खुट्टा बाँधेर दौडन सकिन्नँ : पृथ्वीसुब्बा गुरुङ

खुट्टा बाँधेर दौडन सकिन्नँ : पृथ्वीसुब्बा गुरुङ


गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले खुट्टा बाँधेर दौडन नसकिने बताएका छन् । अन्तर प्रदेशको पहिलो बैठकमा भाग लिन काठमाडौं आइपुगेका मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

प्रदेश सरकारले सोचेअनुरुपको काम गर्न नसकेको मुख्यमन्त्री गुरुङले स्विकार गरेका छन् । कानुनी अप्ठेरा र अधिकार बाँडफाँडमा संघीय, प्रदेश र स्थानीय सरकारबीच कुरा मिलिनसकेको उनको तर्क छ । संघीय सरकारले प्रदेश सरकारका दुबै खुट्टा बाँधेर दौडनुपर्छ भन्नु गलत भएको मुृख्यमन्त्री गुरुङको भनाई छ । ‘निर्वाचनपछि सातै वटा प्रदेशमा सरकार बन्यो । तर संघीयताको मर्मअनुरुप कर्म भने भइरहेको छैन ।’ उनले भने, ‘संघीय सरकारको स्पष्ट योजना नभएका कारण नागरिकले राहत महसुस गर्न पाएनन् ।’

यतिखेर जनतालाई राहतसहित आत्मसम्मानसँगै अधिकार प्राप्तिको प्रत्याभूति हुने र समृद्धिका लागि सारथि हुने अपेक्षासहित स्थापित संघीय व्यवस्थाप्रति प्रदेश सरकारका मुख्यमन्त्रीहरु नै सन्तुष्ट छैनन् । मूलतः अधिकार बाँडफाँडको विषयले तीन तहको सरकारबीच द्वन्द्व बढाइरहेको छ ।

अन्तर प्रदेश बैठकमा भाग लिन आएका अन्य प्रदेशका मुख्यमन्त्रीहरुले पनि संघीय सरकारको कामप्रति गुनासो गर्न थालेका छन् । उनिहरुले संघीय सरकारले आफूलाई कण्ठित गर्न खोजेको आरोप समेत लगाउने गरेका छन् ।

७ वटै प्रदेशका सरकार तथा संसदले जिम्मेवारी सम्हालेको ९ महिना बितेको छ । यो कुल कार्यकालको १० प्रतिशत भन्दा बढी समय हो । तर यो अवधिमा सबै प्रदेश सरकारको कार्यप्रगति निराशाजनक छ । कर्णाली, गण्डकी र सुदुरपश्चिम बाहेक पाँचवटा प्रदेशले आधारभूत दायित्व नामाकरण र स्थायी राजधानी निर्धारण गर्न नै सकेका छैनन् । मुख्यमन्त्री गुरुङले प्रदेशका संरचना बलियो बनाउन संघीय सरकार ‘अनुदार’ रहेको भन्दै पूर्वाधार निर्माण, क्षमता अभिवृद्धि, जीवनस्तर सुधार, दिगो विकासलगायत समस्याको एकसाथ सम्बोधन र स्थानीय तहको व्यवस्थापन प्रदेश सरकारको चुनौति रहेको उनको भनाई छ ।