राखेपका नवनियुक्त पदाधिकारीलाई श्रेष्ठको चुनौती

राखेपका नवनियुक्त पदाधिकारीलाई श्रेष्ठको चुनौती


नेपाल पौडी संघका महासचिव जगतमान श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्यद्वय राजेशकुमार गुरुङ तथा इन्दिरा निरौलालाई चुनौती दिएका छन् । विभागीय प्रमुुखहरूले राखेपका नवनियुक्त पदाधिकारीहरूलाई स्वागत गर्न आयोजना गरेको कार्यक्रममा श्रेष्ठले उनीहरूलाई खुला रूपमा चुनौती दिएका हुन् ।

निकै आक्रोशित ढङ्गमा प्रस्तुत भएका महासचिव श्रेष्ठले नियुक्ति केको लागि भएको हो, त्यो महत्वपूर्ण कुरा हो भन्दै राजनीतिक नियुक्तिले खेलकुदमा कुनै असर नपर्ने बताए । अहिले सरकारले पीताम्बर तिम्सिनालाई राखेपको उपाध्यक्ष र समितिको संयोजकमा नियुक्ति गरे पनि त्यसले खेलकुदको विकृति र विसंगति हटाउन नसक्ने दाबी गरे ।

उपाध्यक्ष तिम्सिनालाई चुनौती दिँदै श्रेष्ठले भने, ‘तपाईं खेलकुदको विकृति, विसंगति र विकास गर्न आउनुभएको हो भने हामी तपाईंसँग हातेमालो गर्न तयार छौँ । अन्यथा चार वर्षअघि पनि तपाईं राखेपको उपाध्यक्ष भएकै हो, त्यसको मूल्याङ्कन हामीले गरेका छौँ ।’ सो अवसरमा श्रेष्ठले यतिबेला नेपाली खेलकुद विषम स्थितिमा रहेको खुलासा गर्दै भाषणभन्दा कार्य गर्ने र कार्यलाई कार्यान्वयन गर्ने पदाधिकारीको खाँचो भएकोले तिम्सिनालाई त्यसको नेतृत्व गर्नसमेत आह्वान गरेका थिए ।


सो अवसरमा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेकलुदमा दोहोरो सत्ता नचल्ने बताए । तिम्सिनाले एकै प्रकृतिका खेलमा रहेका दोहोरो संघलाई लक्षित गरी सो कुरा बताएका हुन् । दोहोरो संघका कारण खेलकुदमा विवाद छ, यसले गर्दा खेलाडी, प्रशिक्षक र खेल मारमा परेका छन् । अब यो अवस्थाको अन्त्य गर्न अत्यन्त जरुरी भएको छ । यसको लागि आफ्नो नेतृत्वमा गठन भएको समितिले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जाहेर गरेका थिए । तिम्सिना युवा तथा खेलकुद मन्त्रालयद्वारा गठित विवाद समस्या समाधान सहजीकरण समितिका संयोजक हुन् ।

त्यस्तै मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले खेल संघहरूमा विवाद रहेको र त्यसको सहजीकरणको लागि मन्त्रालयले समस्या समाधान समिति गठन गरे पनि उक्त समिति ‘छानबिन’ समिति नभई ‘मेलमिलाप’ समिति भएको बताए । सहसचिव न्यौपानेले समितिले सर्वप्रथम हदैसम्मको लचकता अपनाउने र त्यसमा कुरा मिले राम्रो, नमिले समितिले आफ्नो कार्य गर्ने चेतावनी दिएका थिए ।

राखेपका सदस्य राजेशकुमार गुरुङले खेलकुद र खेलाडीका लागि समर्पित भएर काम गर्ने प्रतिबद्धता जनाए । राखेपकी सदस्य इन्दिरा निरौलाले आफू खेलकुदकै पृष्ठभूमिबाट आएकाले सधैँ खेलकुद र खेलाडीलाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने बताइन् । कार्यक्रममा नवनियुक्त पदाधिकारीत्रय तिम्सिना, गुरुङ र निरौलालाई विभिन्न राष्ट्रिय खेल संघका पदाधिकारीले खादा लगाएर स्वागत गर्नुका साथै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए ।