जनकपुरमा सीताराम विवाह महोत्सवबारे सचित्र केही जानकारी

जनकपुरमा सीताराम विवाह महोत्सवबारे सचित्र केही जानकारी


रामभरत साह, जनकपुर

प्रदेश नम्बर २ को राजधानी जनकपुरधाममा रामजानकी सीताराम विवाह महोत्सवको परम्पराअनुसार पहिलो दिन नगर दर्शन, दोस्रो दिन फुलबारी लिला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मत्त्कोर र छैठौँ दिन विवाह महोत्सव अनि राम कलेबा कार्यक्रम सम्पन्न हुँदैछ ।

दधिची ऋषिको हड्डीबाट निर्मित पिनाक नामक धनुष भगवान शिवले परशुरामलाई दिएका थिए । परशुरामले उक्त शिवधनुष मिथिलाका राजा विदेहराज जनकलाई पुजाआजाका निमित उपहारस्वरुप प्रदान गरेका थिए । दैनिक पुजा गर्ने क्रममा एकदिन राजा जनकले छोरी सीतालाई पूजा गरिदिन भने । पुजाको थानमा गएर हेर्दा सीताले बायाँ हातले धनुष उचालेर ठाउँ चोखो पार्दै गरेको देख्दा राजा जनक आश्चर्यचकित भए । त्यही बेला उनले यो धनुष भाँच्न सक्नेसँग नै छोरी सीताको बिहे गरिदिन्छु भन्ने अठोट लिए ।

पछि सबै राजारजौटालाई आमन्त्रण गरी जसले शिवधनुष भाँच्न सक्छ उसैसँग सीताको स्वयम्बर गरिदिने आफ्नो बच्च सुनाए । स्वयम्बरमा सरिक हुन आएका कुनै पनि वीर पुरुषले धनुषलाई उचाल्न समेत नसकेको देख्दा राजा जनक चिन्तित भए । अन्तमा अयोध्याका राजकुमार राम आफ्ना अनुज लक्ष्मन गुरु विश्वमित्रका साथ स्वयम्बर स्थलमा उपस्थित भई गुरुको आज्ञा लिई धनुषलाई प्रणाम गरी खण्डित गरे भनिन्छ । भाँचिएको धनुषको तीनटुक्रा मध्य एउटा टुक्रा आकाश, दोश्रो टुक्रा पाताल र तेश्रो टुक्रा धनुषाधाममा खसेको किम्बदन्ती रहेको छ । यसरी धनुष खण्डित गरेपश्चात सीतारामको स्वयम्बर र विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ ।

सीताराम विवाह महोत्सवको अवसरमा प्रदेश २ र जनकपुर उपमहानगरपालिकाले २ दिन सार्वजनिक बिदा दिएका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर हर्वाइ अड्डाबाट सिधै मधेश भवन पुगी भण्डारामा सहभागी हुनेछन् भने सोही ठाउँमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वहाँको स्वागत सम्मान गर्नेछन् भने त्यहाँबाट योगी सिधै बाह्रबिघा रंगभूमि मैदान पुगी रामजानकी स्वयम्बरमा सहभागी भर्इ आजै लखनउ प्रस्थान गर्ने कार्यक्रम छ ।

तिलकोत्सवमा सम्धिमिलन गर्दै जानकी मन्दिरका महन्त रामतपेश्वर दास र राम मन्दिरका महन्त राम गिरि

सीताराम विवाह महोत्सवमा नेपाल र भारतका विभिन्न स्थानबाट मेला भर्न आएका सर्वसाधारण

अयोध्याबाट आएको जन्तीलाई नेपाल भारत सीमाको जटही नाकामा नेपाली कांग्रेस प्रदेश नम्बर २ का सांसद तथा नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, कार्यकर्ता र साधु सन्त महन्तहरुले स्वागत गरे


भारत उत्तरप्रदेश का मुख्यमन्त्री योगी आदित्यनाथको सुरक्षाका निमित ४० हजार सुरक्षाकर्मी तैनात छन् भने ड्रोनबाट समेत निगरानी गर्ने प्रदेश २ का डीआईजी हरिबाहादुर पालले जानकारी दिएका छन् ।