जलविद्युतको हब बन्दै प्रदेश नं १

जलविद्युतको हब बन्दै प्रदेश नं १


प्रदेश नं १ संभावना नै संभावना भएको प्रदेश हो । यतिबेला यस प्रदेशका धेरै जिल्लाहरुमा विकासको लहर पनि शुरु भएको छ । पछिल्ला बर्षहरुमा यहाँ जलविद्युत आयोजना निर्माणको गति पनि बढेको छ । लगानीका लागि उपयुक्त वातावरण भएको यस प्रदेश १ मा मात्रै यतिखेर ४ सय ७० मेगावाट क्षमताका ३१ जलविद्युत आयोजना निर्माणाधिन छन् ।

प्रदेश नं १ लाई जलविद्युत निर्माणको हब मान्न सकिन्छ । जलविद्युत क्षमताका हिसाबले यस प्रदेशमा १२ हजार ९ सय ५३ मेगावाट उत्पादन गर्न सकिन्छ । यस प्रदेशका १० जिल्लामा ४ सय ७० मेगावाट क्षमताका ३१ जलविद्युत आयोजनाहरु निर्माणाधिन छन् । प्राधिकरणसँग विद्युत खरिद सम्झौता भई निर्माण प्रक्रियामा रहेका इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बू, खोटाङ, ओखलढुङ्गा र भोजपुरमा संचालित आयोजनाबाट ५ लाख ६० हजार किलोवाट अर्थात ५ सय ६० मेगावाट विद्युत उत्पादन हुने लक्ष्य राखिएको छ ।

कुन जिल्लामा कति आयोजना ?
– पाँचथरमा ५
– इलाममा ७
– संखुवासभामा ५
–सोलुखुम्बुमा ६,
–ताप्लेजुङ २
–खोटाङमा २
–तेह्रथुम १
–भोजपुर १
–ओखलढुङ्गा १
–मोरङ १

अन्य जिल्लाको तुलनामा सबैभन्दा बढि क्षमताका आयोजनाहरु सोलुखम्बूमा निर्माणाधिन छन् । सोलुमा ६ आयोजनाबाट २ सय ८२ मेगावाट विद्युत उत्पादन हुने एक तथ्याँकले देखाएको छ । यस प्रदेशमा निर्माणाधिन आयोजनामध्ये अधिकांश आयोजनामा निजी क्षेत्रको बढि लगानी छ । प्राधिकरणको प्रतिवेदन अनुसार हाल ताप्लेजुङमा ६१, पाँचथरमा एकसय ७, इलाममा ३७, संखुवासभाबाट ४१ मेगावाट क्षमताका आयोजनाहरु निर्माण भइरहेका छन् । यस्तै, खोटाङमा र ओखलढुङ्गामा ७÷७ मेगावाट, तेह्रथुममा ४, भोजपुर ५ र मोरङमा १ मेगावाट क्षमताका आयोजना निर्माणाधिन छन् ।

प्रदेश नं १ मा विगत ६ बर्षदेखि विभिन्न आयोजनाहरु निर्माणाधिन छन् । प्राधिकरणका अनुसार कुल ४ सय ७० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत आयोजना निर्माण सम्पन्न गर्न करिब एकसय अर्ब रकम लाग्नेछ ।