यसरी फिर्ता भयो नेपालको भूमि

यसरी फिर्ता भयो नेपालको भूमि


श्री ३ जंग मार्च २३ तारिखका दिन लखनऊ छोडी अप्रिल १, १८५८ का दिन इलाहाबाद पुगे । गभर्नर जनरल लर्ड क्यानिङले दिलदेखि उनको भव्य स्वागत गरे । अप्रिल ८ का दिन लर्ड क्यानिङको र जंगबहादुरको भेटवार्ता भयो, त्यस अवसरमा लर्ड क्यानिङले ‘तपाईंको हामी ब्रिटिसमाथि ठूलो देन छ । तपाईंलाई खालि धन्यवादको शब्द मात्र पर्याप्त हुँदैन, तसर्थ पछि– परन्तुसम्म याद रहनाको खातिर तपाईंलाई र तपाईंको जनताको खातिर सन् १८१५ मा अङ्ग्रेजले नेपालबाट लिएको इलाका नेपाल सरकारलाई फिर्ता गर्ने भएको छ’ भनी सुनाए ।

इलाहाबादबाट श्री ३ जंग काशी–वनारसतर्फ लागे । काशीमा ६ दिनसम्म मुकाम गरे, यसै अवसरमा जंगले भारत– ‘कटक’ स्टेटकी राजकन्यासँग काशी विवाह गरी ‘गंगा महारानी’को पदसमेत दिई साथै काठमाडौं लिई आए । काशीबाट काठमाडौंतर्फ लाग्दा छोटो बाटो गरी हिँड्दा, बाटोमा बलरामपुर स्टेटमा पनि जंगले क्याम्प खडा गर्नुप¥यो । बलरामपुरका तत्कालीन राजा दिग्विजय सिंहले श्री ३ जंगको वास्तै नगरेको हुँदा निज राजालाई पक्री ल्याई आफ्नो क्याम्पअगाडिको रूखमा बाँधेर राखे । पछि ज्यादै रोई–कराई माफीसमेत मागेपछि छोडियो । मे ४, १८५८ का दिन श्री ३ जंग दलबलका साथ काठमाडौं आइपुगे ।

श्री ३ जंग बराबर भन्ने गर्दथे रे कि ‘दिसम्बर १०, १८५७ देखि मार्च २३, १८५८ सम्म यो १०४ दिन मेरो जीवनको बडो कठोरको दिन थियो ।

केही दिनपछि नवाव रमजान अलि खाँ र नवाव मिर्जा ब्रिटिस कादरहरूले अवध– हाल उत्तर प्रदेशबाट श्री ३ जंगलाई काठमाडौंमा पत्र पठाए, सो पत्रको नेपालीमा श्री ३ जंगकै समयमा मुन्सीखानाबाट उल्था गरेको हुबहु यसप्रकार लेखिएको छ–

‘अङ्ग्रेजहरूलाई मेरो बाबु–बाजेहरूले हिन्दुस्थानमा पाइलो हाल्न नदिएबाट बनारसको राजालाई जबर्जस्ती हत्याई बनारस जिल्ला अङ्ग्रेजले हातमा पारी दिने पनि हामी नै हौँ, गुन मानेर सूर्य–चन्द्र छउन्जेल अङ्ग्र्रेज सरकार हामीउपर बीसबास पात्र भइरहेछन् भनी सन्धिपत्रमा सही गरेको थियो । तर केही समयपछि नै ती बैगुनी फिरङ्गीहरूले त्यो सन्धिपत्रमा हरताल लगाई कुन बेइमानहरूको कुरा सुनी वाजिद अली साहलाई गद्दीबाट झिकी उनको राज्य, दरबार, जवाहरातहरू र उनको भएभरको सबै चिज जफत गरेर लियो । अनि हाम्रो जम्मै मुलुकै बर्बाद पारिदिनेलाई ठूलो फौज र हातहतियारसमेत जम्मा गरेको थियो । भर्खरै भएको यो विद्रोहको मुख्य कारण के हो भने हामी हिन्दू र मुसलमानको समेत धर्म भ्रष्ट पारिदिन तिनीहरूले गाईको, सुँगुरको बोसो घसिएको कारतोसहरू ल्याएर फौजमा बाँडी कवायतको बखतमा सो कारतोसहरूलाई सिपाहीहरूको दाँतले टोक्न भन्ने अडर ग¥यो । यो अपराधी अर्डरमा मन्जुर नगर्ने सिपाहीहरूलाई तोपको मुहरीमा हालेर उडाइदिँदाको साँचो कुरो तहाँ तपाईंलाई पनि अवश्य थाहै होला ।’

‘हिन्दूस्थानको सारा हिन्दू र मुसलमानहरूको नाउँबाट म तपाईंलाई सच्चा दिलले बिन्ती गर्दछु कि अब तपाईं कत्ति पनि मनमा द्विविधा नगरीकन हाम्रो पुरानु धर्म बचाउनका खातिर तपाईंको फौज हाम्रो फौजमा मिलाउन ल्याउनुहोस्, हामी तपाईंलाई निश्चयसँग भन्दछौँ कि तपाईंको सहायता पाएमा अङ्ग्रेजले हाम्रो सामुन्नेमा कदापि अड्न सक्ने छैन र त्यसलाई जित्न सकेमा तपाईंको पवित्र गंगाको सिमाना तपाईंलाई मिल्नेछ र हिन्दुस्थान सबभन्दा सिरादेश भनी नेपाललाई मान्नेछौँ ।’

श्री ३ जंगले नवाब मिर्जा ब्रिटिस कादरलाई सम्बोधन गरी जवाफ लेखेको त्यस समयकै मजबुन नेपालीमा मुन्सीखानाबाट उल्था गरेको हुबहु यसप्रकार लेखिएको छ–

‘अंग्रेजले हिन्दू र मुसलमानको धर्म नष्ट गर्न लाग्यो भनी हिन्दूधर्मको बचाउको खातिर हिन्दुस्थानमा आई हिन्दुस्थानीहरूको पक्ष लिन तिमीले मलाई लेखेको जेठ १३ गतेको चिठी मैले पाएँ, अङ्ग्रेजहरू हिन्दुस्थानमा आई पावर जमाई बसेको अहिले १०० वर्षभन्दा पनि बढी भइसक्यो । तिनीहरूले अर्काको धर्ममा अपराध पारेको आजसम्म एक कुरा पनि सुनिएको छैन । अङ्ग्रेजहरूको विरुद्धमा तिमीले जे लेखेका छौ, तेसको केही प्रमाण मात्र मसँग भएको भए आफ्नुउपर धर्मविरुद्ध गर्न खोज्ने त्यस्तालाई गर्नुपर्ने कुराको म पनि सोच विचार गर्दथेँ ।’

‘यो सबैलाई थाहा होस् भनी म लेख्दछु कि निर्दोषी आइमाई र बालबच्चाहरूलाई समेत मारेर मानिसको जातिले गर्ने नहुने कुरा गरी हिन्दू र मुसलमानहरू ठूलो अपराधी र दोषी भएका छन् । नेपालको हिन्दू राजले अङ्ग्रेज सरकारउपर यस्तो नराम्रो विरुद्धको कुरामा कहिले पनि चुप लागेर बस्नेछैन । तिमीहरूले मलाई दोस्तानी दिन चाहन्छु कि अबउप्रान्त तिमीले कत्ति पनि ढिला नगरी लखनउको कमिस्सनर मिस्टर मन्टकमरीकहाँ गएर शरण पर । तिमीलाई निश्चय गरेर भन्दछु कि मिमहरू र अङ्ग्रेजका बच्चाहरू मार्नेबाहेक तिमीले र तिम्रापछि लाग्ने सबैले क्षमा पाउने छ ।’

(श्री ३ हरूको तथ्य वृत्ताान्त)