सुकुम्बासी बस्ती कायम राख्न ध्यानाकर्षण !

सुकुम्बासी बस्ती कायम राख्न ध्यानाकर्षण !


पोखराका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीहरूको बस्ती उठाउने षडयन्त्र भैरहेको भन्दै अखिल नेपाल सुकुम्वासी संघ कास्कीले विरोध जनाएको छ ।

कास्की जिल्ला अध्यक्ष हर्कमान बिक र सचिव ओमबहादुर पौडेलले संयुक्त रुपमा एक बिज्ञप्ती प्रकाशित गरी पोखरामा बसोबास गरिरहेका ३५ हजार घरधुरी सुकुम्वासीको उचित ब्यबस्थापन तथा लालपुर्जा वितरण गर्न माग गरेका छन् । बेला–बेला माफियाहरुले सुकुम्वासीमाथि आँखा गाड्ने गरेको भन्दै विज्ञप्तीमार्फत सबै सुकुम्बासी एक भएर प्रतिकार गर्ने चेतावनी पनि दिइएको छ ।

पोखरा महानगरपालिका वडा नं १४ मा रहेको रातमाटे डाँडामा रहेका ८५ घरपरिवारका सुकुम्बासीलाई पनि राज्यले सुकुम्वासी परिचयपत्र वितरण गरी उनीहरूको हाल बसोबास क्षेत्रको पनि सुचिकृत गरेपनि अहिले केही ब्याक्तिहरुले आफ्नो जग्गा भएको दाबी गर्दे बस्ती हटाउने प्रयास गरेको घटना बाहिर आएपपछि संघले विरोध गरेको हो । राज्यले बसोबास किटानीसहित सुकुम्वासी आयोगमार्फत उनीहरुलाई सो क्षेत्रमा बसोबास गर्न अनुमति दिइसकेको अवस्थामा रिया जुद्धिन मिया, फजुल मिया, करिम मिया, सौकत अलि मियाले जग्गा ओगट्ने मनसायले सुकुम्वासीहरुलाई त्रसित बनाउन थालेको भन्दै त्यहाँका सुुकुम्वासीहरुले सार्वजनिक रुपमा जीवन सुरक्षा तथा गाँसबासको ब्यबस्था गर्न आग्रह गरिएको छ ।

विगत २५ वर्षदेखि बसोबास गर्दे आएका सुकुम्वासीहरु राज्यले सुकुम्वासी बर्गिकरण सुकुम्वासी परिचयपत्र वितरण गरिसकेको अवस्थामा अहिले आएर बखेडा झिक्नु भनेको जग्गा कब्जा गर्ने नियत प्रष्ट भएकाले आफुहरु चुप नलाग्ने जनाइएको छ । सुकुम्बासी बस्तीमा हुने कुनैपनि प्रकारको धरपकड, गुण्डागर्दी तथा अराजक स्थितिको सामना गर्न संघ तयार रहेको चेतावनीसमेत दिइएको छ ।

साथै वर्तमान संविधनामा उल्लेख भएअनुसार मौलिक हकको ज्ञारेन्टी गर्न वा सुकुम्वासी ब्यवस्थापन गरी लालपुर्जा वितरण गर्न माग गरिएको छ ।