सभापति बदल्ने कि सोच ?

सभापति बदल्ने कि सोच ?


– छन्द पहराई

‘सत्यम् ब्रुयात, प्रियं ब्रुयात, न ब्रुयात सत्यम् अप्रियम्,…’ अहिले नेपाली काङ्ग्रेसभित्र र बाहिर एउटा ठूलो बहस चलेको छ । हाम्रो नीतिशास्त्रले भनेको छ कि सत्य बोल, मीठो वा कर्णप्रिय बोल तर कसैको लागि अप्रिय छ भने सत्य पनि नबोल । सत्य त बोल्ने हो, तर सत्यमा सधैँ प्रिय वचन मिसिन्छ भन्ने त हुँदैन कहिलेकाहीँ अप्रिय वचन पनि मिसिन्छ । यदि सत्य वचनमा अप्रिय वचन मिसिन गएको छ भने नबोले फाइदा हुन्छ रे । यो भनाइअनुसार सत्य बोल्दा पनि विचार गरेर बोल्नुपर्दो रहेछ । हाम्रो परम्परा त सत्य कुराभन्दा पनि कसरी पद प्राप्त हुन्छ त्यही कुरा बोल्ने चलन छ ।

प्रसङ्ग नेपाली काङ्ग्रेस वर्तमान अवस्थासम्म आइपुग्दाको हो । २००३ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेसको नाउँबाट स्थापना भएको पार्टी २००६ सालमा आइपुग्दा नेपाल प्रजातन्त्र काङ्ग्रेससँग एकीकरण भएपश्चात् नेपाली काङ्ग्रेसको स्थापना भएको पार्टीको करिब ७२ वर्षको इतिहास केलाउनुपर्ने जरुरी ठानेको छु । हरेक सचेत नागरिकले कुनै पनि विषयलाई राम्ररी बुझ्नका लागि त्यस विषयको पृष्ठभूमि र इतिहासबारे जान्नुपर्ने हुन्छ । अहिले किन काङ्ग्रेस यस्तो अवस्थामा आयो ? के गऱ्यो भने काङ्ग्रेस सुध्रन्छ भन्नेबारेमा व्यापक विचार–विमर्श चारैतिर भइरहेको छ । एउटा प्रजातन्त्र वा लोकतन्त्रमा विश्वास गर्ने पार्टीको बारेमा आन्तरिक एवम् बाह्य बहस गर्नु स्वाभाविकै हो । ‘वादे वादे जायते तत्व बोध’ तत्व निकाल्नका लागि पनि विचार–विमर्श अनिवार्य हुन्छ । यसै विषयमा रहेर नेपाली काङ्ग्रेसलाई कसरी बदल्न सकिन्छ भन्नका लागि सामान्य कार्यकर्ताको नाताले यस लेखमार्फत केही विचार–विमर्श र विवेचना गर्न खोजिएको छ ।

नेपाली काङ्ग्रेस यति सानो पार्टीमा आइपुग्नका लागि बढी दोषी को छ भनेर केलाउने समीक्षा गर्ने कामभन्दा पनि वास्तविक समस्यालाई जीवितै राखेर कोही बाहिर–बाहिर बहकाउमा र लहडको भरमा बहस गर्न गएको हो कि भन्ने पनि कताकता महसुस हुन्छ । नेपाली काङ्ग्रेसले स्थानीय चुनाव मात्र हारेन कि प्रदेश र सङ्घीय चुनावमा पनि नराम्ररी हार व्यहोरेको छ । अब जुवामा हारेका खेलाडीको कुरा र जुवामा जितेका खेलाडीका कुरामा धेरै भिन्नता हुन्छ । त्यही अवस्था काङ्ग्रेसमा भएको छ । कसैले भन्छन्– केन्द्रीय सभापतिलाई विशेष अधिवेशन गराएर भए पनि नबदली हुँदैन, पार्टी सखाप भयो भन्छन् । कसैले भन्छन्– रामचन्द्रको कारणले हो, कसैले भन्छन्– फलानाको कारणले हो । कसैले भन्छन्– दुवैको कारणले हो । कसैले भन्छन्– टिकट वितरणमा गलत भएर हो, कसैले भन्छन्– मलाई टिकट नदिएर हो, कसैले भन्छन्– मलाई टिकट दिएकोचाहिँ एकदम ठीक हो, तर प्रदेशमा वा केन्द्रमा मैले भनेबमोजिम फलानाफलानालाई टिकट नदिएर हो, कसैले भन्छन्– युवालाई टिकट नदिएर हो वा नेतृत्व नसुम्पेर हो आदि । यसमा केही हदसम्म सत्यता हुन पनि सक्छ, तर अहिलेसम्म एकजनाले पनि यो भनेको छैन कि मलाई टिकट दिनु महान् गल्ती थियो ।

यसमध्ये पङ्क्तिकार पनि एकजना उम्मेदवार हो जसले गुल्मी २ नं. क्षेत्रको प्रदेश नं. २ बाट टिकट पाएर चुनाव लडेको तर चुनाव हारेको । मैले पनि पार्टीले टिकट किन दिए होला नदिनुपर्ने हो भनेको छैन, किनकि मलाई टिकट दिएको ठीकै हो जस्तो लाग्छ किनकि सबैथोक काङ्ग्रेस नै हो भनेर लागेँ । त्यसो भए दोषी को हो त ? कहाँ गल्ती कहाँ भयो र नेपाली काङ्ग्रेस हाल यो अवस्थामा कसरी पुग्न गयो ? यस्ता हजारौँ उम्रेका छन् र दिन प्रतिदिन उम्रदै जान्छन् । राजनीति गर्नेले कुरा गर्न जसले पनि जानेको हुन्छ । त्यसकारण सबैको भनाइबाट यो बुझिन्छ कि म मात्रै ठीक हो अन्यचाहिँ बेठीक हो, म मात्रै पवित्र हो, अरू अपवित्र हुन । अर्थात् म लागेको गुट वा मैले सिर्जना गरेको गुटले उठाएको विचार सत्य हो अर्को गुटले उठाएको विचार असाध्यै बेठीक हो भन्नेजस्ता विचार पनि आरोप र प्रत्यारोपमा आइनै रहन्छन् । वरिष्ठ नेता भन्नुहुन्छ सभापतिले गर्दा हो, तर सभापति भन्नुहुन्छ कि होइन वरिष्ठ नेतालगायतकाले काम गर्ने वातावरण नदिएर हो । यस्तैयस्तै कुराहरू पानीको फोकाजस्तो उठिरहन्छन्, पुनः हराउँदै रहन्छन् । यसैबेला फेरि कसैकसैले पार्टीभित्र क्रान्तिकारी धारको अगुवाइ गरेजस्तो गरी मिडियाबाट आफ्ना नेताहरूलाई भाषाशैली मिलाएर गाली गरेपछि आफ्ना कमजोरीहरू ओझेलमा पनि पर्ने, अग्रगमन र परिवर्तनकारी पनि भइने सम्भावना देखेका छन् क्यारे, त्यसैअनुसार उफ्रन्छन् ।

सभापति मात्रै बदल्ने कुरा ठूलो होइन । सभापति बदल्नका लागि र विभिन्न तहमा कार्यसमिति फेरबदल गर्नका लागि अधिवेशन हुँदै तेह्रौँ महाअधिवेशनसम्म आइपुगिएको छ । अब चौधौँ महाधिवेशनमा सभापति कसलाई बनाउने, पार्टीका पदाधिकारीदेखि अन्य सदस्यहरू कस–कसलाई बनाउने भन्ने विषयका लागि नै महाअधिवेशन हुने हो ।

अहिले देश अप्ठ्यारो मोडमा छ, राष्ट्रियता धरापमा छ । किनकि यो नेकपा केपी ओलीको सरकारले मुलुकलाई बाह्य हस्तक्षेपबाट डुबाउँदै छ । मुलुकलाई इसाईकरण गर्नका लागि नेपालले फोरम उपलब्ध गराइदिएबापत प्रधानमन्त्रीले एक लाख डलर पुरस्कार पनि बुझिसके । यस्ता थुप्रै उदाहरण छन् । यही बेलामा नेपाली काङ्ग्रेस पनि निकै अप्ठ्यारो मोडमा पुगिरहेको छ । काङ्ग्रेसलाई आन्तरिक कलहले गाँजेको छ भने अर्कोतिर नेपाली काङ्ग्रेसलाई कमजोर गराउँदै लैजाने हो भने बिस्तारै प्रजातन्त्र समाप्त पारी अर्को तानाशाही उत्पादन गर्ने समूह सल्बलाइरहेका छन्, किनकि संविधानमै समाजवादउन्मुख लेखिएको छ । यस्तो अवस्थामा पार्टीलाई कसरी बलियो बनाउन सकिन्छ भन्नेबारेमा सबै काङ्ग्रेसका कार्यकर्ताले सोच्नु अनिवार्य छ । सभापति मात्रै बदल्ने कुरा ठूलो होइन । सभापति बदल्नका लागि र विभिन्न तहमा कार्यसमिति फेरबदल गर्नका लागि अधिवेशन हुँदै तेह्रौँ महाअधिवेशनसम्म आइपुगिएको छ । अब चौधौँ महाधिवेशनमा सभापति कसलाई बनाउने, पार्टीका पदाधिकारीदेखि अन्य सदस्यहरू कस–कसलाई बनाउने भन्ने विषयका लागि नै महाअधिवेशन हुने हो ।

तर, जसरी सभापति फेर्नेबित्तिकै पार्टी बलियो हुन्छ भन्ने धारणा केही व्यक्तिहरूबाट अगाडि सारिँदै छ, त्यसभन्दा पनि नेपाली काङ्ग्रेसका प्रत्येक कार्यकर्तादेखि नेताहरूले आफूलाई नबदलेसम्म र सोचमा परिवर्तन नआएसम्म काङ्ग्रेसको नेतृत्व बदल्दैमा नेपाली काङ्ग्रेस परिवर्तन भइहाल्छ भन्ने होइन । हाम्रो पार्टी नेपाली काङ्ग्रेसमा हालसम्म धेरैथरी सभापति हुँदै आएका छन् । प्रथम महाधिवेशन २००३ सालमा सभापति टंकप्रसाद आचार्य, द्वितीय महाधिवेशन २००४ सालमा सभापति बीपी कोइराला, तृतीय महाधिवेशन २००५ सालमा सभापति मातृकाप्रसाद कोइराला, चौथो महाधिवेशन २००६ सालमा सभापति पुनः मातृकाप्रसाद कोइराला, पाँचौँ महाधिवेशन २००९ सालमा पुनः बीपी कोइराला, छैटौँ महाधिवेशन २०१२ सालमा सभापति सुवर्णशमशेर राणा, सातौँ महाधिवेशन २०१७ सालमा पुनः सभापतिमा बीपी कोइराला, आठौं महाधिवेशन २०४८ सालमा सभापति कृष्णप्रसाद भट्टराई, त्यसपछि नवौँ, दशौँ र एघारौँमा लगातार गिरिजाप्रसाद कोइराला, बाह्राँै महाधिवेशनमा सभापति सुशील कोइराला र तेह्राँै अधिवेशनबाट शेरबहादुर देउवा भएका हुन् । सभापति त हामीले धेरै भोगिसक्यौँ, बदल्दै पनि आएका छौँ । तर, काङ्ग्रेसको व्यवहारमा परिवर्तन आयो कि आएन यो मुख्य कुरा हो ।

काङ्ग्रेसले राणा त फाल्यो, तर पार्टीभित्रका राणालाई अझै फाल्न सकेको छैन । बिर्ता र जमिनदारी प्रथा पनि काङ्ग्रेसले हटायो, तर आन्तरिक रूपमा बिर्ता प्रथा र जमिनदारी प्रथा अझै कायम नै छ । त्यसकारण प्रवृत्तिमा फरक आउनुपर्दो रहेछ । यसको मतलब सभापति बदल्न हुँदैन भन्ने होइन । सभापति बदल्दै गरौँला, तर सोच कसरी बदल्न सकिन्छ भन्नेमा कसैको पनि ध्यान नगएको हो कि जस्तो छ । राणा फालेको काङ्ग्रेस, पञ्चायत फालेको काङ्ग्रेस, राजा फालेको काङ्ग्रेस, माओवादीलाई सडकदेखि सदनसम्म ल्याएको काङ्ग्रेस किन यो हालतमा पुग्यो ? नेपाली काङ्ग्रेस यो देशको प्रजातन्त्रको पाठशाला हो । साबिकको एमालेले पनि नेपाली काङ्ग्रेसकै सङ्गतमा लागेर कम्युनिस्ट भएर पनि लोकतन्त्रमा विश्वास गर्न सिक्यो । तर, नेपाली काङ्ग्रेसभित्रका कार्यकर्तामा नराम्रोसँग घात–अन्तर्घातले वास गरेको छ । मेरो गाउँमा २०५४ सालको स्थानीय चुनावमा एकजना उम्मेदवारले भन्नुहुन्थ्यो कि उहाँलाई हारिन्छ कि भन्ने चिन्ताभन्दा पनि कतै विजय भइहालिन्छ कि भन्ने डर लाग्छ भन्नुहुन्थ्यो । तर, त्यो उहाँको निकम्मापन थियो । विगतका निर्वाचनमा उम्मेदवारले कसरी जित्ला भन्ने चिन्तनभन्दा पनि कसरी हार्ला भन्ने चिन्तनले गाँजेको थियो । मरेर जिताउन जाग्ने कार्यकर्ताको सङ्ख्यामा पनि कम थिएन, तर एकरूपतामा कमी आयो ।

नेपाली काङ्ग्रेस यो देशको प्रजातन्त्रको पाठशाला हो । साबिकको एमालेले पनि नेपाली काङ्ग्रेसकै सङ्गतमा लागेर कम्युनिस्ट भएर पनि लोकतन्त्रमा विश्वास गर्न सिक्यो । तर, नेपाली काङ्ग्रेसभित्रका कार्यकर्तामा नराम्रोसँग घात–अन्तर्घातले वास गरेको छ ।

त्यसैगरी नेपाली काङ्ग्रेसभित्र बिस्तारै एक–अर्कामा हार्दिकता र बन्धुत्वको अभाव हुँदैगएको छ । कोही–कसैको भलोभन्दा पनि कुभलो चिताउनेहरूको सङ्ख्या बढ्दै छ । यसै प्रसङ्गमा मैले मातृकाप्रसाद कोइरालाको एक उखान यस लेखमा राख्ने प्रयास गरेको छु । वास्तवमा मातृकाप्रसाद कोइराला २००५ सालदेखि २००९ सालसम्म नेपाली काङ्ग्रेस पार्टीका केन्द्रीय सभापति भएका हुन् । सात सालको क्रान्तिमा कमाण्डर पनि भएका हुन्, तर विविध कारणले आफ्नै सहोदर भाइ बीपी कोइरालासँग विचार मिल्न सकेन । मातृकाप्रसाद कोइराला नेपाली काङ्ग्रेसबाट निस्कनुभयो ।

हुन त गणेशमान र कृष्णप्रसाद भट्टराईले पनि पार्टी परित्यागको घोषणा गरेका हुन् । बीपी कोइरालाको तीन वर्षजति स्वकीय सचिव भएर बस्नुभएका इतिहासकार ढुण्डीराज भण्डारीले नेपालको ऐतिहासिक विवेचना भन्ने पुस्तक २०१४ सालतिर प्रकाशन गर्नुभएको रहेछ । त्यसमा उल्लेख भएअनुसार सन् १९५८ साल सेप्टेम्बर २९ गते लेखक ढुण्डीराज भण्डारीले एक होटेलमा मातृकाप्रसाद कोइरालालाई भेटेर सोध्नुभएछ कि किन बीपी र तपार्इंका बीचमा मेल हुन सकेन ? किन एउटै बाबु कृष्णप्रसाद कोइरालाको छोराहरू भएर पनि सँगसँगै किन हिँड्न सक्नुभएन ? २००७ सालको जनक्रान्तिमा त सँगै लडेका हुन् नि । यस प्रश्नको जवाफमा मातृकाप्रसादले लेखकलाई एउटा छोटो कथा सुनाउनुभएछ ।

एउटा गाउँलेको दुई भाइ छोराहरूमध्ये एक भाइ असाध्यै विद्वान् र अर्को असाध्यै मूर्ख स्वभावका रहेछन । तैपनि भगवान् प्राप्तिको लागि दुवै मिलेर एक घना जङ्गलमा घनघोर तपस्या गरेछन् । केही समयपछि उनीहरूको तपस्याबाट भगवान् विष्णु खुसी हुनुभयो र ती दुई भाइहरू तपस्या गरेको ठाउँमा आएर भगवान्ले सर्वप्रथम मूर्ख भाइलाई ‘वरम् ब्रुही’ अर्थात् हे मनुष्य वरदान माग भन्दा मूर्ख भाइले माग्यो कि मेरो विद्वान् भाइले जेसुकै वरदान मागोस् भगवान् त्यसको दुई गुणा फल मलाई प्राप्त होस् प्रभु भन्ने वर पो माग्यो । भगवान्ले तथास्तु भन्नुभयो र पुनः विद्वान् भाइको नजिक गएर ‘वरम् ब्रुही’ भन्दा विद्वान् भाइले मूर्ख भाइले वर (आशीर्वाद) मागेको सुनेको थियो । त्यसैले विद्वान् भाइले यसो विचार गरेर भन्यो कि हे भगवान् मेरो एउटा आँखा तत्कालै फुटोस्, भगवान् तथास्तु भनेर अन्तरध्यान हुनुभयो । तत्कालै मूर्ख भाइको दुवै आँखा फुटेर अन्धो भयो । आखिरमा जङ्गलबाट एक भाइ कानो र अर्को भाई अन्धो भएर फर्के । मातृकाको भनाइअनुसार बीपी र मातृकाको बीचमा यही कथाजस्तो भएको हो भन्ने प्रसङ्ग उल्लेख छ । मातृकाप्रसाद कोइरालाको कथाको प्रसङ्ग अहिले पनि नेपाली काङ्ग्रेसभित्र उत्तिकै मननयोग्य छ । नेपाली काङ्ग्रेसका नेताहरूले प्रवृत्ति नसुधार्ने हो भने हालको सभापतिको कुर्सीमा आएर जोसुकै बसे पनि अवस्था एउटै हुनेछ । सोचमा, चिन्तनमा, व्यवहारमा र आचरणमा परिवर्तन ल्याउनुपर्ने मुख्य कुरा हो ।

यदि साँचो अर्थमा नेपाली काङ्ग्रेस सुधार गर्ने हो भने लालच र लुच्याइँ, दम्भ र मोह, इर्ष्या र वितिष्णा, प्रतिहिंसा र घृणाजस्ता दुष्ट प्रवृत्तिहरूको सट्टा त्याग र उपकार, संयम र विवेक, सद्भाव र सहिष्णुता, प्रेम र उदारताजस्ता सदवृत्तिहरूलाई जगाएर राष्ट्रिय चरित्रको उत्थानमा नेपाली काङ्ग्रेस लाग्नुपर्छ ।

अब एकपटक नेपाली काङ्ग्रेस पुनर्जागरणका लागि २०४२ सालको सत्याग्रहको स्मरण गर्ने समय आएको छ । तलदेखि माथिसम्मका कार्यकर्ताले सोच्ने बेला आएको छ । विशेषगरी उपल्लो तहका नेताहरूले सोच्नुपर्ने हुन्छ । सत्याग्रहको मतलब हुन्छ कि सत्यको आग्रह गर्नु । आत्मामा सत्यको आग्रह गर्नुपर्छ । सत्य सधैँ एउटै हुन्छ, सत्य काङ्ग्रेसको चरम लक्ष्य हो, सत्य प्रकाश हो, प्रजातन्त्र भनेकै सत्य कुरा हो । जनतालाई बुझाउन र भन्न आवश्यक छ । नेपाली काङ्ग्रेसले कार्यकर्ता र जनतामा जाँदा यथार्थ कुरा लगेर जानुपर्छ र भन्नुपर्छ कि हामीमा परिवर्तन आइसक्यो भनेर विश्वास दिलाउनुपर्छ । कुनै ढाँट र छलछामले नेपाली काङ्ग्रेस टिक्न र चल्न सक्दैन । महात्मा गान्धीले भन्नुभएको छ कि सत्य भनेको नै ईश्वर हो । नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ताले आत्मा साक्षी राखी मन, वचन र कर्मले काम गर्नुपर्छ । सत्याग्रहबारे गुरु अङ्गीरस भन्छन्, ‘जो असलको बदला असलले नै दिन्छ त्यसमा कुनै विशेषता नै भएन । वास्तवमा असल मान्छे त्यो हो जसले खराबीको बदला असल नै दिन्छ ।’ गौतम बुद्ध भन्नुहुन्छ, ‘हिंसालाई अहिंसाले, दोषलाई गुणले, क्रोधलाई अक्रोधले, वैरभावलाई निर्वैर भावले जित्नुपर्छ ।’ चिनियाँ दार्शनिक लाओत्से भन्छन्, ‘निर्दयताको बदला दयालुले देऊ, खराबप्रति असल र अविश्वासीप्रति विश्वास गर ।’ ग्रिक दार्शनिक प्लेटो भन्छन्, ‘आफ्ना मित्रलाई मात्र होइन आफूप्रति नराम्रो गर्नेलाई पनि असल व्यवहार गर ता कि बारम्बार असल गर्दिनाले ऊ सुध्रियोस् । ‘ईशामसिहा भन्छन्, ‘म तिमीलाई भन्छु कि खराबीको मुकाबिला नगर । बरु कसैले तिमीलाई दाहिनेगालामा हान्छ भने देब्रेगाला पनि थापिदेऊ ।’ उपर्युक्त भनाइका आधारमा यसरी काङ्ग्रेस सुध्रन जरुरी छ । आचारण नसुधारीकन सभापतिको कुर्सी परिवर्तनको हल्लाले नेपाली काङ्ग्रेसमा परिवर्तन आउँदैन ।

यदि साँचो अर्थमा नेपाली काङ्ग्रेस सुधार गर्ने हो भने पार्टीभित्रका दूषित भावना र विकृत मनोवृत्तिहरूलाई समूल नष्ट गर्नुपर्छ । यसमा सबै नेता र कार्यकर्ता लाग्नुपर्छ । लालच र लुच्याइँ, दम्भ र मोह, इर्ष्या र वितिष्णा, प्रतिहिंसा र घृणाजस्ता दुष्ट प्रवृत्तिहरूको सट्टा त्याग र उपकार, संयम र विवेक, सद्भाव र सहिष्णुता, प्रेम र उदारताजस्ता सदवृत्तिहरूलाई जगाएर राष्ट्रिय चरित्रको उत्थानमा नेपाली काङ्ग्रेस लाग्नुपर्छ । पार्टीभित्र मूल्य र मान्यता खस्किँदै गएको छ । लाभको पदमा गएकाहरूमा एकै रातमा धनी बन्ने आकाङ्क्षा पलाएको छ, हुनेखाने र हुँदा खानेको अन्तर हुँदै गएको छ । नेपाली काङ्ग्रेस पार्टी संरक्षित र सुरक्षित वर्गको हातमा मात्रै गइसकेको छ भने उपेक्षित वर्गले स्थान पाउन सकेको छैन । युवा भन्नेहरू पनि युवाका कुरा र नारा अधिवेशनको मुखमा केन्द्रीय समितिमा जाने नाराबाहेक अरू केही नगर्ने र जसरी हुन्छ काठमाडौंमा घर ठड्याउनेजस्ता आचरणले काङ्ग्रेसलाई उकास्न सकिँदैन । यदि हामी बीपी कोइरालाका अनुयायी हौँ भने अनुशासन, इमानदार, निस्वार्थपन र सादगीपन पालना गरौँ । साम्प्रदायिकता र गुटबन्दीलाई त्यागौँ ।

(लेखक नेपाली काङ्ग्रेस महासमिति सदस्य हुन् ।)