सवारीसाधनको ठक्करबाट तीनको मृत्यु

सवारीसाधनको ठक्करबाट तीनको मृत्यु


भारतीय मालबाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा बाबु र छोराको मृत्यु भएको छ ।

ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए ।

एचआर२७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को.३३प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी सिरहाको लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–३ मा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

ठाडीबाट लहानतर्फ आउँदै गरेको ना.४ख ४७१३ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको स.१०प ३५४२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार सप्तरीको सुरुंगा नगरपालिका–५ कुसहानिवासी ३५ वर्षीया जुमेदा खातुनको मृत्यु भएको प्रहरीले छ । बसलाई उछिन्ने गर्ने क्रममा सो दुर्घटना भएको र घटनास्थलमै खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।