राम-जानकी विवाह महोत्सवमा योगी-आगमनको अर्थ

राम-जानकी विवाह महोत्सवमा योगी-आगमनको अर्थ


राजनीतिक ओहोदा तथा शक्तिलाई देशको धर्म, संस्कृति तथा परम्परा खलबल्याउने दुष्कार्यमा प्रत्यक्ष–परोक्ष तवरले लागिपर्दै आएका केही व्यक्तिद्वारा रोक्न गरिएको भरमग्दुर प्रयत्नका बाबजुद जनकपुरमा भइरहेको राम–जानकी विवाह महोत्सवमा सरिक हुन छिमेकी भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ आज (बुधबार) जनकपुर आउँदै छन् । भगवान् रामको जन्मभूमि अयोध्याको प्रतिनिधित्व गर्दै रामको जन्तीको अगुवाइ गरेर आउन लागेका मुख्यमन्त्री आदित्यनाथको जनकपुर आगमन धार्मिक–सांस्कृतिक रूपले त महत्वपूर्ण छँदै छ, नेपाल सरकारद्वारा निम्त्याइएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकै प्रतिनिधित्व गरेर आदित्यनाथको आगमन हुन लागेको सन्दर्भ उत्तिकै विचारणीय हुन आउँछ । यति संवेदनशील विषयप्रति गम्भीर भई उनको स्वागतमा उदार एवम् न्यानो आतिथ्य प्रदर्शन गर्नुको साटो उल्टै मुख्यमन्त्रीको जनकपुर आगमन रोक्न उद्यत् बन्नेहरूको उद्देश्यको खुलासा हुने अपेक्षा गर्न सकिन्छ ।

योगी आदित्यनाथको जनकपुर यात्रा रोक्न सम्बन्धित आयोजक तथा मन्दिरका ‘सन्त–महन्त’लाई नेपाली काङ्ग्रेसका उपसभापतिको ओहोदामा रहेका व्यक्तिबाट आदेशात्मक आग्रह गरिएको प्रसङ्गसँग सरोकार राख्दै यो सन्दर्भ उठाइएको हो । आफूलाई धर्मनिरपेक्षतावादको ‘मसिहा’ ठान्ने काङ्ग्रेसी नेता विमलेन्द्र निधिले आफूसँग सोधपुछ नै नगरी ‘हिन्दूछवि’ बोकेका योगी आदित्यनाथलाई किन आमन्त्रण गरेको भन्दै जनकपुरस्थित राम–जानकी मन्दिरका महन्तलाई टेलिफोनमार्फत धम्क्याएको सन्दर्भ दुई साताअघि प्रकाशमा आएको थियो । निधिको दृष्टिमा उत्तरप्रदेशका मुख्यमन्त्री एवम् सिङ्गो भारतकै एक प्रभावशाली पात्र योगी आदित्यनाथ ‘राजतन्त्र र हिन्दूराष्ट्र नेपाल’को वकालत गर्ने व्यक्ति हुन्, र उनसँग कुनै पनि प्रकारको सम्बन्ध–सान्निध्य राख्नु आपत्तिजनक छ ! सोही आसयबाट प्रेरित हुँदै निधिले महन्तलाई ‘धम्क्याएका’ हुन सक्ने अनुमान लगाउन गाह्रो पर्दैन ।

मुलुककै ऐतिहासिक तथा प्रमुख प्रजातान्त्रिक दलको छवि बोकेको दलको शीर्षतहका नेताबाट दुई छिमेकी देशबीच रहिआएको धार्मिक–सांस्कृतिक सम्बन्ध नै खलबल्याउन सक्ने अमर्यादित एवम् गैरकूटनीतिक आचरण प्रकट हुनु दुखद मात्र नभई उदेककै सन्दर्भ पनि हो ।

यसरी मुलुककै ऐतिहासिक तथा प्रमुख प्रजातान्त्रिक दलको छवि बोकेको दलको शीर्षतहका नेताबाट दुई छिमेकी देशबीच रहिआएको धार्मिक–सांस्कृतिक सम्बन्ध नै खलबल्याउन सक्ने अमर्यादित एवम् गैरकूटनीतिक आचरण प्रकट हुनु दुखद मात्र नभई उदेककै सन्दर्भ पनि हो । यति मात्र नभई निधि स्वयम् मिथिलावासी पनि हुन् । मिथिलाको परम्पराअनुसार राम–जानकी विवाह महोत्सवमा उत्तर प्रदेशको अयोध्याबाट जन्ती जनकपुरधाममा भित्रिन्छ र जन्तीको जमातलाई हर्षोल्लासका साथ स्वागत गरिन्छ । जब सदियौँदेखि चल्दै आएको विवाह–महोत्सवको अगुवाइ गरेर अयोध्याका विशिष्ट व्यक्ति नै जनकपुर आउँदै छन् भने त्यसमा एक जनकपुरवासीको नाताले पनि खुसी र गर्व महसुस हुनुपर्ने हो । तर, खुसी हुनु त परकै कुरा, निधिबाट योगीको बाटो नै छेक्ने प्रयत्न गरियो । जब कि, एसिया समिटको नाममा हालै सम्पन्न कथित ‘इसाई सम्मेलन’का बेला सरकारी तवरबाटै दर्शाइएको अवाञ्छित संलग्नताबारे उनले मौनता साँधिदिए । जब कि, सरकारद्वारा भए–गरिएका कुनै पनि गैरसंवैधानिक या जनभावनाविपरीतका क्रियाकलापविरुद्ध आवाज उठाउनु उनको विपक्षी–धर्म नै हुन आउँथ्यो । यसबाट स्वदेशको मौलिक धर्म–संस्कृति मासेर विदेशी, विधर्मीको पक्षपोषण गर्न निधिलगायतका नेताहरू कतिसम्म उद्यत् रहेका छन् भन्ने पाटो उजागर भएको छ ।

त्यसो त मुख्यमन्त्री योगीलाई स्वागत गर्न निधिले आफ्ना कार्यकर्तालाई निर्देशन दिएका समाचार पनि पछिल्लो घडी प्रकाशमा आए । सायद, शुरुमा आफूले देखाएको अपरिपक्व व्यवहारको हेक्का उनलाई भएको हुँदो हो, या स्थानीय राजनीति तथा अन्य कुनै दबाबमा परेर कार्यकर्तालाई ‘निर्देशन दिन उनी बाध्य बने । यसको अन्तर्य जे–जस्तो भए पनि यथार्थमा हिन्दुत्वलाई आफ्नो जीवन–दर्शन ठान्ने योगी आदित्यनाथको जनकपुर आगमन निधिजस्ता पात्रका निम्ति बिझाउने विषय बनेको तथ्य उदाङ्ग हुन पुगेको छ ।

यो सन्दर्भको चर्चा यसकारण आवश्यक ठानियो कि भारतका प्रधानमन्त्रीले आफ्ना प्रतिनिधिको रूपमा उत्तर प्रदेशका मुख्यमन्त्रीलाई जनकपुर पठाउन लागेका हुन् । यसर्थ योगी आदित्यनाथको आगमन दुई देशको सम्बन्धलाई सांस्कृतिक रूपले थप कसिलो तुल्याउने सवालमा एक महत्वपूर्ण कदम ठान्नुपर्छ । अयोध्याका विशिष्ट व्यक्तिले जन्तीको राम–जानकी विवाह महोत्सवको प्रतिनिधित्व गरिदिँदा नेपाल र भारतबीचको परम्परा, धर्म र संस्कृतिले उच्च प्राथमिकता पाएको सन्दर्भ पनि मननीय छ । जनकपुर या मिथिलावासीका निम्ति मात्र नभई सिङ्गै देशको निम्ति यो अहम् सन्दर्भ हो भनी बुझिँदा अन्यथा पक्कै ठहरिन्न ।