अवैध कोइला खानीमा बाढी पस्दा १३ मजदुरको मृत्यु–आशंका

अवैध कोइला खानीमा बाढी पस्दा १३ मजदुरको मृत्यु–आशंका


भारतको मेघालय राज्यमा अवैध रूपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदार भित्रै थुनिएकाले उनीहरूको मृत्यु हुन सक्ने आशंका गरिएको छ ।

अन्य दर्जनौँ कामदारले बाढीको पानी फाल्न कोसिस गरिरहेका छन् । मेघालयमा भएको वर्षापछि बिहीबार बिहान सबेरै खानीमा पानी पसेको थियो । खानीमा बेपत्ता भएकाको खोजी र उद्धारकार्य जारी रहेको स्थानीय प्रहरी अधिकारी लेथिन्द्रा संगमाले जानकारी दिए ।

भारतको एक अदालतले सन् २०१४ पछि सो इलाकामा कोइला खानी खोल्न प्रतिबन्ध लगाएको थियो । वातावरणकर्मीहरूले पानी दूषित हुनुको प्रमुख कारण नै यी कोइला खानीहरू रहेको भन्दै खानीमा प्रतिबन्ध लगाउन माग गरिरहेका थिए ।

सरकारी प्रतिबन्धका बाबजुद त्यस इलाकामा अवैध रूपमा अव्यवस्थित कोइला खानी सञ्चालन हुने क्रम जारी रहेको सरकारी अधिकारीको भनाइ छ ।