‘निर्मला भगवान र बलात्कारी सरकारको प्यारा भए !’

‘निर्मला भगवान र बलात्कारी सरकारको प्यारा भए !’


– किशोर बुढाथोकी, सिन्धुपाल्चोक

कठै उनको जुन कापी र कलम समाएको थियो
त्यो उनको हात कसैले शिकार समाते जसरी समातिदियो
उनको त्यो शरिरमा कसैले ओलम्पिक दौड खेलिदियो
अनि उनको त्यो सेतो सुरुवाललाई रातो सुरुवालमा परिवर्तन गरिदियो

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकै उमेरकी कवि सविता थापाको कविताको अंश हो यो । हत्या भएको चार महिना बितिसक्दासमेत बलात्कारी पत्ता लगाउन नसकेपछि दबाबस्वरुप आयोजना गरिएको न्यायका निम्ति कविता नामक कार्यक्रममा उनले वाचन गरेको रातो सुरुवाल शीर्षकको यो कविताले उपस्थित सबैलाई भावुक बनायो ।

जिल्लामा सञ्चालन भइरहेको शब्द सारथीको सुन्ने सुनाउने शृंखलाअन्तर्गत विहीबार उनीसहित २० कविले कविता वाचन गरे । हरेक साताको शुक्रबार गर्दै आएको शब्द सारथी शृंखलालाई बलात्कारी पत्ता लगाई कारवाही गराउन सरकारलाई दबाब दिने उद्देश्यअनुरुप कविहरूले यसपटक ‘निर्मला न्याय विशेष’ बनाएका थिए । दबाबस्वरुप निर्मला पन्तको फोटो अंकित कालो टिसर्ट लगाएर कविहरूले कविता वाचन गरेका हुन् । चौतारास्थित टुँडिखेलचोकमा विभिन्न बिम्ब र प्रतीकमार्फत कविहरूले आफ्नो कवितामा निर्मलाका न्यायका निम्ति स्थानीय स्रोतालाई कविता सुनाए ।

कवितामार्फत कविहरूले दोषी पत्ता लगाएर कारवाहीको माग गरे । देशभर न्यायका लागि विभिन्न दबाबमूलक कार्यक्रम भइरहँदा शब्द सारथीको नवौं शृंखलामा निर्मला न्यायका लागि कवि मनहरू एकजुट भएका हुन् । खुला चोकमा गरिएको यो शृंखलामा कवितामार्फत कविहरूले न्यायका लागि जे सुकै गर्न पनि सक्ने तयार चेतावनी सरकारलाई दिए । कविहरूले सरकार पोलमा भेटिएको भन्दै व्यंग गरे भने केहीले सरकार ‘मरेको’ घोषणासमेत गरे । केही कविले न्यायका लागि विकल्प खोज्न नपरोस् भन्ने खबरदारी गरे ।

फूल फुलोस् तर, कोपिलामै झर्न नपरोस्
अब कोही चेली निर्मलाजस्तै अल्पायूमा मर्न नपरोस्

कवि सदिना कुईंकेलले अब यस्तो नहोस् भन्ने बिम्बात्मक कविता प्रस्तुत गर्दै न्यायका निम्ति आवाज उठाइन् । बालिकाको जीवन चोरिएको यथार्थ अनुरोध शिर्षकको कवितामा भाव उतार्दै निर्मला परिवारको पीडा चित्रण गरिन् । कवि अबिरल अप्रियले सरकार भेटिए पनि न्याय अझै नभेटिएकोमा आक्रोश पोखे । निर्मला न्यायका लागि कवि मर्न तयार हुनुपर्ने आग्रह गर्दै दीपक उप्रेतीले कवितामा कटाक्ष गरे, ‘निर्मला भगवान र बलात्कारी सरकारको प्यारा भए !’

कवि अमित घिमिरेले कवितामार्फत बलात्कारी किटान गर्न आग्रह गरे । खबरदार शीर्षकको कवितामा कवि हेमन प्रधानले न्यायको लागि अर्को बिकल्न खोज्न नपरोस भन्दै चेतावनी दिए । कवि जीवन श्रेष्ठले उठ छोरी होमवर्क गर शीर्षकमा कविता बाचन गर्दै छोरीले ‘रेप’ लेख्न सिक्न आग्रह गर्दै कटाक्ष गरे । जे आउँछ मज्जाले पचाउँछ शीर्षकको कविता लिएर प्रस्तुत भएका कवि विजय नेपालले निर्मला न्यायको लागि मुलुकै सडकमा उत्रदा सरकार चुप बसेको भन्दै प्रश्न गरे, ‘सरकारलाई कसले दियो हाजमोला ?’

पातकीहरूको देश शीर्षकका कविता बाचन गर्दै कवि सुरेश बुढाथोकी फकिरले सबैलाई भावुक बनाए । ‘उखुघारीमा भेटिएको शव निर्मलाको मात्र नएर त्यो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखहरूको समेत हो,’ कवितामा उनले छेड हाने । कवितामा आफूलाई किशोरीको रुपमा प्रस्तुत गर्दै कवि किशमा किशोरले ‘आउ मलाई बलात्कार गर’ भन्दै खुला चुनौती पेश गरे । वेदना शीर्षकमा कविता सुनाउँदै दिल कार्कीले निर्मलाका बलात्कारी पहूँचवाला भएको अनुमान लगाए ।

सरकार मरेको घोषणा शीर्षकको कविता लिएर आएका सुन्दर शिरीषले आजकाल आफ्नी छोरीले आफूलाई नजिक नआउन भन्ने गरेको प्रतिकात्मक कविता सुनाए । छोरीको भनाइ उद्धृत गर्दै उनले थपे, ‘बा तिम्रो अनुहार सरकारसँग मिल्छ ।’

शब्द सारथीको न्यायका निम्ति कविताको विशेष शृंखलामा कविहरू डम्बर रसिक, धिताल चिरिच्याँट्ट, नवराज रायमाझी, केदारनाथ दुलाल, बुद्धि आचार्य, सुशील आचार्य, शंकर अधिकारी, सानु घलानले कविता मार्फत चोटिलो प्रहार गरे ।

शब्द सारथीले न्यायका निम्ति कविता वाचन गरेपछि यस्तै प्रकृतिको कार्यक्रम बाह्रविसेमा समेत आयोजना गरिएको थियो । बाह्रविसेमा सिन्धु साहित्यिक चौतारीले सडकमा न्यायका निम्ति दबाबमूलक कविता वाचन कार्यक्रम राखेको हो । बाह्रविसेमा भएको कविता वाचनमा अमित घिमिरे, प्रविना राउत, हेमन्त श्रेष्ठ, सुरेश बुढाथोकी, नवराज रायमाझी, किशोर बुढाथोकी, सुन्दर शिरीष, अविरल अप्रिय, चमेली थामीलगायतले सरकारलाई निर्मलाका लागि न्याय दिलाउन दबाबस्वरुप कविता प्रस्तुत गरे ।