दाङमा लक्ष्यभन्दा चार करोड ३१ लाख बढी राजस्व संकलन

दाङमा लक्ष्यभन्दा चार करोड ३१ लाख बढी राजस्व संकलन


आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालू आर्थिक वर्षको हालसम्ममा रु. ७२ करोड २७ लाख ४८ हजार राजस्व संकलन गरेको जनाएको छ । सो अवधिमा रु. ६७ करोड ९६ लाख ४९ हजार राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले लक्ष्यभन्दा बढी अर्थात् रु. चार करोड ३० लाख ९९ हजार राजस्व संकलन गर्न सफल भएको हो ।

कार्यालय प्रमुख लीलाप्रसाद शर्माले दिएको जानकारीअनुसार यसरी संकलन भएको राजस्वमा सबैभन्दा बढी आयकरतर्फ रु. २७ करोड ३७ लाख ४३ हजार, त्यस्तै मूल्य अभिवृद्धि करतर्फ रु. २६ करोड १८ लाख ७५ हजार, घरबहाल करतर्फ रु. दुई करोड ५४ लाख ८३ हजार राजस्व संकलन भएको छ ।

त्यस्तै, अन्तःशुल्क करतर्फ रु. १४ करोड ४९ लाख सात हजार, ब्याज करतर्फ रु. एक करोड १२ लाख ३४ हजार, शिक्षा शुल्क करतर्फ रु. ३२ लाख ७२ हजार र स्वास्थ्य सेवा करतर्फ रु. २२ लाख ३४ हजार राजस्व संकलन भएको हो ।

कार्यालय प्रमुख शर्माले विभिन्न जिल्लामा एकीकृत घुम्ती कर शिविर सेवा सञ्चालन हुनु, यस क्षेत्रमा विकास निर्माणका कामले तीव्रता पाउनु, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकास हुनु, सरकारले पनि राजस्व संकलन वृद्धिका लागि विभिन्न नीति एवं अभियान सञ्चालन गर्नुजस्ता गतिविधिले राजस्व संकलन वृद्धि भएको बताए । हाल सो कार्यालयअन्तर्गत दाङ, प्युठान, रोल्पालगायतका जिल्लामा जम्मा ७२ हजार ३३३ करदाता रहेका छन् ।