किर्ते–कर्म गर्ने ‘महन्त’ प्रहरी नियन्त्रणमा

किर्ते–कर्म गर्ने ‘महन्त’ प्रहरी नियन्त्रणमा


– रामभरत साह

जनकपुरस्थित हजारी जनक संस्कृत विद्यापीठको अर्बौं मूल्यबराबरको जग्गा किर्ते एवम् जालसाजी गरी बेचेको अभियोग लागेपछि फरार रहँदै आएका रत्नसागर मन्दिरका महन्त डा. वैकुण्ठदास वैष्णवलाई काठमाडौंको कमलपोखरीबाट प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउलगत्तै जनकपुर पुऱ्याइएका उनलाई धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

अभियुक्त महन्तलाई अपराध अनुसन्धान ब्युरो काठमाडौं र जनकपुर प्रहरीको संयुक्त प्रयासमा पक्राउ गरिएको एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए । धनुषा अदालतले गत शुक्रबार महन्तविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि महन्त फरार रहेका थिए । हजारी जनक संस्कृत विद्यापीठका जग्गा महन्थ दासले नक्कली लालपुर्जा बनाएर बेचेपछि एक व्यक्तिले आफ्नो जग्गा भनी दाबी गर्दै अदालतमा मुद्दा दायर गरेपछि उनलाई पक्राउ पुर्जी जारी गरिएको थियो ।
नक्कली लालपुर्जा बनाएर जग्गा बेचेको अभियोग लागेका महन्तले ठगी मुद्दाबाट बच्न जनकपुरधाम उपमहानगरपालिका– ८ स्थित जानकी वृद्धाश्रमछेउमै रहेको करोडौँ मूल्यबराबरको दुई कट्ठा जग्गा अकबर मन्सुरलाई ४० लाख रुपैयाँमा बेचेको सूत्रले जनाएको छ । हजारी जनक विद्यापीठले भोगचलन गर्दै आइरहेको दुई बिघा १० कट्ठा जग्गा महन्त दासले नक्कली लालपुर्जा बनाई हडपेको भन्दै प्राचार्य विजय चौधरीले अदालतमा मुद्दा दायर गरेका थिए ।

केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई उपलब्ध गराएको उक्त जग्गामा क्याम्पस व्यवस्थापनले घेराबारा गरी भौतिक संरचना निर्माण गरेर भोगचलन गर्दै आएको छ । लगभग दुई अर्बभन्दा बढी मूल्यको जनकपुरधाम उपमहानगरपालिका– ८ स्थित २ बिघा १० कट्ठा गुठी जमिनको किर्ते जालसाजी गरी महन्त वैकुण्ठदास वैष्णव जग्गाधनी र जनकपुरधाम उपमहानगरपालिका– २३ निवासी अशोककुमार शर्मालाई मोहीको रूपमा खडा गरिएको पाइएको छ ।

०६७ सालमा महोत्तरी शिक्षा कार्यालयमा कार्यरत झा थर भएका एक कर्मचारीलाई भूमिगत समूह परिचालन गरी हत्या गर्ने कार्यमा समेत संलग्न रहेको आरोप लागेका महन्त पछि अदालतबाट धरौटीमा छुटेका थिए । त्यस्तै, एकजना स्थानीयका अनुसार महन्त वैकुण्ठ दासले बिरख कुट्टी, वीरपुर कुट्टी, सुरत दास कुट्टी, जानकी सखी कुट्टीलगायतका ७–८ वटा कुट्टीको सम्पत्ति पनि बेचेका छन् भने दुई कट्ठा मन्सुरलाई दिएको जग्गामा निज मन्सुरले मस्जिद बनाउने योजना बनाएको स्थानीयवासीले आरोप लगाएका छन् । महन्त वैकुण्ठले जनकपुरका केही भूमाफिया र राजनीतिकर्मीको संरक्षणमा रत्नसागर मन्दिरको करोडौँका जग्गा कौडीको मूल्यमा बिक्री गरी धनचाहिँ छिमेकी मुलुकमा थुपार्दै आएका छन् भने भारत बिहारका राजधानी पटनाको बेलिरोडमा निज महन्तले करोडौँ मूल्य पर्ने आलिसान बंगला किनेको बुझिएको छ ।