बाघको छालामा स्यालको रजाइँ

बाघको छालामा स्यालको रजाइँ


इन्द्रबहादुर बराल

‘बाघको छालामा स्यालको रजाइँ’ भन्ने उखान अझै प्रचलनमा छ । यसको अर्थ हुन्छ– एउटाको सम्पत्तिमा अर्काको मोजमस्ती । तर, आजभोलि उक्त उखान कमैलाई मात्रै जानकारी होला । त्यसैले त्यो उखान त्यति धेरै सुनिँदैन । यद्यपि आज ‘बाघको छालामा स्यालको रजाइँ’ शीर्षकमा कलम चलाउन ‘युनिर्भसल पिस समिट’ ले प्रेरित ग¥यो र केही लेख्न जमर्को गरिएको हो । नेपाल भूमि देवभूमि हो, यहाँ अनेकन हिन्दूहरूका तीर्थस्थल छन् । देश–विदेशबाट ऋषिमुनीहरू तपोभूमि नेपालमा ओइरो लागेर आउने गर्दछन् । नेपाल टेक्नेबित्तिकै आफूलाई गर्व गर्नेहरूको सङ्ख्या ठूलो छ । नेपाल गौतम बुद्धको जन्मभूमि हो, सगरमाथाको देश मात्र भनेर चिनिएको होइन । यो त तेत्तीसकोटी देवताले वास गरेको पावन भूमिको रूपमा संसारभर परिचित छ ।

त्यसैले संसारका हिन्दूहरूको धार्मिक गन्तव्य बनेको छ नेपाल । यसो हुँदाहुँदै पनि नेपालमा किन धार्मिक असहिष्णुताको विजारोपण गर्दै छ नेपालको कम्युनिस्ट सरकार । यो एउटा गम्भीर चिन्ता र चासोको विषय बनेको छ । दुनियाँमा हिन्दूराष्ट्र नेपालले आफ्नै चिनारी बनाएको र त्यसमा सम्पूर्ण नेपालीले गर्व गरेको अवस्थामा आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न हाम्रा नेताहरू, विशेष गरेर सत्तारुढ कम्युनिस्टहरू किन र केका लागि हात धोएर इसाईकरणको चक्रब्युहमा लागे भन्ने कुरा सायद अब बुझ्न कठिन छैन । नेपालका कम्युनिस्ट र इसाई धर्म एक–अर्काको परिपूरक हुन् कि भन्ने धेरै तादात्म्यता देखिन्छ ।

इसाई धर्म प्रचारक पादरीका शैली र कम्युनिस्टहरूको साङ्गठनिक शैली हेर्दा यिनीहरू दाजुभाइजस्तै देखिन्छन् । फरक यत्ति हो– इसाईहरू मानवीय सेवा गरेजस्तो गरेर आफ्नो धर्म प्रचारमा भेटिन्छन्, कम्युनिस्टहरू क्षणिक प्रभावमा पारेर आफ्नो स्वार्थ पूरा गर्दछन् । जे होस्, यी दुई अर्थात् नेपालको वर्तमान कम्युनिस्ट सरकार र इसाईहरूबीच गहिरो साँठगाँठ अर्थात् अन्योन्याश्रित सम्बन्ध भएको पुष्टि गर्दछ युनिभर्सल पिस समिटले । अहिले यत्रतत्र चाहे त्यो विद्युतीय सञ्चारमाध्यममा होस् वा पेपर मिडियालगायत सामाजिक सञ्जालमा यति ठूलो विरोध भइरहँदा सरकार आँखा चिम्म गरेर इसाईकरणको तीव्र सहयोग र समर्थन या सम्पूर्ण राज्यको शक्ति प्रदर्शन गरिरहेको छ ।

सरकारका यस्ता हर्कतले नेपालीको आफ्नो मौलिक पहिचान सेतो छालाको प्रभावका सामु घुँडा टेकिरहेको छ । स्वाभिमानी नेपालीको शिर निहुरिएको त छँदै छ, झनै प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सम्मेलनको विरोध गर्नेलाई असामाजिक तत्वको बिल्ला भिराएर पक्राउसमेत गर्नु अर्को विडम्बना हो । हुन त सुन्ने गरिन्थ्यो– नेपालका कम्युनिस्टहरू राजा महेन्द्रको कोखमा जन्मिएका हुन् भनेर, आज जुन शब्द (असामाजिक तत्व) निस्किएको छ त्यो पञ्चायतबाट आयात गरिएको प्रतीत हुन्छ । नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउनुमा थोरबहुत सबै नेता र पार्टीहरू जिम्मेवार छन् । तर, माओवादीले चलाएको १० वर्षे जनयुद्ध र त्यसलाई शान्तिप्रक्रियामा ल्याउने प्रयत्नस्वरूप अनायासै नेपालमा सङ्घीयता र धर्मनिरपेक्षता थोपर्ने काम भयो । उक्त कार्य अर्थात् सङ्घीयता र धर्मनिरपेक्षता स्वीकार नगरे नेपाली राजनीतिमा धरै थिएन । अन्ततः आफूलाई राजावादी र हिन्दूवादी भन्नेहरू पनि नेपालको जारी संविधान २०७२ लाई मान्दै के कमल थापा, के चित्रबहादुर केसी सबै उपप्रधानमन्त्रीको शपथ लिएर हुइँकिन छाडेनन् । यो एउटा बाध्यात्मक अवस्था सिर्जना गरेर अर्थात् ट्रयापमा पारेर मुलुकलाई कसरी आवश्यक नै नभएको सङ्घीय प्रणाली र धर्मनिरपेक्ष राष्ट्र बनाइएको रहेछ भन्ने प्रमाण यो ‘युनिभर्सल पिस समिट’ सफल गराइछाड्ने वाम सरकारको हर्कतले पुष्टि गर्दछ । यसर्थ नेपालका कम्युनिस्टहरू विशेष गरेर सत्तासीन पार्टी र इसाईहरूको सङ्गठन युनिभर्सल पिस फेडेरेसन एउटा सिक्काका दुईवटा पाटा हुन् भन्दा अन्याय नहोला ।

संविधान जारी गर्दाको बखतमा पनि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन निकै ठूलो आर्थिक चलखेलको बजार हल्ला नसुनिएको पनि होइन । आजभोलिको गतिविधि हेर्दा ती हल्ला साँच्चै रहेछन् भनी सोच्ने बेला आएको छ ।

यसै सन्दर्भमा नेपाल सरकारको आधिकारिक तथ्याङ्क २०६८ तर्फ ध्यान दिने हो भने नेपालमा यतिविधि क्रिश्चियनहरू कसरी बने भन्ने कुनै अनुमान गर्न सकिँदैन । प्रतिशतमा भन्ने हो भने हिन्दू मात्रै ८१.३ प्रतिशत छन् जसको कुल जनसङ्ख्यामध्ये २,१५,५१,४९२ देखिन्छ भने क्रिश्चियनहरूको १.४ प्रतिशत र जनसङ्ख्या ३,७५,६९९ देखिन्छ । हिन्दू र क्रिश्चियनबीच कुनै तुलना नै हुन नसक्ने अवस्थामा एकाएक ५–७ वर्षको अन्तरालमा के चमत्कार भयो र आज हिन्दूराष्ट्र नेपालमा क्रिश्चियनहरूको यो ताण्डव नृत्य देख्नुपऱ्यो ? यसै मेसोमा सामाजिक सञ्जालमा पूर्वयुवराज्ञी हिमाली शाहको नामबाट एउटा ‘व्यङ्ग्य’ देख्न–पढ्न पाइएको थियो । त्यो के भने ‘हार्नेभन्दा जित्ने धेरै छन् यहाँ, जित्नेभन्दा दुई–चार पैसामा बिक्ने धेरै छन् यहाँँ’ । आज कताकता पूर्वयुवराज्ञी हिमानी शाहको त्यो फेसबुक स्टाटसको याद आउन थालेको छ ।

संविधान जारी गर्दाको बखतमा पनि नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन निकै ठूलो आर्थिक चलखेलको बजार हल्ला नसुनिएको पनि होइन । आजभोलिको गतिविधि हेर्दा कतै ती हल्लाहरू साँच्चै त होइनन् भनेर सोच्ने बेला आएको छ । आज मुलुकमा दुईतिहाइ बहुमतको कम्युनिस्ट सरकार विद्यमान छ । जनतामा धेरै आश्वासन बाँडिएको छ र ती जनतामा बाँडिएका आश्वासन र जनताले गरेको अपेक्षा पूरा गर्नुको सट्टा इसाईहरूको सङ्गठन ‘युनिभर्सल पिस फेडरेसन’मा जनताको आवतजावत गर्ने अधिकारसमेत कटौती गरी सार्वजनिक तथा निजी सवारीसाधनमा जोर–बिजोर प्रणाली लागू गर्नु सरकारको लज्जास्पद र कायरतापूर्ण कार्य हो । यति बलियो सरकार एउटा गैरसरकारी संस्थाका सामु किन नतमस्तक बन्यो भन्ने कुरा मननीय छ । अब नेपालीले गम्भीर भएर सोच्नैपर्छ ।

नेपालीको ध्यान अब एकपटक दशवर्षे जनयुद्ध र त्यसको परिणामस्वरूप नेपालीले के पाए ? निकै ठूलो जनधनको क्षतिपश्चात् नेपालीले के पाए ? शान्तिप्रक्रियालाई तार्किक निष्कर्षमा पुऱ्याउने सन्दर्भले नेपालले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी त पप्त गऱ्यो, तर व्यवहारमा के भयो त ? एउटा राजाको ठाउँ अर्को विराजमान भए । सामाजिक सञ्जालमा प्रधानमन्त्रीको उपचार खर्च र राष्ट्रपतिलाई थप गाडी सुविधाको चर्को विरोध भएकै छ । अर्कोतर्फ निर्मला पन्तको बलात्कारपछि हत्या भएको र दोषी पत्ता लगाउन सरकार अझै असफल देखिन्छ । निर्मला पन्तको फोटो टाँस्नेलाई सरकार पक्राउ गर्छ । यो कस्तो लोकतन्त्र ? पीडितको फोटो टाँस्नै नपाउने हो भने न्याय खोज्न कहाँ जाने ? यसको पनि जवाफदेहीपूर्ण जवाफको प्रतीक्षामा छन् नेपाली जनता । बिजुलीका पोलपोलमा प्रधानमन्त्रीको तस्बिरअङ्कित पोस्टर टाँसेर कि त यो सरकार अधिनायकवादी बन्ने चेष्टामा छ कि त भने प्रधानमन्त्रीका भजनमण्डलीले उनलाई ‘बादशाहको नयाँ कपडा’ भन्ने कथाहरूका पात्र बनाउँदै छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ पनि सचेत रहन जरुरी देखिन्छ । होइन, कम्युनिस्ट अधिनायकवादको सपना हो भने त केही भन्नु छैन । चाहे जे होस्, अहिले जसरी सरकारले एउटा गैरसरकारी संस्थाको कार्यक्रमलाई जसरी राजकीय सम्मान र स्वरूप दिएको छ, त्यसको चित्तबुझ्दो जवाफ नेपालीले खोजिरहेका छन् । नेपालीको मौलिक पहिचानमाथि धावा बोल्ने जुन काम भएको छ, त्यो कार्य क्षम्य हुनेछैन । देवभूमि र शान्तिभूमि नेपालमा क्रिश्चियनहरूको ताण्डवनृत्य ‘बाघको छालामा स्यालको रजाइँ’ हो । सायद गौतम बुद्धले पनि अहिंसा र शान्तिको सन्देश त्यसै दिएका थिएनन् होला । शान्तिका पुजारी र अग्रदूतको पनि सम्मान गर्न सिकौँ, कुनै पनि स्वार्थका अगाडि आफ्नो स्वाभिमान जोगाऊँ, त्यसैमा नेपाल र नेपालीको गौरव अटल र अमर रहन्छ । नेपालआमाको छातीमाथि कुनै पनि वहानामा क्रिश्चियन धर्म प्रचारकहरूको बुट बजार्ने काम अवश्य पनि निन्दनीय र घृणित कार्य हो । यसको घोर विरोध र भत्र्सना गरौँ ।