एकताको ‘राग’मा होइन, आन्दोलनको जगमा ‘राप्रपा’ निर्माण

एकताको ‘राग’मा होइन, आन्दोलनको जगमा ‘राप्रपा’ निर्माण


– विजय खड्का

सम्बर्द्धनवादको वैचारिक धरातलमा संवैधानिक राजसंस्था, सनातन हिन्दूराष्ट्र, सङ्घीयताको विकल्पमा सुदृढ स्थानीय स्वायत शासन प्रणाली राप्रपाको मूल आत्मा हो । सङ्गठन निर्माण, जनपरिचालन र सङ्घर्षको बलमा सम्बद्र्धनवादी शक्तिहरूलाई एकीकृत र ध्रुवीकृत गर्दै वर्तमान संविधान र राज्यसत्ताविरुद्ध आन्दोलनको जेहाद छेड्दै मुलुकलाई राजसंस्था, हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनतर्फ उन्मुख गराउनु आजको आवश्यकता हो ।

राप्रपालाई विश्वासिलो, भरपर्दाे राष्ट्रवादी शक्तिको रूपमा स्थापित गराउन यसका आमकार्यकर्ता र जनताको तिव्र दवाव र चाहना छ । विगतमा राप्रपा ढुलमुले, सिद्धान्तहीनहरूको जमात मात्र थियो । राष्ट्रिय स्वार्थ, पार्टी हित, नीति सिद्धान्तभन्दा आफ्नो पदको र गुटको मात्र संरक्षण र घेराबन्दीमा रहेर सबै तह, तप्काका कार्यकर्ता र नेपाली जनतालाई राप्रपाका नेताहरूले निराश बनाए । धेरै टाउको जोडेर वा ठूला–ठूला भुँडी जोडेर मात्र पार्टी ठूलो बन्ने रहेनछ भन्ने हेक्का विगतको एकीकरण र फुटले पनि प्रमाणित गरिसकेको छ । विभिन्न गुटको स्वार्थको टकरावले पार्टी अझ तहसनहस हुने र जुझारु कार्यकर्तामा नैराश्यता पैदा हुने स्पष्ट थियो ।

अब राप्रपालाई एउटा वैकल्पिक प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्न सैद्धान्तिक स्पष्टता, इमानदारिता र दृढ इच्छाशक्तिको खाँचो छ । ढुलमुले विचार, चरित्र र वैदेशिक इच्छाको भारी बोक्ने नेतृत्व पार्टीमा हाबी भयो भने पार्टी न हाँस न बकुल्लाको चालमा रहन्छ । स्वार्थको चास्नीमा डुबेकाहरूबाट राष्ट्रवादी आन्दोलनले सही र सबल नेतृत्व पाउन सक्दैन । अहिले नेपाली जनता यथाशक्य सरकारको कुशासन, विचलन र कम्युनिस्ट अराजकताबाट मुक्ति पाउन चाहन्छन्, यस्तो अवस्थामा राप्रपालाई पार्टी एकताको नाममा अल्मलिने, समय लम्ब्याउने, कुनै पनि बहानाबाजीमा पलायन हुने छुट छैन, राप्रपा वा यो नेतृत्व पलायन भएमा नेपाली जनताको यो मुद्दा सदाका लागि अन्त्य हुने खतरा छ ।

देशी–विदेशी तत्वको डिजाइनमा मुलुकमा धार्मिक द्वन्द्व फैलाउँदै मुलुकलाई अस्थिर बनाउने र त्यही अस्थिरताको नाममा आफ्नो स्वार्थ सिद्ध गर्ने कुत्सित षड्यन्त्रको गन्ध आउँदै छ । त्यसको पछिल्लो कडी एसिया प्यासिफिक समिटको नाममा क्रिश्चियनहरूले गरेको सम्मेलन र त्यस्ता राज्यसत्ता र शक्तिको चरम दुरुपयोगलाई लिन सकिन्छ, नेपालको गरिबी, अशिक्षालाई हतियार बनाएर पश्चिमा डिजाइनमा क्रिश्चियानिटीको व्यापक प्रचारले परराष्ट्र सम्बन्धको सन्तुलन पनि बिग्रिने अवस्थामा छ । विशाल छिमेकी भारत र चीन नेपालको कम्युनिस्ट सरकारले क्रिश्चियनहरूप्रति देखाएको सद्भावले सशङ्कित भएका छन् । यस्तो अवस्थाको सामना गर्न एउटा स्पष्ट राष्ट्रवादी शक्तिको खडेरी राप्रपाले पूरा गर्नुपर्ने आजको कार्यभार हो ।

विशाल छिमेकी भारत र चीन नेपालको कम्युनिस्ट सरकारले क्रिश्चियनहरूप्रति देखाएको सद्भावले सशङ्कित भएका छन् । यस्तो अवस्थाको सामना गर्न एउटा स्पष्ट राष्ट्रवादी शक्तिको खडेरी राप्रपाले पूरा गर्नुपर्ने आजको कार्यभार हो ।

यो कार्यभार र जिम्मेवारी पूरा गर्न त्यति सजिलोचाहिँ छैन । राप्रपाको पटक–पटकको सत्तागमनलाई नेपाली जनताले स्वीकार गरेनन् । राप्रपा स्पष्ट अडानसहित काङ्ग्रेस–कम्युनिस्टको विकल्प बन्न सक्नुपर्छ भन्ने आमजनताको चाहना थियो । अझ स्पष्टसँग भन्नुपर्दा राप्रपालाई यो स्थानमा ल्याउन र राजसंस्था, हिन्दुत्व र राष्ट्रियताको मुद्दालाई सशक्त ढङ्गले जनतामाझ पुऱ्याएर राप्रपा नेपाल हुँदै राप्रपालाई यो उचाइमा पुऱ्याउने नेता कमल थापाको पटकपटकको सत्तागमनलाई जनताले अस्वीकार गरे । उहाँलाई वैकल्पिक धारको नेता बनाउने जनचाहना थियो । उहाँकै कारणबाट भनौँ वा षड्यन्त्रलाई चिर्न असफल हुँदा जनताको यो चाहना पूरा हुन सकेन । यसलाई पार्टीजीवनको एउटा दुर्घटना मानेर पाठ सिक्दै अघि बढेमा आगामी दिनमा पार्टीलाई निःसन्देह सफलता मिल्ने नै छ ।

यसैबीच बागमतीमा धेरै पानी बगिसकेको छ । दुईतिहाइको सरकार असफलतातर्फ उन्मुख छ । हिन्दुत्व, राजसंस्था र राष्ट्रियताका लागि कम्युनिस्ट उदय शुभसङ्केत थिएन । तैपनि स्थायी सरकारका लागि जनताले दुईतिहाइ दिएका थिए । एकातिर सरकार हिन्दुत्व र राजसंस्थाप्रति अनुदार देखिँदै छ भने अर्काेतर्फ राष्ट्रवादी, हिन्दुवादी, राजावादी पार्टी सशक्त आन्दोलनको मुडमा छ । विगतको गल्ती–कमजोरीको विषयमा राप्रपा अध्यक्ष कमल थापालगायत सम्पूर्ण पार्टीपङ्क्तिले आत्माआलोचना गरिसकेका छन् । अब राप्रपा हिन्दूराष्ट्र र राजसंस्था पुनस्र्थापना नभई सरकारमा जाने मुडमा छैन । यो विषयमा राप्रपाले जनतालाई आश्वस्त बनाउनैपर्छ । हिन्दूराष्ट्र र राजसंस्थावादी सङ्घीय र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने एक मात्र पार्टी राप्रपा हो । आफ्नै सन्तान ठानेर नेपाली जनता राप्रपालाई पुनः एकपटक मौका दिने, परख गर्ने मुडमा भएको आभास राप्रपाको कार्यक्रममा भएको जनआकर्षणले पुष्टि हुँदै छ । हालै मात्र झापामा हिन्दूराष्ट्र पुनस्र्थापना कार्यक्रममा हजारौँको सङ्ख्यामा भएको उपस्थितिले पनि यसलाई प्रमाणित गरेको छ ।

राप्रपा एउटा मिसनमा छ, निरन्तर जनताको बीचमा छ । पार्टीको सङ्गठनलाई सुदृढ गर्दै आगामी फागुन ७ गतेबाट राप्रपाले हिन्दूराष्ट्र, राजसंस्था र समृद्धिका लागि विशाल आन्दोलनको तयारी गरेको छ । त्यसअघि राप्रपाले सबै तह र क्षेत्रमा सङ्गठन निर्माण, प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरीय कार्यक्रम तथा राष्ट्रिय स्वाभिमानको यात्रा गर्नेछ । जसरी ०४६–४७ वा ०६३–६४ को आन्दोलनले नेपालमा केही राजनीतिक दलहरू स्थापित भएका थिए, त्यस्तै यो आन्दोलनबाट राप्रपा मात्र स्थापित हुनेछैन, समस्त हिन्दू जगत्, राजसंस्थावादी राष्ट्रवादी नेपालीले पनि गौरवान्वित भएको महसुस गर्नेछन् ।

राप्रपाले राजसंस्था, हिन्दूराष्ट्रको मुख्य मुद्दामा सैद्धान्तिक प्रस्टता भएका सबै दल, पक्ष तथा समूहसँग एकता, सहकार्य र मोर्चाबन्दी खुला राख्दै पार्टीले जन्माएको र रक्षा गरेको नीति, सिद्धान्तको जगमा तमाम द्विविधा, विसङ्गति र विकृतिको अन्त्य गर्दै, राष्ट्रवादी र सम्बर्द्धनवादी शक्तिको नेतृत्व लिँदै समृद्ध नेपाल निर्माण गर्नु आजको आवश्यकता हो ।

(लेखक राप्रपाका केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख हुन् ।)