काङ्ग्रेसको राजनीतिक प्रस्ताव : ‘लोकतान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्था स्थापना’

काङ्ग्रेसको राजनीतिक प्रस्ताव : ‘लोकतान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्था स्थापना’


– भीष्मराज ओझा

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले समाजवाद र प्रजातन्त्रको सुदृढ गठबन्धनबाट नै सच्चा समाजवादी समाजको निर्माण गर्ने राजनीतिक दृष्टिकोण तय गरेको छ ।

काङ्ग्रेसले पार्टीको महासमिति बैठकमा पेश गर्न तयार गरेको राजनीतिक प्रस्तावमा शान्तिपूर्ण र लोकतान्त्रिक उपायबाट समाजवादको स्थापना गर्न चाहेको जनाएको छ ।

राजनीतिक प्रस्ताव मस्यौदा समितिका संयोजक एवं पार्टीका उपसभापति विमलेन्द्र निधिले उक्त प्रस्ताव पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा आज प्रस्तुत गर्नुभएको हो । काङ्ग्रेसको महासमिति बैठक यही मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हँुदैछ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा राजनीतिक प्रस्तावका बारेमा जानकारी गराउनुभयो । देशको शासन व्यवस्था बालिगमताधिकारका आधारमा निर्वाचित संविधानसभाद्वारा निर्माण गरिएको संविधानअनुसार हुनुपर्दछ भनी काङ्ग्रेसले जन्मकालमै गरेको सङ्कल्प जननिर्वाचित संविधानसभाद्वारा जारी नेपालको संविधानलाई गौरवपूर्ण उपलब्धि भनेको छ ।

सशस्त्र हिंसा गरिरहेको शक्तिलाई हतियार परित्याग गर्न सहमत गराई शान्तिपूर्ण मार्गमा सामेल गर्दै लोकतन्त्रका मूल्य, मान्यता र आदर्शमा सहभागी गराउने काम काङ्ग्रेसले गरेको जनाएको छ ।

पार्टीका सिद्धान्त र मान्यता

काङ्ग्रेसले राष्ट्रियताका सन्दर्भमा आफू जन्मेको थाकथलो, वरण गर्ने संस्कृति र परिचयको सामूहिक आधार नै राष्ट्रियता भएको उल्लेख गरेको छ । जहाँ जुनरुपमा रहे पनि जसले आफ्नो पुर्खाहरुको भूमि र आफ्नो जन्मभूमिसहित आफ्नो सांस्कृतिक परिचय वरण गर्दछ र देशभक्तिको भावना राख्दछ राष्ट्रियता त्यही रहन्छ भन्ने काङ्ग्रेसको दृष्टिकोण रहेको छ ।

लोकतन्त्रका आधारभूत सिद्धान्तमा काङ्ग्रेसले जनताको स्वतन्त्र सार्वभौम सर्वोच्चता, राष्ट्रियताको संरक्षण, मानवअधिकारका विश्वव्यापी मान्यताहरु, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, धार्मिक स्वतन्त्रतालगयत उल्लेख गरेको छ ।

समाजवादका सन्दर्भमा काङ्ग्रेसले आफूले स्वीकार गरेको संविधानमा उल्लिखित समाजवाद उन्मुखको अर्थ लोकतान्त्रिक मूल्य र मान्यताबाट आर्थिक सामाजिक रुपान्तरण गरी हुनेहरुबाट राज्य कोषमा श्रीवृद्धि गरेर नहुनेलाई समृद्ध तुल्याउने समतामूलक समाज निर्माण भएको प्रस्तावमा उल्लेख छ ।

वीरगञ्ज महाधिवेशन विसं २०१२ ले समाजवादलाई अङ्गीकार गर्दै ठहर गरेको गर्दै काङ्ग्रेसले शान्तिपूर्ण र लोकतान्त्रिक उपायहरुबाट समाजवादको स्थापना गर्न चाहेको तथा प्रजातान्त्रिक पद्धतिबाट समाजवादी अर्थव्यवस्थाको स्थापना गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

‘राजालाई जनता चाहिँदैन भने जनतालाई पनि राजा चाहिँदैन भन्ने हाम्रो अनुभवजन्य निष्कर्षका आधारमा गणतन्त्र चाहेका हौँ । जनताका हातमा सम्पूर्णसत्ता पु¥याउने मान्यताअनुरुप गणतन्त्र स्थापना गरिएको हो । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित गणतन्त्र नेपाल निर्माण गर्ने नेपाली काङ्ग्रेसको मूल नीति बनेअनुरुप नेपालमा गणतन्त्र प्रारम्भ भएको छ,’ प्रस्तावमा उल्लेख छ ।

विभिन्न भाषा, धर्म, जाति, समुदाय र कठिन भूगोलमा रहेका आम नागरिकको निर्णायक अधिकार र राज्यमाथि सहज स्वामित्व हुने आधारमा देशलाई पुनःसंरचना गर्दै सङ्घीयता वरण गरिएको र सङ्घीयता नेपाली काङ्ग्रेसको मूल मान्यतामा राष्ट्रियता, लोकतन्त्र, समाजवाद सँगसँगै प्रमुख हुनपुगेको उल्लेख गरिएको छ ।

यसबाहेक काङ्ग्रेसले पार्टी सङ्गठन र सरकार सञ्चालनमा कदमजम (कर्णाली, दलित, महिला, जनजाति र मधेशी) भन्ने मान्यतालाई प्रयोगमा ल्याएको जनाएको छ ।

काङ्ग्रेसले नेपालमा १२ वर्ष पहिलेदेखि जारी शान्ति प्रक्रियाले अझै अन्तिम टुङ्गो लाग्न बाँकी रहेकामा गम्भीर चिन्ता प्रकट गरेको छ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका संयन्त्रहरू प्रभावकारी हुन नसकेका उल्लेख गर्दै प्रस्तावमा द्वन्द्वको सन्तोषजनक समाधान हुन नसके अशान्तिको भ्रूण यथावत् रहने जनाइएको छ ।

काङ्ग्रेसले महिलालाई राज्यसंयन्त्रमा ३३ प्रतिशत सुनिश्चित गरिसकेको सन्दर्भमा पार्टीको विधानलाई संशोधन गरेर नेपालको संविधानले व्यवस्था गरेअनुसार पार्टीमा प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

छुवाछूत गर्नेले काङ्ग्रेसको सदस्यता नपाउने

दतिलका सम्बन्धमा काङ्ग्रेसले २००९ सालमा जनकपुरमा सम्पन्न महाधिवेशनले नै दलितहरुलाई भेदभाव गर्ने वा जातीय विभेद गर्नेलाई पार्टीको सदस्यता नदिने र पार्टीमा सहभागी नगराउने निर्णय लिएको प्रस्तावमा स्मरण गरिएको छ । साथै २१औँ शताव्दीमा पनि नेपाली समाजमा व्याप्त जातीय छुवाछूत प्रथाको अन्त्यका लागि विभेद गर्ने कसैलाई पनि पार्टी सदस्यता नदिने र कुनै पनि तहको नेतृत्व या सदस्य त्यस्ता काममा संलग्न प्रमाणित भए पार्टी सदस्ताबाट मुक्त गरिने प्रस्तावमा उल्लेख छ ।

ऐतिहासिक जनआन्दोलन विसं २०४६ पश्चात् काङ्ग्रेसकै नेतृत्वमा बनेको सरकारबाट जनजाति विकास समिति गठन, आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ जारी भएको प्रस्तवमा जनाइएको छ ।

तराई–मधेशसँग विशिष्ट र ऐतिहासिक खालको रहेको जनाउँदै काङ्ग्रेसले नयाँ संविधान जारी गरेपछि आफ्नो अठोटका कारण तराई–मधेशका मुद्दालाई संविधानमा पहिलो संशोधनमार्फत महत्वपूर्ण सम्बोधन गरिएको जनाएको छ । साथै संविधानलाई सर्वस्वीकार्य बनाउन संविधानमा आवश्यक संशोधन र परिमार्जन गर्न आफूले गरेको सहमतिमा प्रतिबद्ध रहेको प्रस्तावमा उल्लेख छ ।

दलगत स्वार्थभन्दा माथि उठेर परराष्ट्र नीति

काङ्ग्रेसले स्थापनाकालदेखि अङ्गीकार गर्दै आएको राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिक स्वतन्त्रता, पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नताका आधारमा नेपालको राष्ट्रहित र स्वार्थअनुरूप परराष्ट्र नीति अनुसरण गर्दै आएको र भविष्यमा पनि गरिरहने जनाएको छ ।

भूपरिवेष्ठित नेपालको भूराजनीतिक, सामरिक तथा कूटनीतिक संवेदनशीलतालाई आत्मसात् गर्दै छिमेकी देशहरू भारत र चीनसँगको परम्परागत बहुआयामिक सामाजिक, आर्थिक, कूटनीतिक, धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ, घनिष्ट र मैत्रीपूर्ण बनाउनमा सदा काङ्ग्रेसको उच्च प्राथमिकता रहँदै आएको प्रस्तावमा उल्लेख छ ।

नेपालको राष्ट्रिय सुरक्षा नीति र परराष्ट्र नीति दलगत स्वार्थभन्दा माथि उठेर व्यापक राष्ट्रिय हित र राष्ट्रिय स्वार्थलाई सर्वोपरि मान्दै प्रमुख राजनीतिक दलहरूसँग राष्ट्रिय सहमतिका आधारमा तर्जुमा गरिनुपर्छ भन्ने पार्र्टीको दृष्टिकोण छ ।

अन्य पार्टीका सम्बन्धमा दृष्टिकोण

प्रस्तावित प्रतिवेदनमा संसद्मा दुई तिहाइ सरहको शक्ति आर्जन गर्नासाथ सत्तासीन नेपाल कम्युनिष्ट पार्टी९नेकपा० एकपछि अर्को गर्दै संविधानको भावना र मर्ममाथि प्रहार गरी शक्तिको दुरुपयोग गर्न लागेको आरोप लगाउँदै काङ्ग्रेसले उसको लोकतन्त्रप्रतिको विश्वास र निष्ठामा शङ्का गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख छ ।

काङ्ग्रेसको आह्वानमा २०४६ को जनआन्दोलनमा संयुक्त वाममोर्चामा सङ्गठित भई आन्दोलनमा सहभागी हुनु र कार्यगत एकतामार्फत प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्षमा समाहित हुनु नेपाली कम्युनिष्ट आन्दोलनको सकारात्मक परिवर्तन भनी प्रस्तावमा उल्लेख गरिएको छ ।

‘देशमा अहिले जे जति कम्युनिष्ट पार्टी छन् ती सबै एउटै मोर्चा र ध्येयमा जुटेका देखिन्छन् । रुपमा कोही उग्र देखिए पनि सारमा उनीहरु लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक शक्तिविरुद्ध गोलबद्ध हुँदै गएको देखिन्छ,’ प्रस्तावमा उल्लेख छ ।

काङ्ग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न घटकहरुलाई जनताद्वारा विस्थापित राजतन्त्रलाई पुनस्र्थापना गर्ने लगायतका दृष्टिकोण र क्रियाकलाप लोकतान्त्रिक प्रणालीसँग मेल खाँदैनन् भन्ने स्पष्ट पारेको छ । नयाँशक्ति पार्टी र विवेकशील साझाजस्ता दलहरुको आरम्भ भर्खर भएकाले उनीहरुको सिद्धान्त र मान्यताहरु स्थापित नभइसकेको भनी टिप्पणी गरेको छ ।

मधेश केन्द्रित दलहरुका सम्बन्धमा काङ्ग्रेसले लोकतन्त्रलाई सजिलो बनाउने बाटोमा नभएको भनी टिप्पणी गरेको छ । उनीहरुले उठाई आएका कतिपय जातिवादी, क्षेत्रीय अतिवादी तथा घोर साम्प्रदायिक कुराहरुले राष्ट्रियता, सङ्घीयता तथा लोकतन्त्रलाई प्राथमिकता नदिइरहेको काङ्ग्रेसको बुझाइ छ ।

नेपालमा चार राजनीतिक धार

पहिलो काङ्ग्रेसले लिएको राष्ट्रियतासहित स्वतन्त्रताको सार्वभौम सिद्धान्त, लोकतन्त्र, समाजवाद, सङ्घीयता, गणतन्त्र मान्ने विचार, दोस्रो एकदलीय निरङ्कुशता र जनवादी केन्द्रीयता लागू गर्न चाहने र जनताका स्वतन्त्रतामाथि नियन्त्रण गर्न चाहने कम्युनिष्ट विचार, तेस्रो परम्परावादी राजावादी दक्षिणपन्थी विचार र चौथोमा जातीय अतिवाद र क्षेत्रीय अतिवाद रहेको प्रस्तावमा उल्लेख छ ।

काङ्ग्रेसको उक्त राजनीतिक प्रस्तावमा आजदेखि केन्द्रीय कार्यासमितिमा छलफल शुरु भएको छ । केन्द्रीय कार्यसमितिबाट पारित भएपछि उक्त प्रस्ताव महासमिति बैठकमा पेश हुनेछ र महासमितिबाट पारित भएपछि प्रस्तावका विषय काङ्ग्रेसको आधिकारिक रजनीतिक दृष्टिकोण हुनेछन् ।

rss