पाँचपटकसम्म नियम उल्लंघन गर्ने ट्याक्सीचालकको अनुमतिपत्र खारेज गरिने

पाँचपटकसम्म नियम उल्लंघन गर्ने ट्याक्सीचालकको अनुमतिपत्र खारेज गरिने


ट्याक्सीचालकको लापरबाही नियन्त्रणका लागि प्रहरीले चालक अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारबाही थालेको छ ।

नियम उल्लंघन गर्ने ट्याक्सीचालकको अभिलेख राख्न शुरु गरिएको र पाँचपटकभन्दा बढी नियम उल्लंघन गर्नेको अनुमतिपत्र नै निलम्बन हुने गरी विशेष अभियान शुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिए ।

उनका अनुसार यातायात व्यवस्था विभागसँगको समन्वयमा उक्त अभियान शुरु गरिएको हो । मुख्यगरी मिटरमा जान नमान्ने, बढी भाडा लिने, खाली भएर पनि जान नमान्ने, मिटर बिगार्ने, बिग्रिएको मिटर नबनाउने र यात्रुको गन्तव्यमा नजाने ट्याक्सीचालक बढी छन् । उनीहरूलाई सादा पोसाकमा खटिएका प्रहरीले पहिचान गरी जरिवाना तिराएर अभिलेख राख्न थालिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए ।

‘मंसिर २० गतेदेखि ट्याक्सीचालकलाई कारबाही शुरु गरेका छौँ,’ प्रवक्ता सापकोटाले भने, ‘पाँचपटक कारबाहीमा प¥यो भने अनुमतिपत्र निलम्बन हुन्छ ।’ उक्त अभियानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५० भन्दा बढी ट्राफिक प्रहरीलाई सादा पोसाकमा खटाइएको छ । पहिचान हुनेबित्तिकै उनीहरूलाई महाशाखामा ल्याइने, रु. तीन हजार जरिवाना तिराइने र उनीहरूको अभिलेख राखिनेछ । लगातार पाँचपटकसम्म रु. तीन हजारका दरले जरिवाना लाग्ने र त्यसपछि नियम उल्लंघन गरेको पाइए अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभागमा सिफारिस गरिने सापकोटाले बताए ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा चालक अनुमतिपत्र निलम्बन गर्न सकिने व्यवस्थाअनुरूप ट्याक्सीबाट कारबाही थालिएको हो । उक्त ऐनको दफा ६० मा नियमबमोजिम चालकले पालन गर्नुपर्ने सर्त पाँचपटकभन्दा बढी उल्लंघन गरेको प्रमाणित भएमा अधिकार प्राप्त अधिकारीले त्यस्ता चालकको अनुमतिपत्र छ महिनासम्मका लागि निलम्बन गर्न सकिने व्यवस्था छ । सोही ऐनलाई टेकेर ट्राफिक प्रहरीले कारबाही थालेको हो । अहिले दैनिकजसो करिब १०० सम्म ट्याक्सीचालक कारबाहीमा परिरहेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्ता समस्या भए प्रहरीलाई खबर गर्नसमेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाको तथ्यांकमा आर्थिक वर्ष ०७०–७१ मा चार हजारभन्दा बढी चालक कारबाहीमा परेका थिए । आव ०७४–७५ मा आइपुग्दा त्यसको दोब्बर आठ हजार १२० ट्याक्सीचालक कारबाहीमा परेका छन् । चालू आवको मंसिर २४ सम्ममा तीन हजार ३२० चालक कारबाहीमा परेको अभिलेखले विश्लेषण गर्दा चालकको लापरबाही बढिरहेको देखाउँछ । त्यसैले अभिलेख राखेर अनुमतिपत्र निलम्बन गर्नेसम्मको कारबाही थालिएको महाशाखाका प्रवक्ता सापकोटाले बताए । प्रहरीका अनुसार काठमाडौंमा नौ हजारभन्दा बढी ट्याक्सी गुड्ने गरेका छन् ।