जनकपुरधाममा छायो सीताराम विवाह महोत्सवको रौनक

जनकपुरधाममा छायो सीताराम विवाह महोत्सवको रौनक


– हिमांशु चौधरी, जनकपुरधाम

मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीताराम विवाह महोत्सवको रौनक छाएको छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासी यसलाई विशेष महोत्सवका रूपमा मनाउने गर्छन् । महोत्सवमा सहभागी हुन नेपाल, भारतलगायत अन्य राष्ट्रका श्रद्धालु र पर्यटकको उपस्थितिले महोत्सव श्रद्धाको उत्सवसहित भव्य बन्दै गएको छ ।

एक साता अघिदेखि नै वैवाहिक विधि शुरु भए पनि बुधबार हुने वैवाहिक समारोहमा सहभागी हुन जनकपुरधाममा जनसागर ओर्लिसकेका छन् । जानकी मन्दिरका सहायक महन्त रामरोशन दास यस पटकको जन्तीमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि सहभागिता रहने कार्यक्रमले जनकपुरधाम भरिभराउ रहेको बताउनुहुन्छ ।

उहाँका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी बुधबार बिहान लखनउबाट विशेष विमानबाट जनकपुरधाम आई जानकी मन्दिरमा पूजाअर्चना र बाह्र बिघामा हुने स्वयंवर कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस्तै प्रदेश नं २ सरकारले आयोजना गर्ने सम्मान, भण्डारा कार्यक्रममा पनि उत्तर प्रदेशका मुख्यमन्त्री योगी सहभागी हुने कार्यक्रम छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी भोलि नै साँझ लखनउ फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

सो अवसरमा बाह्रबिघा मैदानमा हुने स्वयंवर कार्यक्रममा सेनाद्वारा हेलिकोप्टरबाट पुप्पवृष्टि गराउने कार्यक्रम पनि रहेको छ । यसैबीच ऊँट, घोडा, हात्तीसहितको सवारीमा अयोध्याबाट जन्ती पनि जनकपुरधाम आइसकेको छ । त्रेतायुगमा मिथिला नरेश जनकले छोरी सीताको स्वयंवरका लागि राखेका शिव धनुषलाई अयोध्याका राजा दशरथका जेठा सुपुत्र रामले तीन टुक्रा पारेपछि मङ्सिर शुक्ल पञ्चमीका दिन राम र सीताको विवाह सम्पन्न भएको थियो ।

गोश्वामी तुलसी दासको रामायणअनुसार जनकपुरधामको बाह्रबिघा मैदानमा आयोजना गरिएको सो स्वयंवरमा देवीदेवताको उपस्थिति रहेको थियो । सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शरीर नभए पनि अदृश्य रूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुन्छन् ।

यस महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईलगायत अन्य धर्मावलम्बी पनि सामेल हुने गरेका छन् । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयंवर र विवाह संस्कार सम्पन्न हुने गरेको छ । पौराणिक व्यवस्थाअनुरूप राममन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी बाह्रबिघा मैदान पुऱ्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीताको प्रतिमालाई विशेष सुसज्जित डोलामा राखी बाह्रबिघा मैदानमा लगिने चलन रहेको छ ।

बाह्रबिघामा स्वयंवर विधि, परीक्षण र वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गरिन्छ । त्यस अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा देशका विभिन्न ठाउँलगायत सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु, पर्यटक पनि सहभागी हुने गर्छन् ।

बाह्रबिघा मैदानमा वर र कन्या पक्षबीच हुने गरेको हाँसोठट्टा, गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित श्रद्धालुको उत्साहले महोत्सव वास्तविक विवाहभन्दा रमाइलो हुने गरेको छ । फूलबारी प्रसङ्गदेखि स्वयंवररसम्मको आयोजनाले महोत्सव दैवी विवाह महोत्सवका रूपमा रूपान्तरित भएको अनुभव गर्दै सहभागी मिथिलाका नारी तथा पुरूष आफूलाई धन्य सम्झन्छन् । महोत्सवका दिन श्रद्धालु बिहान सबैरेदेखि पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने गर्छन् । यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचनको पनि आयोजना गर्ने चलन रहेको छ ।

तस्बिर रासस