छैन रहर बाँकी

छैन रहर बाँकी


– राजेश ढुंगाना

देख्न केही
बाँकी रहेन यी आँखाहरूले
सुन्न केही थाति बसेन
यी कानहरूले
बस् !
अब देख्ने आँखा
बन्द भए हुन्छ
आँखा स्वयंले
गलत देखेको हेर्ने
कुनै मन अब बाँकी छैन
कान आफैले
झुटो सुनेको सुन्ने
रहर पनि अब
थाति छैन !

बाँचेकै छु भनेर
आफैंले आफैंलाई ढाट्ने
त्यस्तो कुनै
आकाङ्क्षा पनि शेष रहेन
सत्य !
सबैथोक देखेर पनि आँखाले
केही पनि नदेखेको बयान दिन
मन अब रत्ति राजि छैन !

मुटु ढुंगामा
अनुवाद भएको
चुपचाप
हेरिरहने
किन त्यस्तो
संवेदना बाँकी रहनु ?
मष्तिष्क स्वयंले
गलत सोचेको सोच्न
बारम्बार आफैं
कत्ति आदेश दिइरहनु ?

सबै चिज
भोगी सकेपछि
जीवनको
अर्थ पनि सायद
अनर्थ बाहेक
अर्थोक केही नहुदो रहेछ !

छ्या ! मान्छेले
मान्छेलाई मान्छे हुनुमा
बारम्बार
दिइरहेको गवाहीमै पनि
अविश्वास गरेको मान्छेले नै
हेरिरहन सक्ने
भो !
अब मसँग त्यस्तो कुनै
मनुष्यत्व बाँकी छैन
बरु मेरो जीवन
मृत्युलाई
खुसुक्कसँग लेखिएको
एउटा अनौठो
प्रेम–पत्र नै सही
तर आफू जिउँदो हुँदै
मनुष्यत्व यसरी हरेक पल
ठहरै मरिरहेको जीवन भोग्ने र
भोगिरहने
भो !
मसँग अब
त्यस्तो कुनै रहर
बाँकी छैन !