मध्यप्रदेशमा कंग्रेस नेता कमलनाथले सोमबार मुख्यमन्त्रीको शपथ लिँदै

मध्यप्रदेशमा कंग्रेस नेता कमलनाथले सोमबार मुख्यमन्त्रीको शपथ लिँदै


भारतीय कंग्रेस पार्टीका प्रख्यात नेता कमलनाथले यही डिसेम्बर १७ मा मध्यप्रदेशको मुख्यमन्त्रीको शपथ लिने भएका छन् । डिसेम्बर १३ मा मध्यप्रदेशको मुख्यमन्त्री नियुक्त भएका कमलनाथले ‘लाल परेड ग्राउन्ड’मा शपथग्रहण लिने समाचारमा जनाइएको छ ।

मध्यप्रदेशको कंग्रेस समिति (एमसीसी) का अध्यक्षसमेत रहेका कमलनाथलाई मुख्यमन्त्री बनाउने निर्णय बिहीबार अबेर राति घोषणा भएको थियो । हालै सम्पन्न विधान सभाको निर्वाचनमा कंग्रेस पार्टीको विजयपछि कमलनाथलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको हो ।

यसअघि भारतीय जनता पार्टी (बीजेपी) का नेता शिवराज सिंह चौहान तीनपटकसम्म लगाताार सो राज्यको मुख्यमन्त्री रहेका थिए ।

आफ्नो राजनीतिक यात्रा शुरु भएयता ७२ वर्षीय कंग्रेस नेता कमलनाथ पहिलोपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी कंग्रेस पार्टीको तर्फबाट मध्यप्रदेशमा नौपटकसम्म सांसद भएका थिए ।

यसअघि पनि उनले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको मन्त्रिमण्डलमा दुई पटकसम्म उद्योग र यातायतमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

मध्यप्रदेशमा भएको निर्वाचनमा कंग्रेसले १ सय १४ सिटमा विजय प्राप्त गरेको छ । बहुमत प्राप्त गर्नको लागि कंग्रेसको दुई सिट मात्र कम भएको थियो ।