीमाथि संसदीय सुनुवाइ हुँदा समितिले उनलाई अस्वीकृत गरेको थियो । जोशीलाई सुनुवाइ समितिमा दिएको जवाफमा सन्तुष्ट हुन नसकेको, शैक्षिक कागजातमा आशंका रहेको र विभिन्न विवादित फैसलाका गरेको भन्दै सुनुवाइ समितिले बहुमतका आधारमा प्रधानन्यायाधीशमा अस्वीकार गरेको थियो ।

जोशी यसपटक पनि न्याय परिषदद्वारा सिफारिस भइआएकोमा संवैधानिक परिषदले भने तेस्रो वरीयताका वरिष्ठ न्यायाधीश जबरालाई भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको हो । २०१४ मंसिर २८ मा काठमाडौंको सुकेधारामा जन्मिएका जबराले २०७१ सालदेखि सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारी सम्हाल्दै आएका छन् । पुनारावेदन र सर्वोच्च अदालतमा रहेका बेला जबराले गरेका फैसलाका कारण उनको आलोचना भने हुने गरेको छ ।