‘दर्शनभेटको लागि जाहेरी गऱ्या छु…गऱ्या छु !!!’

‘दर्शनभेटको लागि जाहेरी गऱ्या छु…गऱ्या छु !!!’


– सोमविक्रम सिंह

होइन, दर्शनभेटको लागि जाहेरी गऱ्या छु…गऱ्या छु भनेर दशौँपटक भनिसकेँ, खोइ अहिलेसम्म सचिवहरूले खबर गऱ्याछैनन् ।…’

उपरोक्त वाक्य चानचुने मान्छेबाट अभिव्यक्त भएको होइन, देशका राष्ट्रवादी, देशभक्त तथा दरबार र राष्ट्रप्रति वफादार व्यक्ति तथा प्रधानमन्त्री स्व. मरिचमानसिंह श्रेष्ठको दुःखेसो हो । माओवादीको जनयुद्वकालमा हामी नोकरसँग होइन सीधै मालिकसँग कुरा गर्छौं भन्ने प्रचण्डको अभिव्यक्तिपछि राजनीतिक माहोल तातेर आयो । बिचौलियाहरू तँछाडमछाड गर्दै मालिक र जनयुद्धका नेतालाई वार्ता गराउनुपर्छ भनी दौडधुपमा लागे । छेउटुप्पा नबुझेकाले पनि वार्ता गराउन सक्ने सक्षम व्यक्ति हुँ भन्दै जश लिने प्रयासमा लागे भने कोही जश लिन वा ‘स्टेक होल्डर’ हुन पाइएन भनी भाँड्नतिर लागे । त्यहीमध्येमा कोही देश र परिस्थिति बुझेर इमानदारसँग लाग्ने पनि देखियो ।

हिसिला यमी मध्यस्थकर्ता बनी कमरेड मोहनचन्द्रजस्ता व्यक्तिसम्म सञ्चार आदानप्रदान गर्ने काम हुन्थ्यो । भर्खरभर्खर मोबाइलको स्थापना गरेको थियो, नेपाल टेलिकमले । मध्यरातमा उठेर मोबाइलमा कुरा आदानप्रदान हुन्थ्यो । मोहचन्द्र एसियाको नेल्सन मण्डेलाको नामले प्रख्यात व्यक्तित्व, सर्वहारावर्गको निम्ति क्रान्तिमा होम्मिएर जेल–जीवन गरेका महान् नेता, उनलाई जनयुद्धका क्रान्तिकारीहरूले सहज विश्वास गर्ने भइहाले । तर, पछि मोहनचन्द्र आध्यात्मिक चिन्तनमा लागिसकेका थिए र राजसंस्थाको महत्व बुझेर त्यसप्रति आदरभाव प्रकट गर्दथे । मोहनचन्द्रको टिमले पनि बढो मिहिनेतका साथ प्रचण्डका खाका प्रप्त गरे । जुन मोडलअनुरूप देश अगाडि बढ्ने र सीधै राजासँग वार्ता गरी राजनीतिक डामाडोल तथा वैमनस्यता टुङ्ग्याउने बुँदाहरू थिए ।

अब शुरु भयो त्यो खाका राजासमक्ष पुऱ्याउने कार्य, जुन असाध्य चुनौतीपूर्ण थियो । कसैले यसको भेउ नपाउन् तथा सीधै यो राजासमक्ष पुगोस् । सर्वप्रथम त त्यस समयको महँगो मोबाइलको ट्यारिफ, कल रिसिभको पनि मिनेटैपिच्छे अचाक्ली पैसा लाग्ने, अर्को राज्य सरकारको डर, त्रास, अर्को मोबाइलको नेटवर्क नआएर मोबाइल उचाल्दै उफ्रिनुपर्ने । खाका पनि दुई माओवादीले कमण्डलु बोकेको जोगीको भेषमा भिख माग्ने झोलामा लुकाएर ल्याएको, कठिन यात्राबाट प्राप्त । तत्पश्चात् खाका आएपछि लुकिछुपी त्यसलाई फोटोकपी गर्नुपर्ने । त्यत्रो चुनौतीपश्चात् त्यसलाई राजासामु पुऱ्याउनुपर्ने कठिन कार्य । सायद यसको महत्व त्यतिबेला बुझ्नुपर्नेले नबुझेकै हुनुपर्छ ।

दरबारभित्रका पात्रहरूको छलकपटले भनौँ या राजा स्वयंको रुचि नदेखिएकोले त्यसबेलाको प्रयत्न व्यर्थमै खेर गयो । यदि भेटवार्ता भएको भए देशले अर्को कोल्टे पनि फेर्न सक्थ्यो ।

राष्ट्रिय सरोकार मञ्च नेपाल जन्म भएपछि संगठनको धेरै गुरुहरू अशोक सर, शास्त्रदत्त पन्तलगायतमध्ये मोहनचन्द्र अधिकारीज्यू गुरुको रूपमा कार्यरत पनि हुनुभयो । उहाँले राष्ट्रिय राजनीति र अन्य दर्शनबारे प्रशिक्षण पनि गर्नुभयो र आध्यात्मिकवाद चिन्तनबारे कक्षा लिनुभयो । उहाँले धर्म, संस्कृति तथा राजसंस्था नै नेपालीको मौलिक पहिचान तथा सभ्यता हो भन्ने आफूले मनन गर्दै यसखाले दर्शनलाई समाजमा अन्तर्घुलित गर्नुपर्छ भन्ने पाठ सिकाउँदै हिँड्नुपर्ने रासम नेपालका अभियन्तालाई सम्झाउने गर्नुहुन्थ्यो ।

यद्यपि आफ्नो कम्युनिस्ट विचारधाराबाट विचलित भएको कहिलै पाइएन । उहाँजस्तो व्यक्तित्वले राजसंस्था र धर्म–संस्कृतिबारे भूमिका खेल्दै दुईध्रुवीय विचारलाई एक ठाउँमा ल्याउने अनेकौँ प्रयत्नमध्ये मालिकसम्म जनयुद्वका खाका पुऱ्याउने कार्य गरेको एकदमै प्रशंसनीय छ । यद्यपि दरबारभित्रका पात्रहरूको छलकपटले भनौँ या राजा स्वयंको रुचि नदेखिएकोले त्यसबेलाको प्रयत्न व्यर्थमै खेर गयो । हुन त यदि भेटवार्ता भएको भए देशले अर्को कोल्टे पनि फेर्न सक्थ्यो, तर हुने कुरा भएरै छोड्छ भनेझैँ यस्तो उस्तो भनेर हाइपोथेटिकल कुरा गरेर समय खेर फाल्न उचित पनि देखिँदैन नि ।

त्यो खाका अनेकौँ व्यक्तित्वको हातमा पुगेर अन्ततः तत्कालीन गृहमन्त्री स्व. शाहीकहाँ पुग्यो । उहाँ पनि उत्तेजित हुँदै राजाको बाहुलीमै खाका दिने जिम्मा लिनुभयो । फेरि नतिजा हातमा लाग्यो शून्य ! प्रत्येक क्याबिनेट मिटिङमा राजालाई यसबारे कुरा राख्ने प्रयत्न त्यसै खेर गयो । उहाँले अन्तमा हार खाएर राजाको मुख्यसचिवलाई फोन गरेर मान्छे भेट्न आउने र केही डकुमेन्टबारे कुरा राख्दा भेटघाटको समय तय भयो । मुख्यसचिवलाई भेट गरी सबै कुरा बेलिविस्तार लगाएपछि दर्शनभेट मिलाउने कुरा भयो । तर, धेरै प्रयत्नपछि पनि भेटाउने समय मिलाउन नसक्दा वा चाहना नहुँदा त्यो टिमको ‘मोरल’ नै खस्क्यो ।

उहाँहरूको भनाइअनुसार सचिव महर्जनले उल्टै राजसंस्थाबारे क्लास लिन थालेपछि कन्पारा तताउँदै सचिवलाई गाली दिँदै त्यताबाट निराश हुँदै पुगे तत्कालीन प्रधानमन्त्रीकहाँ । प्रधानमन्त्री देउवाले बडो चाख लिई आफूले पहल गर्ने र राजाकहाँ कुरा पुऱ्याउने जिम्मा लिए । खुसी भएर मोहनचन्द्र संयोजक भएको धार्मिक कार्यक्रम सफल बनाउन पैसा सहयोग गर्दै एउटा सिमसहित मोबाइल पनि सम्पर्क सहज होस् भनी उपलब्ध गराउनुभयो । त्यस समय मोबाइल पाउनु भनेको महाभारत हुन्थ्यो, एक त सेक्युरिटीको समस्या, अर्को भर्खर नेपाल टेलिकमले काम शुरुवात गरेको कारण । देउवाजी प्रधानमन्त्रीबाट बर्खास्त भएकोले त्यस मोबाइलको उपयोगिता पनि देखिएन, तर अझै मनोबल उच्च राख्दै उनीहरू पुगे राष्ट्रवादीको खम्बा भूपू प्रधानमन्त्री मरिचमानज्यूकहाँ ।

अहिले पनि धेरै व्यक्तित्व राजालाई भेटी आफ्नो कुरा राख्न चाहन्छन् । भेट नभएकाहरू आफ्नो कुरा राजासमक्ष राख्न नपाएर मुर्मुरिन्छन् । हामीलाई चाहिया हो र सिंहासन, बस्ने त उनै हुन क्यारे, भेटे पनि नभेटे पनि हामीलाई मतलबको कुरो भएन, तर सरोकार राष्ट्र र राष्ट्रियतासँग गाँसिएको छ र पो आपत ।

मोदी र अमित शाहलाई राजा भेट्टाउन हामी सक्छौँ भनी दिल्लीमा छ्यापछ्याप्ती दलालहरू बसिरहेका हुन्छन् रे । भेटाएबापत के–कति पाइन्छ भन्ने बार्गेनिङ गरेका हुन्छन् रे ।

हुन त कैयौँ विज्ञहरू तथा विश्लेषकहरूले राजाले आफूलाई नभेट्या कुरा अन्तर्वार्तामा पोखेको रोषबाट आकलन गर्न सकिन्छ । भारतबाट पनि मोदी र अमित शाहका सहयोगीहरू आएर व्यथा पोख्छन् । राजाका वरिपरि सब दलाल तथा कमिशन ओसार्ने छन् । खाली राजालाई मोदी र शाहका आसेपासेले भेट्टाएर केही हुन्न । भेटेपछि सीधै उनीहरूसँग नै राजाको प्रत्यक्ष डायलग हुनुपर्छ भन्छन् । माथिल्लो तह मोदी र अमित शाहलाई राजा भेट्टाउन हामी सक्छौँ भनी दिल्लीमा छ्यापछ्याप्ती दलालहरू बसिरहेका हुन्छन् रे । भेटाएबापत के–कति पाइन्छ भन्ने बार्गेनिङ गरेका हुन्छन् रे ।

राजाकहाँ वरिपरि बस्ने कतिले दिल्लीतिर घरखेत जोड्या छन् भन्दै विवरण दिन्छन् । यता भेटाएर आफूले जश पाए भेटाउने जस नपाए तथा ‘स्टेक होल्डर’ हुन नपाए किन भेटाउने भनेर बसेका छन् । कति त भेट्न चाँजोपाँजो मिलाउन लागे कि बिगार्न विदेश छोडेर भए पनि टाउकोले टेकेर आउँछन् । उता भने अहिलेको जमानामा पनि राजालाई भेट्न बिन्तीपत्र चाहिन्छ र भनी प्रश्न तेर्स्याइरहेका छन् । तर, बिन्तीपत्रको आशय बुझ्नु पनि पर्छ, राजालाई भेट्न कसलाई चाहना नहोला र ? संसारलाई भेट्न त समय पनि हुनुपऱ्यो, राजाको नि परिवार छ, निजी समय राजालाई पनि चाहिएला, त्यो बुझ्न आवश्यक छ, उनलाई नयाँ ऊर्जा ल्याउन विभिन्न कार्यमा आफूलाई व्यतीत गर्नुपर्छ, खान, सुत्न तथा आरामको पनि समय चाहिन्छ । यस किसिमको यथार्थलाई तमाम जनता तथा व्यक्तित्वले पनि मनन गर्नुपर्छ । जे भनौँ बिन्तीपत्र वा आफ्नो व्यक्तिगत पत्र, त्यसमा भेट्न चाहनेको मनसाय, उद्देश्य तथा विवरण हुन्छ । जसलाई अध्ययन गरेर कुनै व्यक्तित्व भेटघाट गर्दा भेटमा सहज हुन्छ तथा धेरै प्रश्नहरूमा अल्झिनुपर्दैन र आफूले भेटेकाहरूको डाटा रहन्छ तथा भेट्न बाँकीलाई समय दिन सहज हुन जान्छ ।

राजा बेला–बेलामा जनतासँग प्रत्यक्ष भेटवार्ता होस् भनी भ्रमणमा निस्कने गर्छन् । राजा महेन्द्रले विभिन्न जिल्लामा वन्यजन्तु सुरक्षा ता आहारविहार हेतु आरक्षण खोलेका थिए । त्यही हेर्ने बहानामा राजा महेन्द्र जनतासँग प्रत्यक्ष भेट्न निस्कन्थे, त्यस्तै राजा वीरेन्द्र क्षेत्रीय भ्रमण भनी जनतासँग प्रत्यक्ष सरोकार राख्न निस्कन्थे । अहिले राजा ज्ञानेन्द्र गद्दीबाहिर भएका हुनाले विभिन्न मठ–मन्दिरको दर्शन तथा पूजाअर्चनाको बहानाले जनतासँग प्रत्यक्ष संवाद गर्न भ्रमणमा निस्कन्छन् । अस्ति राजा ज्ञानेन्द्रको फेसबुक स्टाटसअनुरूप ‘अब जनता भेट्न समय आयो अब फेरि काठमाडौंबाट बाहिर जाने बेला भयो । देशवासीसँग भेट्ने बेला भयो’ भन्ने जुन अभिव्यक्ति आयो, त्यो सायद भेट्ने चाहना हुनेले भेट नपाएकालाई भेट्न, समय मिलाउन नसकेकाले र भेटघाटमा रोक लगाइदिनाले सरकार आफैँ बेला–बेलामा भ्रमणमा निस्कन बाध्य भएकोझैँ लाग्छ ।

तसर्थ भेटघाट गरी आफ्नो विचार, उद्देश्य, वाचा, कुरा राख्न र आदानप्रदान गर्ने चाहना भएकाले सरकारको भ्रमणलाई साथ, समर्थन र सहयोग पुऱ्याऊँ तथा यश भ्रमणलाई सही सदुपयोग गरौँ र भ्रमण सफल तुल्याऊँ । धेरै गुनासो गर्न छोडी राजाको भ्रमणलाई यथार्थपरक बनाउन आफैँ उपस्थित हुन आग्रह गर्दछु । आफ्नो गुनासो राखौँ तथा राष्ट्र, राष्ट्रियता, राष्ट्रिय पहिचान तथा मौलिक सभ्यता बच्ने खाकाबारे यथेष्ट छलफलमा सरिक भई राष्ट्र जगेर्ना गर्ने अभियन्ता बनौँ । राजा र जनता मिलौँ अनि देश बचाऔँ ।

(लेखकको निजी अनुभूति)